त्यसरी समाजवाद आउने भए…

कविता

त्यसरी समाजवाद आउने भए…

ए कमरेड !
अम्रिसो बेचेर समाजवाद आउने भए
पहिले मेरी आमालाई आउनुपथ्र्याे !
मेरी आमा धनाढ्यका आँगनहरूमा किन धाउनुपथ्र्यो ?

ए कमरेड !
कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउने भए
त्यो पनि पहिले मेरी आमालाई आउनुपथ्र्याे !
बाहरू साहूमहाजनको दैलो अनि गोठमा किन धाउनुपथ्र्यो ?
ए कमरेड !
धान रोपेर समाजवाद आउने भए
पहिले हाम्रो किसानको घरमा आउनुपथ्र्यो !
यो देशका किसानहरू
जमिनदारका जमिनहरूमा किन धाउनुपथ्र्यो ?
ए कमरेड !
श्रम मात्रै गरेर समाजवाद आउने भए
पहिले अजय सुमार्गी र विनोद चौधरीका उद्योगमा काम गर्ने
मजदुरको घरमा आउनुपथ्र्यो !
यो देशका नौजवान युवाहरूले
खाडी मुलुक किन धाउनुपथ्र्यो ?
ए कमरेड !
मिनी मार्ट बनाएर समाजवाद आउने भए
पहिले प्रेमप्रसाद आचार्यहरूको घरमा आउनुपथ्र्याे !
यो देशका उद्यमीहरू
दलाल पुँजीपतिकोमा किन धाउनुपथ्र्यो ?
ए कमरेड !
संशोधनवादीहरूसँग मोर्चा बनाएर समाजवाद आउने भए
हजारौँ सपूतहरूले रगत नबगाउँदै आउनुपथ्र्याे !
मालेमावादी दृष्टिकोणसहितको
कम्युनिस्ट पार्टी किन बनाउनुपथ्र्यो ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :