दिल्लीका प्रिय पात्र कसले जिते ? कसले हारे ?

काठमाडौं : भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रभाव नभएको नेपालको कुनै निकाय छैन भन्ने गरिन्छ । सुरक्षा निकाय, कर्मचारी, अदालत, संस्थान, निगम, सिंहदरबार र दलहरूभित्र उनीहरूको पकड नै छ भन्ने ‘ओपन सेक्रेट’ नै हो । प्रतिनिधिसभा चुनावमा अधिकांश दिल्ली निकट भनेर चिनिएका नेताहरु पराजित भएका छन् । शान्तिप्रक्रिया असफल पार्न ‘रअ’ सँग मिलेर मुख्य भूमिका निर्वाह गरेको आरोप लागेका कृष्ण सिटौला पराजित भएका छन् । त्यसैगरी नुवाकोटका ‘रअ’ का प्रतिनिधि पूर्वपञ्च अर्जुननरसिंह के.सी. पनि पराजित भएका छन् । उनी गुन्डागर्दीका संरक्षक पनि हुन् । के.सी.ले आफ्नै मातापिताका नाममा भारतीय लगानीको गैसस चलाएका छन् । उनी चुनावैपिच्छे भारतीय आकस्मिक वाहन, अनुदान बाँड्ने गर्छन् । दीपकुमार उपाध्याय नेपालमाथि भारतीय नाकाबन्दी लाग्दा भारतकै खुलेआम चाकरी गर्ने देशद्रोही कपूत हुन् । उनी पनि पराजित भएका छन् । त्यसैगरी सूर्यबहादुर थापाका पुत्र सुनिल थापा पनि यसपटक पराजित भएका छन् । सूर्यबहादुर थापाले २०३५/०३६ मा दिल्लीको आडमा ‘मलाई राजाको होइन, राजालाई मेरो खाँचो छ’ भनेका थिए । थापाले २०३७ को जनमतसङ्ग्रहमा लाखौँ भारतीय नागरिकलाई पञ्चायती व्यवस्थाका पक्षमा मतदान गर्न लगाए । तिनै भारतीयलाई कालान्तरमा नागरिकता प्रदान गरियो । उनै राष्ट्रघाती फिजीकरणका नायकका पुत्र सुनिल थापा पनि पराजित भएका छन् ।

दिल्लीले जसरी पनि प्रतिनिधिसभामा पठाउन चाहेका केही महत्वपूर्ण नेताहरूले पनि चुनाव जितेका छन् । गोरखाबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई हराउन चर्को गुटबन्दी गरेको आरोप लागेका, एमाले–माके पार्टीएकताको विपक्षमा रहेका वर्षमान पुनले चुनाव जितेका छन् । एमाले नेता विष्णु पौडेल सो पार्टीमा दिल्लीको भरपर्दो र विश्वासपात्र ठानिन्छन् । उनी प्रतिनिधिसभामा पुगेका छन् । दिल्लीका अर्का विश्वासपात्र गगन थापा पनि चुनाव जित्न सफल भएका छन् । आम नेपालीले दिल्लीभक्त ठान्ने पहाडका बाबुराम भट्टराई र तराईका राजेन्द्र महतो पनि प्रतिनिधिसभामा पुगेका छन् । ड्यास माओवादीको गोप्य सूचना र फोटो दिल्ली पु¥याउने आरोप लागेकी पम्फा भुसाल पनि प्रतिनिधिसभामा पुगेकी छिन् । नेपाली कांग्रेसका अमरेश कुमार झा आफूलाई खुलेआम भारतको पक्षधर ठान्छन् । उनी पनि चर्को प्रतिस्पर्धामा छन् ।

नेपालका उद्योगधन्दा बेचेर खाने कथित उदारवादका पश्चिमी दूतहरू रामशरण महत र महेश आचार्यले धुलो चाटेका छन् भने जनयुद्धका सहिद परिवारलाई राहत दिन अस्वीकार गर्ने रामचन्द्र पौडेलको सपना नारायणगोपालको गीतझैँ हुरीले उडाएको छ ।
२०७४ मंसिर २७ गते दिउँसो १०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :