छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न माग

छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न माग

काठमाडौँ : अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले प्रेस विज्ञप्ति जारी गरी यही वैशाख २० गते धादिङको ज्वालामुखी गाउँपालिका ७ स्थित सालवास माविमा कक्षा १२ मा अध्ययनरत छात्र जितबहादुर नेपालीको शुल्ककै कारण प्रवेशपत्रमा रोक लगाइँदा भएको आत्महत्याको घटना छाबिन गर्न माग गरेको छ ।

अध्यक्ष राईले विज्ञप्तिमा संविधानको भाग तीन धारा ३१ मा आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क, माध्यमिक तहको शिक्षा निःशुल्क लेखिएको तर राज्य र यसका सम्बन्धित नियमन गर्ने निकायहरू गैरजिम्मेवार भएर मूकदर्शक बन्दा यस्ता धेरै घटना भइरहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यही वैशाख २० गते धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ७ मा रहेको सालवास माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी जितबहादुर नेपालीको आत्महत्याको घटनाले गम्भीर बनाएको छ । शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो र यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्दछ तर परीक्षाको अन्तिम तयारीको समयमा आएर शुल्ककै कारण प्रवेशपत्रमा रोक लगाउनु र विभिन्न मानसिक यातना दिने घटनाहरू कुनै नयाँ होइनन्, यी त प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राज्यको शिक्षासम्बन्धी स्पष्ट नीति नहुनु र भएको पनि कार्यान्वयन प्रक्रियामा लैजान नसक्नुले गैरजिम्मेवार राज्यको असली रूप उदाङ्गो भइरहेको छ । यस्ता घृणित कार्य नगर्न र न्यूनतम मानवीय संवेदनालाई ख्याल गरी व्यावहारिक बन्न शिक्षा क्षेत्रसँग सम्बन्धित सबैलाई आग्रह गर्दछौँ । साथै घटनाको सत्यतथ्य छानबिन गर्न र संलग्न दोषीमाथि यथाशीघ्र कडा कारबाही गर्न आग्रह गर्दछौँ ।

मृतक जितबहादुरप्रति हार्दिक श्रद्धाञ्जलीसहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । हामी यस्ताखालका विकृत र घृणित क्रियाकलापका विरुद्ध विगतदेखि निरन्तर सङ्घर्षरत छौँ र रहिरहनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :