नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले बैतडीमा दुई किलोमिटर घोडेटो बाटो निर्माण गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिकाको चार नम्बर वडा, मठैराजको ढाँडमा पार्टीका जिल्ला इन्चार्ज किरणको नेतृत्वमा बाटो निर्माण गरिएको जानकारी पार्टीका बैतडी जिल्ला सचिव राजेन्द्र बिष्ट ‘परिवर्तन’ ले दिएका छन् ।

दोगडा केदार गाउँपालिका एक नम्बर वडा रिम गोरङका सयौँ विद्यार्थी माध्यमिक तहको शिक्षा अध्ययनका लागि डिलासैनी गाउँपालिकाको धामीगाउँ जाने गर्छन् । गोरङबाट धामीगाउँ पुग्न करिब चार घन्टा समय लाग्छ । सर्वसाधारण र विद्यार्थीलाई चार घन्टामध्ये एक घन्टाभन्दा बढी समय भिरैभिरको ठाडो उकालो हिँड्नुपर्ने बाध्यता थियो ।

आवतजावत गर्नेसम्मको पैदल बाटोसमेत नहुँदा ससाना विद्यार्थी साह्रै कठिनाइ झेल्दै आएका थिए । आफूहरूले गाउँपालिकामा पटकपटक समस्या राख्दासमेत कुनै सुनुवाइ नभएको गुनासो स्थानयले गर्दै आएका छन् । गाउँपालिका धाउँदाधाउँदा आजित भएर थाकिसकेका स्थानीय बासिन्दा नेपाल कम्युनिस्ट पार्टीले बाटो बनाइदिएपछि भने खुसी छन् । स्थानीय गणेशबहादुर बिष्टले भने, ‘हाम्रो बोली सरकारले नसुनेको बेला उहाँहरूले बाटो निर्माण गरिदिनुभएको छ । यो हाम्रा लागि असाध्यै खुसीको कुरा हो ।’

बैतडीमा जनसत्ताले अन्य विकास निर्माणका काम सञ्चालनमा ल्याउने योजना तय गरेको नेकपाका जिल्ला सचिव परिवर्तनले बताए । उनले भने, ‘त्यसका लागि निर्माण व्यवसायीहरूका साधनसमेत प्रयोग गर्ने कार्यक्रम छ । अब उहाँहरूले पनि जनताको काममा सहयोग पुर्याउनुपर्छ । सधैँभरि नाफाघाटाको हिसाबकिताब गरेर मात्र हुँदैन । आवश्यकताअनुसार जुनसुकै समयमा पनि जनसत्तामार्फत सम्पर्क गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :