राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा दाहसंस्कार

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा दाहसंस्कार

काठमाडौँ : तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी गरिएका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए । दाहसंस्कारका क्रममा उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिएको थियो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको थियो । छोराहरु विदेशबाट आउन ढिला गरेका कारण निधन भएको तीन दिनमा अन्त्येष्टी गरिएको हो ।

तत्कालीन संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए । उनी जनआन्दोलन ०६२/०६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चार पटक सभामुख बन्दा उनी सधैँ सर्वसम्मत भएका थिए ।

स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका उपलब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।

नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । नेम्वाङका श्रीमती दुई छोरा र दुई छोरी छन् ।

नेम्वाङको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :