विद्यार्थीको उत्तरपुस्तिका हराउने कर्मचारीलाई राजीनामासहित कडा कारबाही नगरिए सडकबाट कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

विद्यार्थीको उत्तरपुस्तिका हराउने कर्मचारीलाई राजीनामासहित कडा कारबाही नगरिए सडकबाट कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी त्रिवि क्याम्पस विशेष समितिले २०७८ पुस २० देखि माघ ४ सम्म त्रिविले परीक्षा लिएको स्नातक तह बीबीएस चौथो वर्ष बिजनेस रिसर्च मेथड्स विषयको सिम्बोल नं. ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनाप्रति आक्रोश व्यक्त गर्दै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै उत्तरपुस्तिका नै हराइदिने कर्मचारीलाई कडा कारबाहीसहित राजीनामा माग गरेको छ ।

त्रिवि क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द बिस्टले विज्ञप्ति जारी गर्दै सरकारसँग विद्यार्थीको भविष्य बर्बाद पार्ने गैरजिम्मेवार, अक्षम, दोषी कर्मचारी र त्रिवि प्रशासनलाई कडा कारबाहीसहित राजीनामा माग गरेका हुन् । इन्चार्ज बिस्टले दोषी कर्मचारीलाई सरकारले कारबाही नगरे सडक मोर्चाबाट कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

बिस्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि निरन्तर गम्भीर खेलबाड गरिरहेको छ जसका विरुद्ध हाम्रो सङ्गठन लामो समयदेखि सङ्घर्ष गरिरहेको विषय सर्वविदितै छ । यसै सन्दर्भमा २०७८ पुस २० देखि माघ ४ सम्म त्रिविले परीक्षा लिएको स्नातक तह बीबीएस चौथो वर्ष बिजनेस रिसर्च मेथड्स विषयको सिम्बोल नं. ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म दमक बहुमुखी क्याम्पस, झापाका विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनाप्रति हाम्रो सङ्गठन गम्भीर एवम् आक्रोशित भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले परीक्षा दिएको एक वर्ष बितिसक्दासमेत परीक्षाफल प्रकाशित गर्न नसकेको त्रिविले उत्तरपुस्तिकाको सुरक्षासमेत गर्न नसकेको घटनाले त्रिवि प्रशासन पूर्ण रूपमा असफल भएको पुष्टि भएको छ । त्रिवि प्रशासनले गरेको गल्तीको सजाय विद्यार्थीले भोग्नुपर्ने कुरा अस्वीकार्य छ । हाम्रो सङ्गठन सरकारसँग विद्यार्थीको भविष्य बर्बाद पार्ने गैरजिम्मेवार, अक्षम, दोषी कर्मचारी र त्रिवि प्रशासनलाई कडा कारबाहीसहित राजीनामा माग गर्दछ । अन्यथा सङ्गठन सडक मोर्चाबाट कारबाही गर्न बाध्य हुने चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :