एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौँ : पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घाेषित गरेका थिए ।

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए । उनी जनआन्दोलन ०६२/०६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चार पटक सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :