क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरण सुरु

काठमाडौं : संसदीय पार्टीहरूले केन्द्रीय प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गरेर प्रतिक्रान्तिलाई पूर्णता दिएका छन् । नेपालमा गणतन्त्र र सङ्घीय शासनप्रणाली स्थापना भएको छ तर जनयुद्धका सपनाहरू अधुरा नै छन् । संवैधानिक एकात्मक राजतन्त्रात्मक शासनप्रणालीको स्थानमा सङ्घात्मक गणतन्त्रात्मक शासनप्रणाली स्थापना भएको छ । कुलीन तथा शोषक वर्षका बीचको दायरा फराकिलो भएको छ । देशको आर्थिक, राजनीतिक क्षेत्रमा थप नवधनाढ्यहरूको पकड भएको छ । यसले जनतालाई कुलीन, शोसक र दलाल शासकहरूमध्ये कसलाई छान्ने भन्ने दायरा फराकिलो भएको छ । शोसक र दलालहरूमध्ये कसलाई छान्ने भन्ने दायरा फराकिलो हुनु र समस्याको केन्द्र निश्चित नहुँदा जनतामा थप भ्रम र अन्योल बढ्नेछ । त्यसले नेपाली क्रान्ति र परिवर्तनको बाटो र प्रक्रियालाई अझ जटिल बनाउनेछ । श्रमिक र देशभक्त शक्तिको नेतृत्वमा राज्यसत्ता निर्माण गर्नु जनयुद्धको मुख्य नारा र प्रस्ताव थियो । तर त्यसमाथि भयानक षड्यन्त्र र धोका भएको छ ।

नयाँनयाँ नारा र रूपमा नेपालमा दलाल पुँजीपति वर्ग र सामन्त वर्गको गठबन्धन सत्ता पुनर्जीवित भएको छ । दलाल पुँजीपति वर्गको यो सत्ताले राष्ट्रियता र जनतन्त्रका समस्याहरूको समाधान गर्न सक्दैन । त्यसैले जनयुद्धको एउटा ठूलो पङ्क्तिले शान्तिप्रक्रिया भङ्ग भएको, जनयुद्धमाथि धोका भएको भन्दै क्रान्ति जारी राख्ने घोषणा गरेको थियो । यसपटकको निर्वाचनमा त्यो क्रान्तिकारी तथा परिवर्तनकारी धारा अझ प्रभावकारी र सशक्त रूपमा प्रकट भयो । जनयुद्धको समयका मुख्य आधारइलाकाका इन्चार्ज तथा खारा सैन्य मोर्चाका कमिसार विप्लवको नेतृत्वमा त्यो क्रान्तिकारी धारा अगाडि बढेको छ । यो चुनावसम्म पुग्दा प्रचण्डको एमालेमा विलय र जनयुद्धको क्रान्तिकारी धाराको उठान एकसाथ भएको छ ।

प्रतिनिधि र प्रदेशसभा चुनाव सकिएको दोस्रो दिन नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिले यसलाई प्रस्ट गरेको छ । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ ः प्रतिक्रियावादी, साम्राज्यवादी, संसद्वादी र आत्मसमर्पणवादी एवम् विसर्जनवादी तत्वहरूको जनविरोधी लेनदेन र षड्यन्त्रका कारण शान्तिप्रक्रिया असफल भयो । यी तत्वहरूले नेपाली जनता र महान् जनयुद्धको मूल मर्म, भावना र चाहनाविपरीत दलाल पुँजीवादी संसदीय व्यवस्था जबरजस्त लाद्न संसदीय व्यवस्थामा पुँजीवादी सङ्घीयता थपिएको (संसदीय व्यवस्था) को प्रतिनिधि र प्रदेशसभाको चुनाव यही मङ्सिर १० गते र २१ गते घोषणा गरेको थियो । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेपाली उत्पीडित–श्रमिक जनताले त्यसलाई सशक्त प्रकारले प्रतिरोध गरेका छन् ।

हाम्रो पार्टीको निर्देशन, आह्वान र श्रमिक तथा देशभक्त शक्तिहरूको सहभागिता एवम् सहयोगमा चुनाव खारेज अभियान हस्तक्षेपकारी र प्रभावकारी रूपले सफल भएको छ । यो खारेजी अभियान र प्रतिरोधदेखि नेपाली क्रान्ति, विद्रोह, क्रान्ति र परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ । नेपाली जनतामाथि जबरजस्त संसदीय व्यवस्था थोपर्न खोज्ने प्रतिक्रियावादी, साम्राज्यवादी र आत्मसमर्पणवादी, विसर्जनवादी तत्वहरूको सपना ध्वस्त भएको छ । यो महान् र नयाँ पहलमा पार्टीको आह्वान र आग्रहलाई स्वीकार गर्दै सम्पूर्ण सहयोग गर्नुहुने एवम् पार्टीलाई माया गर्नुहुने आम नेपाली जनतालाई पार्टी विशेष धन्यवाद र आभार प्रकट गर्दछ ।

यो महान् अभियानमा पार्टी निर्णय र निर्देशनलाई दृढतापूर्वक आत्मसाथ गर्दै प्रतिरोध सङ्घर्ष चुनाव खारेज अभियानमा रातदिन खट्ने र सङ्घर्षलाई उचाइ प्रदान गर्ने सम्पूर्ण पार्टीपङ्क्ति, नेता–कार्यकर्ता, जवस, मोर्चा सङ्गठन एवम् युवा कमरेडहरूलाई गर्विलो अङ्कमालसहित धन्यवाद प्रकट गर्दछ । यस अभियानलाई गम्भीरतापूर्वक ग्रहण गर्ने र सकारात्मक सहयोग गर्नुहुने बुद्धिजीवी, राजनीतिक विश्लेषक, कानुनविद्, मानवअधिकारवादी, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका कूटनीतिज्ञ तथा कानुनविद् सबैमा पार्टी हार्दिक धन्यवाद व्यक्त गर्दछ । पार्टीको अभियानमा समर्पित भावनाका साथ खट्दा गिरफ्तार पर्नुभएका एवम् पार्टीलाई समर्थन गरेको आरोपमा राज्यद्वारा गिरफ्तार पर्न गई हालसम्म बिनाकारण हिरासतमा बन्दी हुनुभएका पीवीएम कमरेड वीरजंग, केन्द्रीय सदस्य कमरेड सुमनसहित सयौँ कमरेडहरूप्रति न्यानो र जोसिलो अभिवादन गर्दै धन्यवाद प्रकट गर्दछ । साथै गिरफ्तार कमरेडहरूलाई बिनासर्त यथाशीघ्र रिहा गर्न राज्यसँग अपिल गर्दछ । अभियानका क्रममा घाइते हुनुभएका कमरेडहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले २०६९ सालदेखि नै महान् जनयुद्ध र शान्तिप्रक्रियाको मूलमर्म, मान्यता, उद्देश्य र लक्ष्यका विरुद्ध नेपाली काङ्ग्रेस, नेकपा (एमाले), भारतीय साम्राज्यवाद र बाबुराम–प्रचण्डले गर्न थालेको गैरजिम्मेवार गठजोड, अनैतिक लेनदेन, व्यक्तिकेन्द्रित सम्झौताविरुद्ध सङ्घर्ष गर्दै आएको हो । उनीहरूले षड्यन्त्रपूर्ण सम्झौता गर्दै जनयुद्धका उपलब्धिहरूलाई निषेध गर्दै महान् जनमुक्ति सेनालाई विसर्जन गर्ने निर्णय गरेपछि नै हामीले प्रचण्ड– बाबुराममण्डलीको गद्दारीसँग विद्रोह गर्दै उनीहरूद्वारा कथित दोस्रो संविधानसभाको चुनाव लादेपछि त्यसलाई प्रतिक्रान्तिको साधन भन्दै बहिष्कार गरेका थियौँ ।

उनीहरूले प्रतिक्रियावादी संसदीय व्यवस्थाको संविधान घोषणा गर्दा हामीले जनगणतन्त्र नेपालको संविधान घोषणा गरेका थियौँ । साथै हामीले जनप्रतिनिधिसभा र जनपरिषद्को घोषणा गरेका थियौँ । उनीहरूको कथित स्थानीय तहको चुनाव गर्ने निर्णयलाई हामीले प्रतिरोधसहित खारेज ग¥यौँ । यसपटक संसदीय व्यवस्थाको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खारेजी त्यसैको निरन्तरता र उत्कर्ष हो ।

यतिबेला नेपालमा दुई विश्वदृष्टिकोण, दुई सत्ता र दुई सरकारको अवस्था रहेको छ । आउँदा दिनहरूमा एउटा पुरानो संसदीय सत्तालाई नयाँ सत्ताले विस्थापित गर्ने तथा नयाँ सत्ता विस्तार र सुदृढ हुने कुरामा कुनै शङ्का छैन । हाम्रो पार्टीले प्रतिक्रान्तिकारी संसदीय चुनावलाई खारेज गर्ने निर्णय लिएदेखि खारेज अभियान सञ्चालन गर्दासम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय हिस्सामा केही भ्रम र पूर्वाग्रह पनि देखिन खोज्यो । केही अन्तर्राष्ट्रिय समुदायले हाम्रो चुनाव खारेज अभियानलाई लोकतन्त्र र जनताको मतदान अधिकारमाथि हस्तक्षेप भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।

हाम्रो पार्टीको स्पष्ट धारणा छ– चुनाव खारेज अभियान सच्चा लोकतन्त्र र मताधिकारका लागि हो । यो खारेज अभियान शान्तिप्रक्रियालाई धोकापूर्ण तरिकाले दलाल पुँजीवादी संसदीय व्यवस्था पुनस्र्थापना गर्ने र त्यसको आयु लम्ब्याउने गद्दारीविरुद्ध विद्रोह र प्रतिरोध हो । जुन कुरा माओवादी आन्दोलनको पूर्ण अधिकारभित्र पर्दछ । त्यसैगरी केही वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेताहरूले चुनावविरोधी तत्व, बम पड्काउने, ध्वंसात्मक तत्व भनेका छन् । कतिपय सञ्चारमाध्यमले बम पड्काएर जिम्मा नलिने अनैतिक कार्य भएकाले राज्यले दमन गर्नुपर्ने भनिरहेका छन् । राज्य र सञ्चारमाध्यमहरूले ‘अज्ञात समूहको बम हमला’ भनेर प्रचार गरे । यी सबै घरेलु प्रचारबाजी र टिप्पणीहरू भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक छन् । यी प्रचारका पछाडि जनयुद्धलाई आतङ्ककारी, विध्वंसकारी, फासिवादी दोषारोपण गर्ने प्रवृत्ति र मनसाय निहित छ जब कि हाम्रो पार्टीले संसदीय चुनावलाई सम्पूर्ण रूप र तरिकाले प्रतिरोध तथा खारेज गर्न अपिल गरिसकेपछि यसैको निर्देशनमा गरिएका प्रतिरोध सङ्घर्षहरू जुनसुकै किन र कसरी अज्ञात, विध्वंसात्मक र अनैतिक भए ? यी त प्रतिक्रान्तिकारी तत्व र दलाल संसदीय व्यवस्थाविरुद्ध खुलमखुला रूपले सञ्चालन गरेका क्रान्तिका शृङ्खला हुन् । बरु यहाँ जसले यसलाई जानाजान भ्रमपूर्ण बनाउन खोजेका छन् यी तत्वले आफ्नो जनघात र राष्ट्रघातलाई छोप्न र वास्तविक जनवादी, राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरूबारे जनतामा भ्रम छर्न, प्रतिक्रान्तिकारी स्वार्थ पूरा गर्न खोजेका छन् । यस्ता तत्वबाट सबै नागरिक सचेत रहनुपर्दछ भन्ने हाम्रो धारणा छ । हाम्रो पार्टीलाई श्रमिक जनताको सुन्दर भविष्य, देशको स्वाधीनता, दिगो शान्ति, समृद्ध जीवन निर्माण गर्नुबाहेक अरू कुनै स्वार्थ र प्रभाव छैन जसका लागि वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प छैन । दलाल संसदीय व्यवस्थामा त्यो कदापि सम्भव छैन । तसर्थ हाम्रो दृढ विश्वास छ– दलाल संसदीय व्यवस्थालाई अन्त्य गर्न एकीकृत जनक्रान्तिको कार्यदिशालाई नयाँ उचाइमा उठाउनु र वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प छैन ।

हामी आउँदा दिनमा क्रान्तिलाई नयाँ स्तरमा उठाउन अझै सशक्त प्रकारले पहलकदमी लिनेछौँ । नेपाली जनताको परिवर्तन र नयाँ जीवनको चाहनालाई कदापि निभ्न र समाप्त हुन दिनेछैनौँ । त्यसका लागि सम्पूर्ण पार्टीपङ्क्तिलाई जनताको बीचमा बसेर दलाल, भ्रष्ट, राष्ट्रघाती, जनघाती, आत्मसमर्पणवादी, धोकेबाज तत्वहरूका विरुद्ध एक ज्यान, एक मत भएर सङ्घर्षमा डट्न र जनताको नेतृत्व गर्न निर्देशन गर्दछ । त्यसैगरी सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त, क्रान्तिकारी समुदाय, बुद्धिजीवी, व्यवसायी मित्रहरूलाई हाम्रो क्रान्तिकारी प्रक्रिया र सङ्घर्षलाई सहयोग गर्न पुनः अनुरोध गर्दछ । लेनिनले भन्नुभएको थियो, ‘हारेको सिपाहीले राम्रोसँग सिक्छ ।’ त्यसैगरी माओ त्सेतुङले भन्नुभएको थियो, ‘असफलताहरू सफलताका जननी हुन् ।’ हामीले नेपाली क्रान्तिमा अकल्पनीय पराजय, धोका र गद्दारी भोग्यौँ । परन्तु हामीले ती पराजयबाट गम्भीर र अमूल्य शिक्षा लिएका छौँ । यी शिक्षालाई गहिरोगरी आत्मसात गर्दै नेपाली क्रान्तिलाई पूर्ण गरिछाड्नेछौँ भन्ने दृढ विश्वास हामीमा छ । साम्राज्यवादी दलाल पुँजीवादी, संसद्वादी, आत्मसमर्पणवादी तत्वहरूले हामीलाई जति नै दमन गर्न खोजून्, हाम्राविरुद्ध भ्रमको खेती गरून् र समाप्त गर्न खोजून् अन्तिम विनास क्रान्तिकारी शक्तिको होइन, प्रतिक्रियावादी शिविरकै हुनेछ । अन्त्यमा प्रतिक्रियावादी संसदीय व्यवस्थाको चुनाव खारेज अभियानलाई एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढाउन विशेष आग्रह गर्दछौँ । स्रोत : रातो खबर साप्ताहिक
२०७४ मंसिर २७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :