नेकपाका नेताकार्यकर्ता रिहा

अम्बिका चन्द / काठमाडौ : निर्वाचन सुरक्षा चुनौतिको कारण देखाउँदै पक्राउ गरिएका नेकपाका पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्द ‘विरजङ्ग’ सोमबार रिहा हुनुभएको छ । पार्टीको लुम्बिनी ब्यूरो इन्चार्जमेत रहेका चन्दलाई मंसिर ८ गते काठमाडौं बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । भारतको दिल्लीस्थित म्याक्स अस्पतालको आइसियूमा अचेत अवस्थामा रहेका छोरा बिएस चन्दको उपचार खर्च जुटाउन आफन्तको घर पुगेको बेला चन्दलाई पक्राउ गरिएको थियो । चन्दलाई पक्राउ गरिएपछि रकमको अभावमा उपचार प्रक्रिया अघि बढ्न नसक्दा विएसको अवस्था निकै चिन्ताजनक बनेको पारिवारिक श्रोतले जनाएको छ । यस्तै नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसी पनि आइतबार रिहा भएका छन् । नेकपा निकट शिक्षक संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका बिसीलाई चितवनबाटै प्रहरीले पक्राउ गरेको थियो । धनकुटाका जिल्ला इन्चार्ज माधव गौतम ‘आकास’ पनि आइतबार रिहा भएका छन् । गौतमलाई कार्तिक ३० गते धनकुटाको पोखरेबाट पक्राउ गरको थियो ।नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया पनि सोमबार रिहा भएका छन् । थपलियालाई मंसिर १ गते काठमाडौं बागबजारबाट गिरफ्तार गरिएको थियो । थपलियाको गिरफ्तारी गैर कानुनी भएको भन्दै नेपाल पत्रकार महासंघका ेन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको ६ दिनपछि थपलिया रिहा भएका हुन् । यस्तै पर्साका पूर्व सांसद तथा नेकपाका नेता इस्लाम हवारी पनि रिहा भएका छन् । २० दिनअघि हवारीलाई पर्सा विरगन्जबाट पक्राउ गरिएको थियो । लम्जुङ जिल्ला सेक्रेटरी सन्तोष कोइराला र डोल्पाका सेक्रेटरी राजेश बुढा पनि रिहा भएका छन् । गण्डकी व्युरो सदस्य कपिल भट्ट पोखराबाट रिहा भएका छन् । शिक्षक संगठनकी केन्द्रीय सदस्य टीकादेवी राई पनि रिहा भएको खबर छ । देशका विभिन्न ठाउँहरुबाट नेकपाका दर्जनौँ नेता कार्यकर्ताहरु रिहा भए पनि अझै ठूलो संख्यामा आफ्ना नेता कार्यकर्ता रिहा नभएको नेकपाले जनाएको छ । केन्द्रीय सदस्य तथा मेची ब्यूरो इन्चार्ज सन्तकुमार लिम्बु सहित देशभरी नेकपाका दर्जनौ नेता कार्यकर्ताहरु अहिले पनि प्रहरी नियन्त्रणमा रहेका छन् । नेकपाले विनाकारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफतार गरेको र झुटा मुद्दामा फसाउने षड्यन्त्र गरको भन्दै तत्काल रिहाईको लागि माग गरेको छ । स्रोतः रातो खबर साप्ताहिक ,मंसिर २७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :