चुनावमा भूराजनीतिक प्रभाव

काठमाडौं : भर्खरै सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा भूराजनीतिक प्रभाव प्रष्ट रुपमा देखिएको छ । दक्षिण एशियामा नै भाजपाको अन्धराष्ट्रवाद र हस्तक्षेपकारी विदेश नीतिको विरुद्ध जनमत बढ्दै गएको बेला नेपालमा पनि त्यसको प्रभाव परेको छ । भारतीय नाकाबन्दी र मधेस आन्दोलन सफल भएको भए दक्षिणपंथी गठबन्धन हाबी हुने निश्चित थियो । मधेस आन्दोलनको असफलता, त्यसमा भारतीय भूमिकाको आलोचना र जनअसन्तुष्टि तथा भारतले नाकाबन्दी फिर्ता लिनुपर्ने बाध्यताका कारण नेपालमा भारत विरोधी जनमत निकै बढेको ठानिएको छ । त्यसकारण पनि कांग्रेस, राजावादी, पूर्वपञ्चहरु र मधेसवादी गठबन्धनको विपक्षमा जनमत गएका     देखिन्छ ।


चीन सरकारको पछिल्लो आक्रामक विदेश नीतिले नेपाली जनमतमा असुरक्षाको भावना भन्दा भरोसा र भारतीय विकल्पको रुपमा हेर्नेहरुको संख्या बढेको छ । त्यसमा पनि भारतको दबाब हुँदाहुँदै गत वैशाख अन्तमा ओविओआरमा नेपाल संलग्न हुनु र चीनले सो परियोजनामा लगानी गर्ने तत्परता देखाउनुले पनि चुनावमा प्रभाव परेको हो । चुनावको मुखैमा आकस्मिक बाहन बाँड्ने, गाउँमा डोजर दौडाउने नेपाली समाजमा चुनावले देश तातेकै बेला चिनियाँ टोली आएर आजभोलि नै रेल दौडन्छ भनेझैं गर्नुले पनि चुनावी जनमतलाई प्रभावित गरेको देखिन्छ । वाम गठबन्धनले जितेमा चीनसँग विकास साझेदारी बढ्ने र त्यसले देश समृद्ध बन्ने मनोकांक्षा पनि चुनावमा प्रकट भयो । एकजना काठमाडौंका मध्यम वर्गीय व्यापारी भन्छन् “मेरो छोरी अमेरिका अध्ययन गर्न जाँदा भारतमा बनेका लुगा र बिस्कुट बोक्न पनि मानिन ।” अर्को एकजना निम्न वर्गीय चितवन निवासी किसान भन्छन् “छोरालाई जग्गा बेचेर दिल्ली अध्ययनमा पठाउन खोजेको उसले भारतको नाम लिनै चाहेन ।” नाकाबन्दीमा बस चढ्न नसकेर उनको बच्चाको परीक्षा छुटेको रहेछ ।

राजनीति नै नबुझ्ने–नबुझेका कलिला लाखौं किशोर–किशोरी भारतलाई दुष्ट, नेपाल विरोधी देशका रुपमा बुझ्न थालेका छन् । नेपालको सामाजिक चेतना २०२७ र २०४६ सालको जस्तो कमजोर छैन । नेपाली जनमत भारतको विकल्प खोजिरहेको छ । एमालेको चीन झुकाव र वाम गठबन्धनको सरकार बनेमा भारतको विकल्प बन्नसक्ने अपेक्षा वा मनोकांक्षाका कारण पनि चुनाव परिणाम कांग्रेसको विपक्षमा गएको हो । अप्रत्यासित चुनावी परिणामका धेरै कारण छन् तर मुख्य प्रभाव नेपालको भूराजनीतिले पारेको छ । त्यसैपनि चीन नेपालको सबैभन्दा ठूलो दाता मुलुक हो ।

२०७४ मंसिर २७ गते अपरान्ह ५ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :