चुनाव खारेज अभियान र विरोधी चिन्तन

हेमन्तप्रकाश ओली ‘सुदर्शन’

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप हुन थालेपछि जनताले सङ्घर्षको उचाइलाई मतदान केन्द्र कब्जा र राजनीतिक दलालहरूलाई लक्षित गरी बम विस्फोटसम्म पु¥याएका छन् । शोषण, दमन र आर्थिक भ्रष्टाचारमा चुर्लुम्म डुबेर मात्तिएका पुराना राजनीतिक दलालहरू र कम्युनिस्टका नाममा शोषण, दमन र आर्थिक भ्रष्टाचारमा सामेल भएका नवराजनीतिक दलालहरू पुरानै राजनीतिक सत्ता बचाउन र उनीहरूका साम्राज्यवादी प्रमुखहरूको सेवा गर्न यो चुनावमा नेपाली जनताको ढुकुटीबाट अर्बौं खर्च गर्दैछन् । ‘जसको लट्ठी, उसको भंँैसी’ भनेझैँ आफ्नो शक्ति भएका ठाउँमा ९९.६ प्रतिशत मत खसालिएको छ । एउटै व्यक्तिले ६० पटकसम्म मत हालेको तथ्य छ । एउटा मतका लागि १ लाख ५० हजारभन्दा बढी खर्च गरिएको छ । पैसा टाठाबाठाले मात्र पाउँछन् र ९५ प्रतिशत जनताले मत हाल्नुपर्ने बाध्यता छ । बन्दुकले मत खसाल्छ र पैसाले चुनाव जित्छ । जनताका तथाकथित प्रतिनधिका रूपमा अमेरिकी र भारतीय साम्राज्यवादी दलालहरू राज्यसत्तामा विराजमान हुन्छन् । उनीहरू जनसेवा होइन, जनशोषण गर्छन् र साम्राज्यवादको सेवा गर्छन् । यो संसदीय व्यवस्थामा गरिब जनताका छोराछोरी होइन, राजनीतिक दलालहरू, ठेकेदारहरू र शोषकहरू मात्र सत्तामा पुुग्छन्् । त्यसकारण यसका विरुद्ध भित्तेलेखन, पर्चा वितरण, पोस्टर प्रदर्शन, कोणसभा, जनसभा, बुथ कब्जा र बम विस्फोट वैकल्पिक राज्यसत्ता वैज्ञानिक समाजवादका लागि न्यायपूर्ण आवाजहरू हुन् । बहुसङ्ख्यक शोषित, उत्पीडित जनता यसका पक्षमा छन् । अल्पसङ्ख्यक दलालहरू, धोकेबाजहरू, पूर्वाग्रहपीडित र नियतवश नै निरपेक्ष आलोचनाका पेसेवरहरू विरोधमा उत्रिएका छन् ।

हाम्रो पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो भनी स्पष्ट गरेको छ । यो हाम्रो आधारभूत सिद्धान्त हो । जसरी माक्र्सवाद माक्र्सवाद–लेनिनवादमा र माक्र्सवाद–लेनिनवाद माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको छ, त्यसरी नै यसको थप विकास पनि आवश्यक छ भन्ने कुरा पार्टीले स्पष्ट पारिसकेकोे छ । किनभने माक्र्सवाद–लेनिनवाद–माओवाद कुनै जडसूत्र होइन, बरु यसले आफ्नो समयको प्रकृति, मानवसमाज र मानवचिन्तनमा भएको विकासलाई प्रतिबिम्बित गर्नुपर्दछ । त्यसैगरी आजको परिस्थितिमा क्रान्ति सम्पन्न गर्नसक्ने कम्युनिस्ट पार्टी, क्रान्तिकारी सेना, क्रान्तिकारी संयुक्त मोर्चा विकास गर्ने नयाँ कार्यदिशा, एकीकृत जनक्रान्ति र जनक्रान्तिद्वारा समानान्तर सत्ता निर्माण गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्ने लक्ष्य राखिएको छ । यति स्पष्ट कार्यदिशा र कार्यक्रमको शृङ्खला हुँदाहुँदै पनि कतिपय लाल बुझक्कडहरूले यसप्रति पूर्वाग्रहपूर्ण बकबास गरिरहेका छन् । श्री ऋषिराज बराल र उनीद्वारा सञ्चालित ‘जनमेल’ द्वारा यो बकबासमा अग्रणी भूमिका खेलिएको छ । कतिसम्म भने जनमेलद्वारा हाम्रो पार्टीको चुनाव खारेजी अभियानविरुद्ध आएका प्रतिक्रियावादी बकबासहरू पनि बाँडिएको छ । जनमेलले कैयौँ पठनीय सामग्रीहरू पनि पस्किरहेको छ । शास्त्रीय कुरामा सकारात्मक सामग्री पस्किएपछि व्यवहारिक कुरामा पनि त्यही दृष्टिकोण हुनुपथ्र्यो । आलोचना पूर्वाग्रहग्रस्त हुनुहुँदैन । पूर्वाग्रह भनेको बुर्जुवा चिन्तनको अभिव्यक्ति हो । जनमेलबाट नेकपाविरुद्ध समालोचना गर्नुपर्ने ठाउँमा निरपेक्ष आलोचना बेहोर्नुपर्दा सारै टर्रो अनुभूति भएको छ । प्रतिक्रियावादी कित्ताबाट आएका ‘भाडाका अपराधीहरूद्वारा बम विस्फोट गराइएको’, ‘ज्वाला सिंह र गोइतमा पतन हुने’, ‘आतङ्ककारी समूहमा बदलिने’ जस्ता सङ्गीन आरोप लगाइएका लेखादि ‘जनमेल’ बाट सेयर गरिनु कुनै पनि हालतमा मित्रवत् व्यवहार होइन । ऋषिराज स्वयम्ले लेखेका दुई लेखहरू ‘माओवाद, फोकोवाद र विप्लवकारी अराजकता’ र ‘फेरि पनि भन्छु– मान्ने छैन विप्लववाद’ मा निकृष्ट विषबमन गरिएको छ । यो टर्रो र तीतो हर्रोमा ऋषिराज सरले दाँत गाड्न बाध्य पारेका छन् ।

आफ्ना ती दुई लेखमा व्यक्त झुसिला डकारहरूमा यसप्रकारका शब्द र वाक्यांशहरू डकारिएको छ– ‘सशस्त्र भँडुवा विकासवादी चिन्तन’, ‘सशस्त्र संशोधनवाद’, ‘विप्लववाद’, ‘निम्न–पुँजीवादी चिन्तन’, ‘क्रान्तिकारी उत्ताउलोपन’, ‘लम्पट सर्वहारावादी र निम्न पुुँजीवादी विचारधाराको मेल’, ‘सैन्यवादी प्रवृत्ति’, आक्रोश, असफलता, ‘सत्तालालसाको हुटहुटी’, ‘चर्चामोह’, ‘मालेमावादी मूल्य–मान्यताविपरीत’, ‘जनविरोधीसँग साँठगाँठ गर्ने सम्भावना’, ‘क्रान्तिकारी राजनीतिक शृङ्खलासँग नजोडिएको उट्पट्याङ गतिविधि’, ‘अराजकतावादी’, ‘मनोगतवादी’, ‘फोकोवादी’ इत्यादि ।

श्री बराल सरले क्रान्तिकारीहरूमाथि गर्ने अलोचना यस्तै हो त ? एकपटक सरले यी शब्दहरू गम्भीरतापूर्वक पढेर एउटा ठूलो ऐनामा आफ्नो अनुहार हेर्ने हो कि? यी सबै आरोपले कुन वर्गलाई फाइदा हुन्छ ? स्वयम् सरले कुन वर्गआधारमा टेकेर यी आरोपहरू लगाएको हो ? यस्तो आरोप त हिजो जनयुद्धविरोधीहरूले लगाउँथे र आज एकीकृत जनक्रान्तिका विरोधीहरूले लगाउँछन् । यसले अन्ततः प्रतिक्रान्तिकै सेवा हुन्छ ।

‘सशस्त्र भँडुवा विकासवादी चिन्तन’ को अर्थ के हो ? भँडुवा विकासवाद सुधारवादी राजनीतिको दर्शन हो । यसमा श्री बरालले यस पदावलीको पछिल्तिर सशस्त्र थपेका छन् । मालेमावादी सशस्त्र सङ्घर्ष कहिल्यै पनि भँडुवा विकासवादी चिन्तनमा आधारित हुन सक्तैन । हाम्रो सङ्घर्ष त अझ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनमा आधारित छ । माथि नै भनिसकिएको छ– हामीले वैज्ञानिक समाजवादको लक्ष्यसहित एकीकृत जनक्रान्तिको प्रक्रिया अघि बढाएका छौँ । एकीकृत जनक्रान्ति त सैद्धान्तिक र राजनीतिक रूपले एउटा गुणात्मक छलाङ र क्रमभङ्ग हो । बराल सरले पुष्पकमललाई त्यसो भनेको भए एकदम सुहाउँदो पदावली हुन्थ्यो । जसले सशस्त्र सङ्घर्ष गरेर संसद्वादमै पुगे । क्रमशः विकासको बाटोमा पुगे अथवा पुँजीवादी बाटो तताए । कहिलेकहीँ कस्तो पनि हुन्छ भने आफू जुन चिन्तनमा डुबेको छ अरूलाई पनि त्यही दृष्टिले हेर्ने । आफू भँडुवा विकासवादी चिन्तनमा डुबेको बेला क्रान्तिकारीमाथि सशस्त्र पदावली थपेर बराल सरले रिस पोख्न ‘सशस्त्र भँडुवा विकासवादी चिन्तनको आरोप लगाएको हो कि ? उनको चिन्तन संस्कृति कस्तो बनेको छ भने जहिले पनि क्रान्तिकारीहरूको विरोध गर्ने र आफूलाई माक्र्सवादी दोसल्लाभित्र राखेर सुधारवादी तथा अवसरवादीको सेवा गर्ने । अन्ततः उनी आफैँ भँडुवा विकासवादी चिन्तनको राम्रो प्रतिनिधि हुन् । एउटा क्रान्तिकारीले क्रान्तिकारी गतिविधिको विरोध गर्दैन, बरु त्यसको सेवा गर्ने काम गर्दछ । क्रान्तिको विरोध गर्नु स्वयम् भँडुवा विकासवादको पक्षधर हुनु हो । उनले यही विषयसँग सम्बन्धित हाम्रो चुनाव खारेज अभियानलाई सशस्त्र संशोधनवाद भनेका छन् । पदावलीको प्रयोग गर्न बराल सरले जतिसुकै पढेको भए पनि सिकाउनुपर्ने भयो । संशोधनवाद कहिल्यै पनि सशस्त्र हुँदैन । संशोधनवाद भनेको त माक्र्सवादको तोडमोड हो । बर्नस्टिनदेखि देङ स्याओफेङसम्मका संशोधनवादीहरूले शान्तिपूर्ण संसद्वादको बाटो लिएका थिए । कतिसम्म भने प्लेखानोभले त सन् १९०५ को क्रान्तिमा लेनिनसँग ‘हतियार उठाउन हुँदैनथ्यो’ समेत भनेका छन् । क्रान्तिकारीहरूको विरोध गर्ने नियतका कारण बराल सर नै संशोधनवादका पक्षमा प्रस्ट देखिन थालेका छन् ।

उनले हामीलाई विप्लववादी भएको आरोप पनि लगाएका छन् । अन्नपूर्ण दैनिकमा उनले धेरै पहिले नै म विप्लववादी हुन्नँ भनेका थिए र ‘अहिले फेरि पनि भन्दछु–मान्य छैन विप्लववाद’ भनेका छन् । उनलाई कसैले पनि विप्लववादी हुन कर गरेको छैन र हुनु पनि राम्रो होइन । तर यो विप्लववादी प्रवृत्तिलाई उनले हाम्रो पार्टीका महासचिवको नामसँग जोडेर गलतफहमीदिन खोजेका छन् । हाम्रो पार्टी महासचिवको नाम विप्लव हो न कि विप्लववादी । यो नाम पुरानो सत्ताका विरुद्ध विद्रोहका अर्थमा, पुरानो र खराब विचारधारा, विरासत, संस्कृति, आदत, चालचलनका विरुद्ध विद्रोह अनि त्यसको ठाउँमा नयाँ वैज्ञानिक विचारधारा, विरासत, संस्कृति, बानीबेहोरा र रीतिरिवाज स्थापित गर्ने अर्थमा स्थापित भएको छ । यसमा é‘वाद’ जोडिदिएपछि नकारात्मक अर्थ लाग्छ । अतः यस शब्दावलीमा ‘वाद’ थपेर श्री बरालजीले मान्दिनँ भन्नुको दोहोरो अर्थ छ । त्यो भनेको एकातिर राज्यसत्ताका विरुद्ध विप्लव गर्न हुँदैन भन्ने धारणा दिनु र अर्कोतिर त्यसमा ‘वाद’ थपेर सुनामलाई बदनाम गर्नु हो । विप्लवको नाम नै विकृत बनाएपछि पार्टीलाई समेत बदनाम गर्न सकिन्छ भन्ने नियत यसमा लुकेको छ । शब्दसँग खेल्नु ‘बुद्धिजीवीहरू’ को बुद्धिविलास हो । यो संशोधनवादको विशेषता पनि हो । विप्लवमा ‘वाद’ थपिएपछि जहाँ पनि निहुँ खोजेर हिँड्ने र जनताबाट अलग्गिएको पृथकतावादी विचार भन्ने अर्थ लाग्छ । यो प्रवृत्ति पनि ठ्याक्कै बराल सरको प्रवृत्तिसँग मिल्दछ । म विप्लववादी हुन्नँ भन्ने तर विप्लववादी बन्ने सुनिश्चितता उनमै देखिन्छ ।

उनको आरोप छ– नेकपामा निम्न पुँजीवादी चिन्तन पनि छ । अहिलेको दलाल संसदीय व्यवस्थाको चुनाव खारेज अभियानमा लाग्नुको कारण यसैको परिणाम हो भन्ने उनको दाबी छ । निम्न पुँजीवाद वास्तवमा व्यक्तिवाद, आत्मसुरक्षावाद र विप्लववादको पनि स्रोत हो । अथवा उल्लिखित प्रवृत्तिको आर्थिक आधार हो । एकीकृत जनक्रन्तिअन्तर्गत भएको चुनाव खारेजी अभियान हाम्रो पार्टीको एउटा कार्यक्रम हो जसले स्थानीय जनसत्ता निर्माण गर्दै वैज्ञानिक समाजवादतिरको बाटोमा अघि बढ्न जनतालाई मार्गदर्शन गरिरहेको छ । यसले व्यक्तिवाद व्यक्त गरेको त होइन होला । बम बोकेर सङ्घर्ष गर्नु आत्मसुरक्षावाद पनि होइन । जनतासहितको आन्दोलन कुनै विप्लववाद पनि होइन । अनि कसरी नेकपालाई निम्न पुँजीवादी चिन्तन बोकेको पार्टी भन्न सकिन्छ । यसको विपरीत बराल सरमा नै निम्न पुँजीवादबाट पैदा भएको व्यक्तिवाद रहेको छ । निम्न पुँजीवादी चिन्तनको राम्रो नमुना पनि सर नै हो ।

लामो समयदेखि नेपालमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन चलिरहेको छ । आन्दोलन र क्रान्ति अघि बढिरहेको छ । यसमा कैयौँ धोका र गद्दारी भएका छन् । क्रान्ति र प्रतिक्रान्तिबाट शिक्षा लिँदै हामी एकीकृत जनक्रान्तिमा अघि बढिरहेका छौँ । निश्चित रणनीति र कार्यनीतिका साथ हामी अघि बढिरहेका छौँ । अनि यसलाई कसरी उत्ताउलोपन भन्न सकिन्छ ! अनि यो आन्दोलन कसरी लम्पट सर्वहारावादी र निम्न पुँजीवादी विचारधाराको मेल हुन सक्छ ? एउटा व्यवस्थित रणनीति र कार्यनीतिका साथ अघि बढिरहेको क्रान्तिलाई कसरी लम्पट सर्वहारावादी भन्न सकिन्छ ? यो त बराल सरमा रहेको हद दर्जाको दृष्टिदोष हो ।

श्री बराल हाम्रो पार्टीमाथि सैन्यवादी प्रवृत्ति रहेको आरोप लगाउन पनि पछि परेका छैनन् । सबैलाई थाहा छ– कम्युनिस्टहरू पुरानो सत्ता ध्वस्त पारेर जनसत्ता स्थापना गर्न चाहन्छन् । उत्पीडित वर्गले उत्पीडनका विरुद्ध लड्न, हतियार चलाउन र हतियार उठाउन सिक्दैन भने त्यो दासको व्यवहार गर्न लायक छ । बन्दुकको आडमा चलेको पुरानो सत्ताबाट मुक्ति प्राप्त गर्न बन्दुक उठाउनुको विकल्प छैन । मालेमावादले हामीलाई यही सिकाएको छ । श्री बरालले कुन आधारमा हामीलाई सैन्यवादी भनेका हुन् र उनी आफैँ तर्क गर्छन्– नेकपाले तीन जादुगरी हतियार बनाएको छैन । तीन जादुगरी हतियार एउटा सेना निर्माण हो । क्रान्तिकारी सेनाको काम क्रान्ति गर्ने हो । क्रान्तिकारी अभ्यास गर्दा नै उनी सैन्यवाद हावी भएको देख्छन् भने साँच्चै क्रान्तिको दुन्दुभी बज्दा के भन्ने होलान् ? सैन्यवादी प्रवृत्ति तथा सैन्यवादको त हामी पनि विरोध गर्छौं । हाम्रो कहाँनेर सैन्यवादी प्रवृत्ति देखियो, त्यो भन्नुप¥यो नि ? बराल सर, यस्ता कुरा उठाउनुको अर्थ हुन्छ– कुनै प्रभुको सेवा गर्नु र क्रान्तिकारीहरूको खोइरो खन्नु । स्वयम् बराल क्रान्तिकारी हो भने त तथ्यहीन तर्क गरेर चर्चामोहमा रमाउन जरुरी छैन । चर्चामोह स्वयम् निम्न पुँजीवादी व्यक्तिवादको अभिव्यक्ति हो ।

अर्को ठाउँमा श्री बरालले नेकपाका क्रान्तिकारी गतिविधिलाई ‘आक्रोश, असफलता, निराशा र कुण्ठाजन्य मानसिकताको व्यावहारिक प्रतिबिम्बन’ भनेका छन् । तथ्य के छ भने दुस्मनप्रति आक्रोश नभईकन अथवा दुस्मनप्रति प्रेम भएर क्रान्तिकारीहरूले बन्दुक उठाउँदैनन् वा क्रान्ति गर्दैनन् । क्रान्तिकारीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा असफलता बेहोरेका छन् । त्यसबाट शिक्षा लिँदै नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेको छ । अहिले भर्खरै विभिन्न अभियानमा हामी सफल नै छौँ । जसले क्रान्तिका लागि पहलकदमी गर्छ त्यही निराश र कुण्ठित हुनुपर्ने आवश्यकता छैन । क्रान्ति भनेकै निराशहरूकालागि आशाको बत्ती हो । सरले यो बत्तीमा तेल थप्ने काम गर्दा पो आफूमा नै निराशा र कुण्ठा रहेको छ भने त्यो छिट्टै हट्ला । होइनभने सर नै क्रान्तिको बत्ती बलेको देखेपछि ईष्र्या र आक्रोशले जलेको बुझिन्छ ।

हामीमाथि श्री बरालले सत्तालालसाको हुटहुटीको आरोप लगाएका छन् । क्रान्तिकारीहरू विद्यमान प्रतिक्रियावादी सत्ता ढालेर क्रान्तिकारी सत्ता हासिल गर्न चाहन्छन् । यसमा दुईमत छैन । यहाँ बरालको चिन्तन यथास्थितिवादी रहेको छ । उनले एमाले–माके कोणबाट नेकपालाई हेरेका छन् । विद्यमान सत्तालालसाको हुटहुटीमा लाग्ने भए त वैज्ञानिक समाजवादमा जाने बाटो सोझ्याउनै पर्ने थिएन । यो वास्तवमा तथ्यहीन तर्क हो । क्रान्तिकारी आन्दोलनमा भ्रम पार्ने तर्क हो ।

उनले नेकपालाई ‘मालेमावादी मूल्यमान्यता विपरीत’ गएको आरोप लगाएका छन् । मालेमावादको मूल्यमान्यता भनेको दर्शनशास्त्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यो दर्शन भनेको गतिशील दर्शन हो । आजको द्वन्द्ववादको विकास सापेक्षता र निरपेक्षताको सिद्धान्त एकीकरणमा भएको छ । आजको भौतिकवाद भनेको उत्पादक शक्तिमा विज्ञान र प्रविधि जोडिएको र उत्पादन सम्बन्धमा उत्तरसाम्राज्यवादी केन्द्रीकरण भएको अर्थशास्त्र हो । त्यसकारण दर्शनशास्त्रको विकास पनि आवश्यक छ भन्नेमा हामी पुगेका छौँ । त्यसैगरी वैज्ञानिक समाजवादमा वर्गसङ्घर्षलाई सशस्त्र सङ्घर्षमा नउठाई श्रमजीवी तथा उत्पीडित वर्गको मुक्ति हुन सक्दैन । यसरी प्राप्त मुक्तिलाई साम्यवादमा लैजान सर्वहारा अधिनायकत्व आवश्यक छ । प्रतिक्रान्तिलाई रोकेर समाजवादमा पुग्न सर्वहारा अधिनायकत्वअन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्ति (निरन्तर क्रान्ति) आवश्यक छ । उत्तरसाम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबीचको अन्तरविरोध विश्वको प्रधान अन्तरविरोध हो भने दलाल पुँजीवाद र नेपाली श्रमिक तथा उत्पीडित जनताबीचको अन्तरविरोध घरेलु प्रधान अन्तरविरोध हो । तीन जादुगरी हतियारलाई सरले भनेभन्दा नयाँ परिस्थितिको सामना गर्ने गरी विकास गर्नुपर्छ । दलाल पुँजीवादका विरुद्ध हाम्रो वर्गसङ्घर्ष जारी छ । हामीले विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको समीक्षासहित स्टालिन र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको रक्षा गरेका छौँ । राष्ट्रियताको समस्या अन्ततः वर्गसङ्घर्षबाटै समाधान हुन्छ भनेका छौँ । लेनिनको सशस्त्र विद्रोह र माओको दीर्घकालीन जनयुद्धको कार्यदिशालाई एकीकृत जनक्रान्तिमा विकास गरेका छौँ । यसको उद्देश्य वैज्ञानिक समाजवाद भनी स्पष्ट घोषणा गरेका छौँ । आखिर सरलाई कुनचाहिँ मूल्यमान्यता चाहिएको हो । मालेमावादी मूल्यमान्यता कसैको चाहनाअनुसार त हुँदैन ।

बराल सर कस्तो भविष्य वक्ता भए भने उनले नेकपाले ‘जनविरोधीसँग साँठगाँठ गर्ने सम्भावना’ भनेर भविष्यवाणी गरेका छन् । उनीजस्तै माक्र्स–एङ्गेल्सको पालामा डा. युजेन ड्युहरिङ थिए जसको बारेमा एङ्गेल्सले ड्युहरिङ मतखण्डन जस्तो माक्र्सवादी ग्रन्थ रचना गरेका थिए । हाम्रो ड्युहरिङ पनि ‘भविष्यदर्शी भएका छन् । हामीले भनेका छौँ– किसान, मजदुर, सिपाही, मध्यमवर्ग, राष्ट्रिय पुँजीपति वर्ग र देशभक्तहरू हाम्रो क्रान्तिका मित्रहरू हुन् । दलाल पुँजीपति, भ्रष्ट नोकरशाह र सामन्तवादी अवशेषहरू हाम्रो क्रान्तिका शत्रु हुन् । क्रान्तिमा कहिलेकहीँ प्रमुख दुस्मनसँग लड्दा सहायकसँग संयुक्त मोर्चा हुनसक्छ भन्ने कुरा इतिहाससिद्ध छ । हामी यति स्पष्ट हुँदाहुँदै पनि उनले कुनचाहिँ जनविरोधीसँग साँठगाँठ हुने सम्भावना देखेका हुन् ? यसको जबाफ कुनै दिन बराल सरको जनमेलमा आउने नै छ । एकीकृत जनक्रान्तिको अभ्यास र दलाल संसदीय चुनाव खारेज अभियानलाई उनले ‘क्रान्तिकारी राजनीतिक शृङ्खलासँग नजोडिएको उट्पट्याङ गतिविधि’ भनेका छन् । हाम्रो क्रान्तिकारी राजनीतिक शृङ्खला के हो भन्ने कुरा माथि भनिसकेका छौँ । बिनाउद्देश्य मनपरी र सनकको भरमा गरिने क्रियाकलापलाई उट्पट्याङ गतिविधि भन्न सकिएला । उद्देश्यसहित योजनाबद्ध कार्यक्रम र कारबाहीहरूलाई उट्पट्याङ गतिविधि भन्ने मानिसकै दिमाग कति ठीक ठाउँमा छ र दृष्टिमा कति दृष्टिदोष छ भन्ने कुरा धेरै विचारणीय छ । सनकका भरमा कसैलाई दोष लगाउनु धेरै अत्मघाती हुन्छ । यो कुरा सरलाई गहिरोसँग चेतना हुनुपर्ने हो ।

हाम्रो पार्टीमाथि श्री बरालले अराजकतावादी, मनोगतवादी, फोकोवादी भएको आरोप लगाएका छन् । राज्यसत्ता नै आवश्यक छैन र कुनै सङ्गठनात्मक अनुशासन पनि मान्दिनँ भन्ने प्रवृत्तिको नाम अराजकतावाद हो । पुरानो राज्यसत्ता ढालेर श्रमिक तथा उत्पीडित वर्गको नयाँ राज्यसत्ता निर्माण गर्न चाहनेलाई अराजकतावादी भनिएको हो भने बराल सर पुरानो सत्ताको ताबेदार साबित हुन्छन् । सङ्गठनात्मक रूपले हामी हाम्रो पार्टीको विधान र अनुशासनअनुरूप नै अघि बढिरहेका छौँ । बरु कुनै सङ्गठनात्मक अनुशासनमा रहन नचाहने र स्वच्छन्दतावादी बकबास गर्ने बराल प्रवृत्ति नै अराजकतावादको नमुना हो भन्दा ठीक होला भन्ने देखिन्छ ।

मनोगतवादी हुनु भनेको वस्तुगत परिस्थिति नबुझिकन मनोगत ढङ्गले अघि बढ्ने प्रवृति हो । हाम्रो पार्टीले वस्तुगत परिस्थितिअनुसार नै आत्मगत योजना बनाएको छ । मनोगत र वस्तुगत योजनाको द्वन्द्वात्मक प्रक्रियामा हामी काम–कारबाहीमा अघि बढेको हुनाले नै व्यापक जनताको सहयोग र समर्थन पाइरहेको छ । यसकासाथै सङ्गठन पनि सुदृढ र विस्तार हुँदै गएको छ । मनोगत इच्छानुसार वस्तुगत परिस्थितिले मिलेन भने त उल्टो परिणाम आइहाल्छ । बरु बराल सरको नेकपालाई हेर्ने दृष्टिकोण नै मनोगतवादी हो कि ? गहिरोसँग विचार गर्नुप¥यो । ठोस वस्तुको ठोस विश्लेषण गर्नुप¥यो । लेनिनलाई मनोगतवादी ठान्ने विद्वान् दार्शनिक प्लेखानोभ स्वयम् मनोगतवादी भएका थिएनन् र ?

फोकोवाद भनेको चे ग्वेभाराको क्रियाकलापलाई रेजिस डेब्रेले गरेको संश्लेषण हो । यो केही वीरहरूको क्रान्ति गर्ने तरिका हो । एउटा क्रान्तिकारी झुण्डले क्रान्तिबारे जनतालाई शिक्षित नगरिकन क्रान्ति सुरू गरेपछि जनता आफैँ त्यो झुण्ड वरिपरि आइरहन्छन् भन्ने मान्यताको नाम नै फोकोवाद हो ।

यो कुरा इतिहासमा ब्लाङ्की र रुसमा नारोदनिकहरूमा पनि देखिन्छ । चे ग्वेभाराको क्रियाकलापले रेजिस डेबे्र प्रभावित भएपछि यसको सैद्धान्तीकरण भएको हो । दुनियाँलाई थाहा छ हामीले विशाल जनसभामा, आफ्ना घोषणा र पर्चाहरूमा अनि लेखादिमा व्यापक जनताले सुन्नेगरी एकीकृत क्रान्ति गरेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने हो भनेर स्पष्ट भनिसकेका छौँ । जनताको घरदैलोमा पुगेर पनि यो कुरा स्पष्ट पारिरहेका छौँ । जसलाई क्रान्ति गर्नु छैन, जो फोको पनि होइन, एक्लै क्रान्तिको गला रेट्न उभिएको छ त्यसले हामीलाई फोकोवादी भनेर आरोप लगाउन कत्तिको सुहाउँछ ? काम नगर्नेलाई अनावश्यक गलफत्ती गरेर हिँड्ने अधिकार पनि छैन ।

हुँदाहँुदै त उनलाई खुच्चिङ पर्ने प्रतिक्रियावादी कुराहरू पनि जनमेलबाट बाँड्न थालियो । ‘भाडाका अपराधीहरूद्वारा बम विस्फोट गराएको’, ‘ज्वाला सिंह र गोइतमा पतन हुने’, ‘आतङ्ककारी समूहमा बदलिने’ जस्ता विषबमन पनि सेयर गरियो । प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध विस्फोट हुने प्रत्येक बम प्रतिक्रियावादी र संशोधनवादीका लागि चिहान हो भने जनताका लागि जोसिलो आशावादी सङ्गीत हो । यो कुनै खेलबाड होइन, यो जनताको न्यायप्रिय आवजको विस्तारित रूप हो । शान्तिपूर्ण ढङ्गले शोषित–उत्पीडित जनताको आवज शासकहरूले सुन्दैनन् । पार्टीले चलाएको अभियानमा दलाल संसदीय व्यवस्थाविरुद्ध बम जनताको समर्थन हो । बराल सरले देखाउनुप¥यो कुनचाहिँ भाडाको अपराधीले कहाँनेर बम पड्कायोे ? किनभने यसमा समर्थन भएर नै आफ्नो ‘जनमेल’ बाट सेयर गरिएको होला । यतिमात्र हो र ? उनले हामीलाई त गोइत र ज्वालासिंहमा पतन हुने र आतङ्ककारी समूहमा बदलिनेसमेत भन्न भ्याए । यो सबै कुराले श्री बराललाई प्रतिक्रियावादको पक्षपोषणमा, दलाल संसदीय व्यवस्थाको पक्षपोषणमा उभ्याइदिएकोे छ ।

अन्ततः नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेकपाले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो भन्दै चुनाव खारेजी अभियान चलाएकोमा बरालले निरन्तर र जानीबुझी विषबमन गरेका हुन् । उनी जनयुद्धको प्रक्रियामा सामेल भए पनि जनयुद्धकै विरुद्धमा थिए । क्रान्तिकारी र सकारात्मक पक्षको विरोध गर्नु तथा संशोधनवाद र प्रतिक्रियावादका विरुद्ध नबोल्नु उनको विशेषता बनेको छ । उनको क्रियाकलापले अन्ततः प्रतिक्रियावाद र संशोधनवादलाई मलजल गर्ने कुरा स्पष्ट छ । अब उनी डा. ऋषिराज बराल मात्र होइनन् । बरु बराल प्रवृत्तिका रूपमा उभिएका छन् ।

२०७४ मंसिर २८ गते विहान ११ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!