नेकपा पाल्पाले गर्यो अभियानको समीक्षा

नेकपा पाल्पाले गर्यो अभियानको समीक्षा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले १५ भदौदेखि सञ्चालन गरेको अभियानको समीक्षा कार्यक्रम ३ कात्तिकमा सम्पन्न गरेको छ ।

यो अभियान धेरै नै उपलब्धिपूर्ण रहेको जिल्ला इन्चार्ज प्रवीणले बताएका छन् । अभियानअन्तर्गत ३५ वटा जनभेला, ३६५ वटा घरदैलो कार्यक्रम, करिब ५ हजार जनतामा र ३५ वटा गाउँमा अभियान पुगेको छ । १७ सय जनतालाई अभियानमा प्रशिक्षित गरिएको छ । ३ भदौमा दलहरू र असोजमा १९ जना शिक्षक/बुद्धिजीवीसँग अन्तरक्रिया सम्पन्न गरिएको जानकारी पनि इन्चार्ज प्रवीणले दिएका छन् ।

उनले सामाजिक दलाल पुँजीवादी सरकारका हरेक कार्यको विभिन्न माध्यमबाट भण्डाफोर गरिएको र पार्टी, सत्ता, जवस र मोर्चाका १४३ वटा नारा वालिङ गरिएको समीक्षा कार्यक्रममा बताए । त्यसैगरी पार्टी, सत्ता, जवस/मोर्चाहरूका जिल्ला, नगर, गाउँ र टोलका बैठकहरू प्रशिक्षणात्मक रूपले सम्पन्न भएको, २७ असोजमा विद्यार्थी र दलितको तिनाउमा संयुक्त प्रदर्शन भएको, तिनाउमा गाउँस्तरको युवा भेला सम्पन्न भएको र अभियान अवधिमा नयाँ जवस/मोर्चाका जम्मा ३५ वटा गाउँ/टोल समितिहरू नयाँ निर्माण गरिएको जानकारी पनि इन्चार्ज प्रवीणले दिए ।

त्यसैगरी जिल्ला जनपरिषद् र अभियानअन्तर्गत अखिल (क्रान्तिकारी) को जिल्ला बैठक र टोल एकाइ समिति ८ वटा नयाँ निर्माण भएका छन् । युवा सङ्गठन नेपाल पाल्पाअन्तर्गत गाउँ भेला १ र टोल भेला १५ वटा सम्पन्न गरेर १५ वटा नयाँ टोल समिति निर्माण गरिएको छ ।

दलित मुक्ति मोर्चा नेपाल पाल्पाको जिल्ला बैठक र एउटा नयाँ टोल समिति निर्माण भएको छ । त्यसैगरी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पाल्पाको भेलाद्वारा जिल्ला समिति निर्माण गरिएको छ । ४ वटा नयाँ टोल समिति निर्माण भएको छ ।

त्यसैगरी मगर मुक्ति मोर्चा नेपाल पाल्पाका ४ वटा नयाँ टोल समिति निर्माण गरिएको छ भने अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीका २ वटा टोल समिति नयाँ निर्माण गरिएको जानकारी पनि इन्चार्ज प्रवीणले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :