सम्झनालाई विष पिउन बाध्य पार्ने समिक लघुवित्तीय संस्थाका कर्मचारीलाई कारबाही नगरिए सडक सङ्घर्ष गर्छौं : नेकपा (बहुमत)

सम्झनालाई विष पिउन बाध्य पार्ने समिक लघुवित्तीय संस्थाका कर्मचारीलाई कारबाही नगरिए सडक सङ्घर्ष गर्छौं : नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) मकवानपुरले विज्ञप्ति जारी गर्दै मनहरि गाउँपालिका ५ डिल्लीपुर चिसोपानी गाउँकी सम्झना राईलाई कर्जा असुलीका लागि बारम्बार थर्काउने, धम्क्याउने गर्नाले तनाव सहन नसकी विष पिउन बाध्य भएकाले त्यसो गर्न बाध्य बनाउने समिक लघुवित्तीय संस्थाका कर्मचारीहरूको कार्यप्रति घोर निन्दा व्यक्त गर्दै गैरकानुनी काम गर्ने कर्मचारीलाई अविलम्ब कारबाही गरी बिरामी राईको उपचार नगरिए सडक सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ ।

पार्टीका जिल्ला संयोजक शक्तिले विज्ञप्ति जारी गर्दै मागको बेवास्ता गरिएमा जनता सङ्घर्षमा जान बाध्य हुने र सङ्घर्षको परिणामको जिम्मेवार सम्बन्धित पक्ष हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

शक्तिको विज्ञप्तिमा भनिएको छ, ‘विश्वसर्वहारा वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले निरन्तर रूपमा राष्ट्रियता, जनजीविका, जनतन्त्र र लघुवित्तीय संस्थाको शोषणका विरुद्ध सङ्घर्ष गर्दै आएको कुरा सबैमा अवगत नै छ । मकवानपुर जिल्ला मनहरि गाउँपालिका ५ डिल्लीपुर चिसोपानी गाउँमा २०७९÷९÷२१ गते दिन समिक लघुवित्तीय संस्थाका कर्मचारीहरूले सो संस्थाबाट कर्जा लिनुभएकी सो ठाउँकी सम्झना राईलाई कर्जा असुली गर्नका लागि बारम्बार थर्काउने, धम्क्याउने कार्यले तनाव सहन नसकी विषसेवन गर्न बाध्य बनाउने संस्थाका कर्मचारीहरूको कार्यप्रति हाम्रो पार्टी घोर निन्दा व्यक्त गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘साथै गैरकानुनी कार्यमा संलग्न कर्मचारीलाई छिटोभन्दा छिटो कानुनी कारबाही गर्न र बिरामीको उपचार गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ । उक्त मागको बेवास्ता गरिएमा जनता सङ्घर्षमा जान बाध्य हुनेछन् । उक्त सङ्घर्षको परिणामको जिम्मेवार सम्बन्धित पक्ष हुनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :