नेकपा राहत वितरण र जनश्रममा व्यस्त

नेकपा राहत वितरण र जनश्रममा व्यस्त

काठमाडौँ : नेकपा कालीकोट जिल्लामा बाढीपहिरोपीडित जनतालाई राहत वितरण र जनश्रमका कार्यमा व्यस्त भएको छ । यो वर्ष सबैभन्दा बढी बाढीपहिरो प्रभावित क्षेत्रमा नेकपाले कार्यक्रम आयोजना गरी सोमत्रबार बाढीपहिरोपीडित घरपरिवारलाई राहत वितरण गरेको हो ।

जिल्लाको रास्कोट नगरपालिकाअन्तर्गत सिप्खाना, स्युना र शान्तित्रिवेणी गाउँपालिकाको मुम्राका पचास बाढीपहिरोपीडित घरपरिवारलाई राहत वितरण गरिएको नेकपाले जनाएको छ ।

नेकपा भेरी ब्युरोले बाँके, सुर्खेतलगायत जिल्लाबाट सङ्कलन गरेको चामल, अत्यावश्यक खाद्यान्न वस्तु जिल्ला पार्टीको समन्वय तथा सहकार्यमा वितरण गरिएकोे जानकारी जिल्ला सेक्रेटरी रणदीपले दिए ।

नेकपाले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवार र पूर्ण रूपमा घर क्षति भएका परिवारलाई प्रतिपरिवार एक–एक बोरा मसिनो चामल वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा सम्बोधन गर्दै नेकपाका जिल्ला इन्चार्ज विराटले भने, ‘कुहिएको र गनाएको संसदीय दलाल सरकारले हामीलाई निस्तेज पार भन्दैछ तर हामी भने जनताको सेवा गर्दैछौँ ।’ उहाँले जनयुद्धको अधुरो सपना पूरा गर्न आफ्नो पार्टीले क्रान्तिको झन्डा उठाएको भन्दै कम्युनिस्टका नाममा केपी–प्रचण्ड कमाउनिस्ट, दलाल र नक्कली कम्युनिस्ट भएको पनि प्रस्ट पारे ।

नेकपाले जिल्लाको एरिया नं. ४ पचालझरना गाउँपालिकाको वडा न १, २, ३ र ८ मा पनि यसअघि शनिबार राहत वितरण गरेको थियो ।

यस्तै नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, रुप्साका बाढीपहिरोमा परी मृत्यु भएका घरपरिवार र बाढीपहिरोपीडित ३२ परिवारलाई जिल्ला सेक्रेटरी रणदीपको उपस्थितिमा राहत वितरण गरिएको धनराज विकले बताए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी कालीकोटले आफ्नो पार्टी नेताकार्यकर्तालाई गाउँगाउँमा जनताको सेवा गर्न जनश्रममा खटाएको छ । जिल्ला इन्चार्जको नेतृत्वमा जनश्रममा भाग लिन समूहसमूह बनाएर धान काट्नेलगायत जनश्रममा निरन्तर लागिरहेको जिल्ला सेक्रेटरी रणदीपले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :