मेटेर सबै विभेदका साङ्ला समानतामा रमाउँछ नेपाल !

कविता

मेटेर सबै विभेदका साङ्ला समानतामा रमाउँछ नेपाल !

कहाँ छ तिम्रो समृद्ध नेपाल, कता छ तिम्रो त्यो शान्त नेपाल
काम खोज्दै विदेश जाने युवाहरूको लाममा छ नेपाल !

बिछोडिँदा धर्किंदै रुने प्रियजनको धड्कनमा हेर
चोटैचोटले पग्लिएका अश्रुपुरित मुहार हो नेपाल !

खै त तिम्रो समुन्नत नेपाल, कता गो’ तिम्रो सुदृढ नेपाल ?
पासपोर्ट लिने लाममा छ नेपाल, नागरिकताको नाममा छ नेपाल !

विदेशबाट रातो बाकस भएर यतै आउँछ नेपाल
अख्तियार र सीआईबीको हिरासतमा देखिन्छ नेपाल !

तिम्रो हराभरा नेपाल, तिम्रो सुखी–शान्त नेपाल
मान्छे बेच्ने तस्करका लस्करमा राम्ररी देखिन्छ नेपाल !

तस्करीको सुनमा हेर, ललिता निवासका घुनमा हेर
मिलेर देशको घात गर्ने कालाकोठरीको नेपाल हेर !

‘देश हाँक्ने’ शासकका भोग–विलासमा कैद छ आज नेपाल
अस्पताल र स्कुलका रिँगटा लाग्ने बिलमा छ नेपाल !

बजारमा साँझ–बिहानै मात्तिएको महँगीमा छ वास्तविक नेपाल
देश त्याग्न विवश युवक–युवतीको आक्रोशमा व्यक्तिन्छ नेपाल !

मल, बिउ, पानी नपाएका किसानका खेत–बारीमा नेपाल
बेचिएका देशका उद्योग र कलकारखानाका तालामा नेपाल !

खाडीको उखर्माउलो घाममा पिल्सिएको छ वास्तविक नेपाल
बेरोजगारीले भौँतारिएकाको छट्पटीमा छ असली नेपाल !

रोग र भोकले थलिएका विपन्नका तनमा छ नेपाल
अत्याचारले विरक्तिएका आहतको जीवनमा नेपाल !

बलात्कृत र बेचिएका चेलीहरूको मुहार हो नेपाल
सूदखोरले लखेटेका श्रमिकको गुहार हो नेपाल !

युद्धपीडित, अपाङ्ग र घाइतेमा सुस्केरा छोड्दैछ नेपाल
निगम पुँजीवाद–साम्राज्यवादले डामेको जीवन ओड्दैछ नेपाल !

दलाल खोज्छ पुरानो नेपाल, जनता खोज्छ नयाँ नेपाल–
अभाव र घूसखोरी ठ्याम्मै बन्द, समानतामा आधारित नेपाल !

रुग्ण र जीर्ण, सुस्क र अस्थिर, चञ्चलताको विकल्प नेपाल
अधकल्चो युद्ध पारेर पूर्ण सहिदका सपनामा फुल्दछ नेपाल !

एकपल्ट रगत बगाउँदै फेरि क्रान्तिमा झर्झराउँदैछ नेपाल
मेटेर सबै विभेदका साङ्ला समानतामा रमाउँछ नेपाल !

४ भदौ, २०८०
नारायणहिटी दरबार सङ्ग्रहालय परिसर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :