सम्झनामा महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन

सम्झनामा महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन

‘प्रत्येक क्रान्तिको अर्थ हुन्छ, विशाल सङ्ख्यामा जनताको जीवनमा आकस्मिक घुम्ती । यस्तो घुम्तीका लागि समय परिपक्व भएको छैन भने कुनै पनि वास्तविक क्रान्ति हुन सक्तैन । जसरी कुनै व्यक्तिको जीवनमा कुनै पनि घुम्तीले उसलाई धेरै नै सिकाउँछ, उसलाई धेरै नै अनुभव तथा अनुभूति झेल्न बाध्य बनाउँछ, त्यसरी नै क्रान्तिले सम्पूर्ण जनतालाई धेरै कम समयमा अत्यन्त मर्मस्पर्शी र मूल्यवान् शिक्षा दिन्छ ।’

–लेनिन, क्रान्तिको शिक्षा, १९१७ ।

साँझको समय । उसै त मस्कोको कठिङ्ग्र्याउने चिसो, त्यसमाथि हल्का हिउँको वर्षाले वातावरण रोमाञ्चित बनिरहेको थियो । हामी यतिबेला सुस्तसुस्त गोर्की हिलको एकान्तस्थलमा पुगिसकेका छौँ । हामीसँग क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, नेपाल–रुस लेखक÷पत्रकार मञ्च तथा नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चका पदाधिकारी, सल्लाहकार र स्वतन्त्रसहित १५ जना प्रतिनिधिका साथै ब्राजिल, कोरिया, बेल्जियम, नेदरल्यान्ड्सलगायत मुलुकका कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूसमेत झन्डै ४० जनाको समूह छ र हामीलाई दह्रो नेतृत्व दिइरहेका छन् कमरेड दिमित्री कोस्चेन्कोले । साथमा छन् मृदुभाषी अलेक्स र सुशील किशोरी लारिसा पनि जो पछि नेपाल–रुस लेखक/पत्रकार मञ्चको सदस्य र सचिवमा समेत खुसीसाथ छानिए ।

भ्लादिमिर इल्यिच लेनिन सन् १८७० अप्रिल १० तारिखको दिन तत्कालीन सिमबिस्र्क (हाल उल्यानोभ्स्क) मा सामान्य तर शिक्षित परिवारमा जन्मिनुभएको थियो । स्कुले–जागिरे बाबुआमाका सन्तान लेनिनका दाजु अलेक्जान्डर क्रान्तिकारी युवाहरूको सङ्गठनमा लागेर जार शासकको हत्या गरेको अभियोगमा मारिनुभएको थियो । क्रान्तिकारी गतिविधिमा लागेको अभियोग लगाएर साइबेरिया निर्वासित गरिएकै समयमा पार्टी कार्यकर्ता नादेज्दा कोन्सतान्तिनोभा क्रुप्सकायासँग उहाँको प्रेमविवाह भएको थियो । लेनिन निःसन्तान हुनुहुन्थ्यो तर माक्र्सवादको सफल प्रयोगकर्ता उहाँका करोडौँ वर्गसन्तान र कमरेडहरू जन्मिए ।

मस्कोको भीडभाडभन्दा अलि पर, एकान्तमा, जङ्गलको बीच भागमा छ गोर्की गाउँ (गोर्की हिल) । गोर्की हिल त्यही ऐतिहासिक स्थल हो जहाँ माक्र्सवादका सफल प्रयोगकर्ता महान् नेता र कमान्डर कमरेड भ्लादिमिर इल्यिच लेनिन (पारिवारिक नाम भ्लादिमिर इल्यिच उल्यानोभ) ले महान् अक्टोबर क्रान्तिपछिका करिब ६ वर्ष उपचार, गहन अध्ययन, मनन र समाजवादी सोभियत रुसको सुन्दर भविष्यको खाका कोर्दै बिताउनुभएको थियो ।

महान् अक्टोबर क्रान्तिको सफलतापछि आत्तिएका षड्यन्त्रकारीहरूले एउटी भाडाकी आतङ्ककारी महिलालाई प्रयोग गर्दै लेनिनमाथि गोली प्रहार गर्ने अमानवीय, निन्दित र कायरतापूर्ण कार्य गराएका थिए र लेनिन उपचारका साथै भाबी रुसको निर्माण र विकासको खाका कोर्दै गोर्की हिलमा घाइते जीवन बिताइरहनुभएको थियो ।

हामीले यसअघि नै क्रेमलिनस्थित रेड स्क्वायर पुगेर महान् लेनिनको अहिल्यै जुरुक्क उठेर संसारभरका श्रमिक, उत्पीडितहरूलाई सम्बोधन गरिहाल्नुहोलाजस्तो भव्य शव अवलोकन गरिसकेका थियौँ । कठ्याङ्ग्र्रिँदो जाडोमा हिउँको वर्षा पन्छाउँदै लेनिनको शव हेर्न पसेका हामी लेनिनको पार्थिव शरीरलाई सलाम गरेर बाहिरिँदासम्म शरीर तातेर हिउँ र हुस्सुको चिसो फरार भइसकेको थियो । मनमा एकतमासको रातो र तातो ऊर्जा प्राप्त भएको अनुभूति भइरहेको थियो । लेनिनको पार्थिव शरीरको अवलोकन गर्दा महान् अक्टोबर क्रान्तिको सफलताका क्रममा पुरानो पेत्रोग्राद अर्थात् सेन्टपिटर्सबर्गमा दुस्मनलाई धुलो चटाएर एउटा पुरानो सैनिक गाडीमा विजयपताका फहराउँदै झन्डै ६ हजार किलोमिटर यात्रा गर्दै क्रेमलिन आइपुगेर रेड स्क्वायरमा लाखौँ मजदुरहरूलाई सम्बोधन गर्दै गरेका लेनिनको स्मरण भइरहेको थियो । आज हामी उनै महान् लेनिनले जीवनका अन्तिम क्षणहरू बिताएको घरमा पुगेका थियौँ ।

रुसी भाषामा लेनिनगृहको सविस्तार वर्णन गर्दै गरेकी दोभासेको रुसी भाषाको सन्देश अर्का दोभासे युवाले लट्टे पड्किएको शैलीमा अङ्ग्रेजीमा भरर्र प्रवाह गरिरहेका थिए । उनको धाराप्रवाह शैलीले मलाई मात्र होइन, सबै यात्रीलाई त्यस्तै प्रभाव पारिरहेको थियो भन्ने बुझ्न कुनै कठिनाइ थिएन । हामी लेनिन बसेको घर, बोल्सेबिक पार्टीको बैठक कक्ष, आगन्तुक कक्ष, लेनिनले प्रयोग गर्नुभएका घडी, कुर्सी, टेबुल, पोसाक, पुस्तकालय, ड्रेसिङकक्ष, ऐना, स्नानकक्ष, बन्दुक, कलम, पत्रपत्रिका अवलोकन गर्दै यो चोटाबाट ऊ कोठा हुँदै बिरालोको चालमा अघि बढिरहेका छौँ । सबै श्रोता स्तब्ध र मौनमौन छन्, एउटा सियो खसे पनि आवाज सुनिएलाजस्तो छ वातावरण । महान् लेनिनको बैठक कक्षमा पुगेपछि हामीले प्रस्टै देख्यौँ लेनिनले प्रयोग गर्नुभएको टेबुल घडी र टेबुल क्यालेन्डर । दोभासे युवक रुसी महिलाको प्रवचन अनुवाद गरिरहेकै छन् आफ्नै गतिमा । यत्तिकैमा उनले भने, ‘जब लेनिनले सन् १९२४ को जनवरी २१ को सन्ध्या समयमा अन्तिम श्वास फेर्नुभयो नादेज्दा कोन्सतान्तिनोभा क्रुप्सकायाले यो टेबुल घडी बन्द गरिदिनुभयो । त्यसपछि यो घडीको सुई कहिल्यै घुमेन…।’

उनले यत्ति भनिसकेपछि वातावरण झनै स्तब्ध र चकमन्न भयो । मानिसहरू सुँकसुँकाइरहेका देखिए । मैले पनि आफूलाई सामान्य अवस्थामा राख्न सकिनँ । टेबुल घडी नजिकै थियो टेबुल क्यालेन्डर । लेनिन हरेक दिन बिहानै यो क्यालेन्डर पल्टाउने गर्नुहुन्थ्यो । क्यालेन्डरमा जनवरीको २१ तारिख पल्टिएको थियो । लेनिनको श्वासप्रश्वासको गति रोकिएपछि फेरि कहिल्यै यो क्यालेन्डरको पाना पल्टिएन । यहाँ पनि हामीले एक छिन मुटुको धड्कन रोक्यौँ । वास्तवमै फेरि समय ठप्प भयो ।

त्यसपछि हामी आइपुग्यौँ लेनिनले अन्तिम श्वास लिएको उहाँको बिस्तरामा । सफा, सेतो बिस्तरा लेनिनको सफा जीवनजस्तै लमतन्न थियो । छेवैमा थियो आराम गरिरहेका लेनिनजस्तै लाग्ने सेतो अर्धकदको सालिक । यो सालिक उभिएको थिएन, श्वासप्रश्वास रोकिएपछिका लेनिनजस्तै ढल्किएको थियो । मलाई एकपटक लेनिनको बिस्तरा छुन मन लाग्यो तर सुरक्षाकर्मीले प्रतिबन्ध घोषणा गरिसकेका थिए । लेनिन बस्ने गरेको बेतको कुर्सी, सोफा, ह्विलचियर, बिस्तरा, दराज, पुस्तकालय सबै उस्तैउस्तै थिए, त्यहाँ थिएन त केवल महान् लेनिनको भौतिक उपस्थिति । लेनिनले हातमुख धुने गरेको धारामा गएर मैले लेनिनले गरेजस्तै कल्पना गरेर हात धोएको अभिनय गरेँ र त्यसैगरी कुर्सीमा बसेको जस्तो अभिनय पनि गरेँ । हामी लेनिनको पाइतालाले कुल्चिएको भुइँ कुल्चिएर हिँडिरहेका थियौँ । लेनिनले श्वासप्रश्वास लिएको वातावरणमा म यताउता टहलिरहेको थिएँ । जीवनको एउटा उत्कर्ष अनुभूति ग्रहण गरिरहेको थिएँ म । क्रुप्सकायाको शयन, भेटघाट, शृङ्गार र बैठक कक्ष, लेनिनकी बहिनीको शयन र शृङ्गारकक्ष सबै अवलोकन गरिसकेपछि मैले लेनिनको एउटा वर्गसन्तानका रूपमा अनुभूति गरेँ । लेनिनका सन्तान नभए पनि संसारभरका माक्र्सवादी–लेनिनवादीहरू, महान् लेनिनका योगदानहरूलाई लेनिनवादमा विकास गर्ने र त्यसलाई साँच्चै सोभियत रुसको भूमिमा लागू गरेर दखाउने महान् स्टालिनका असली अनुयायीका रूपमा मैले आफूलाई अनुभूत गरेँ ।

हामी महान् लेनिनले अक्टोबर क्रान्तिको माध्यमबाट रुसलाई आततायी जारको शासनबाट मुक्त गराउनुभएको ऐतिहासिक दिन अक्टोबर क्रान्तिको शतवार्षिकी अन्तर्राष्ट्रिय महासम्मेलनमा भाग लिन पुगेका थियौँ रुसमा । यात्रा भर्खर सुरु भएको थियो । हामी लेनिनग्राद र स्टालिनग्राद पुग्न र महासम्मेलनमा भाग लिन बाँकी नै थियो । गद्दार ख्रुस्चेब र उसका प्रतिगामी पिछलग्गुहरूले महान् लेनिन र महान् रुसी जनताले करोडौँको सङ्ख्यामा बलिदान गरेर निर्माण गरेको सोभियत सत्ता र समाजवाद ध्वस्त पारे पनि, नाजीवाद, हिटलर र विश्वयुद्धलाई ध्वस्त पारेर सोभियत रुसलाई शक्तिशाली बनाउने महान् स्टालिनको शव र सालिक क्रेनले ढालेर घिसारे पनि मस्कोका गल्ली, चोक र भित्ताभित्तामा, भूमिगत रेल स्टेसनदेखि नदीकिनारका पर्खालहरूसम्म हँसियाहथौडा अङ्कित कम्युनिस्ट अन्तर्राष्ट्रिय झन्डा फहराइरहेका थिए । संसारभरका क्रान्तिकारीहरूको हृदयको ढुकढुकी बनिसकेका लेनिनवाद र स्टालिनका आयामहरू रुसी भूमिको सीमा नाघेर संसारभरका श्रमिकजनको स्पन्दन बनिसकेका थिए । भोल्गा नदीको किनारबाट उदाएका महान् लेनिन र जर्जियाको दलित परिवारबाट उदाएका महान् स्टालिनका योगदानहरूको स्मरण गर्दै हामी चुपचापको गतिमा छिप्पिँदो साँझमा सुस्तरी बाहिरी सडकमा निस्कियौँ । मैले घरबाहिर निस्किएपछि पनि एकपटक लेनिन र स्टालिनको सम्मानमा मुठी उठाएर लालसलाम गरेँ । सहयात्रीहरू एकतमासले लेनिनगृहतिरै आँखा बिछ्याइरहनुभएको थियो ।

त्यसपछि हामीले तय गर्यौँ लेनिनग्रादको लामो र भव्य यात्रा र सहभागी भयौँ संसारभरका मालेमावादीहरूसँगको भव्य र ऐतिहासिक महासम्मेलनमा ।

आज सन् २०१७ नोभेम्बर पाँच तारिख । अब लगातार ६ दिनसम्म हामी यही लेनिनग्रादमा बस्नेछौँ र अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनका विभिन्न गतिविधिमा सामेल हुनेछौँ ।

रेलबाट झर्दानझर्दै आयोजक संस्थाका कमरेडहरू हाम्रो सेवामा तल्लीन थिए । कमरेड दिमित्री, कमरेड अलेक्स हामीसँगै भएकाले कुनै कठिनाइ महसुस भएन । हामी एकछिन यात्रा गरेर सम्बन्धित होटेलमा पुग्यौँ । यिनै रेलको यात्रा गर्न र होटेलमा बस्नका लागि भनेर हामीले नेपालबाटै केही रकम जम्मा गरेर पठाइसकेका थियौँ । हामी बिहानै पुगेकाले होटेलका कोठा खाली भइसकेका रहेनछन् । लबीमै हाम्रा सुटकेसहरू थन्क्यायौँ र चियानास्ता गर्न भनेर हामी बाहिरियौँ । लेनिनग्राद पुग्दा सिमसिम पानी परिरहेको थियो । रुसको उत्तरी भूभाग, युरोपको पूर्वी क्षेत्र र फिनल्यान्डको सीमा रहेको यो समुद्री तट भएकाले यहाँ प्रायः पानी परिरहने, घाम नलाग्ने जानकारी हामीलाई महासम्मेलन आयोजकहरूले दिए । मस्कोको माइनस तापक्रम सजिलै पचाएका हामीलाई लेनिनग्रादको चीसो पचाउन कुनै गाह्रो थिएन तर पनि घामै लाग्दैन रे भन्ने सुन्दा बाहिरी चीसो भित्र कताकता छुँदै लहरियो तर पनि हामी हिम्मत कसेर बजारतिर निस्कियौँ । हामीले एक फन्को लगाउँदासम्म पनि लेनिनग्राद ब्युँझिएको थिएन । मध्यरातसम्म व्यापार गर्ने र चहलपहल रहने यो सहर बिहान १० बजेसम्म सुस्ताइरहने रहेछ ।
कमरेड आन्द्रेई (मैले सुरुमै राखिदिएको नाम कमरेड चे) थपिनुभएको छ हाम्रो लेनिनग्रादको यात्रामा । आन्द्रेई यहीँका स्थायी बासिन्दा हुनुहुन्छ । मस्कोका कमरेड दिमित्री र त्यहाँबाट झन्डै ६ हजार किलोमिटर दूरीमा रहेको लेनिनग्रादका कमरेड आन्द्रेई अनि दक्षिणएसियाका हामी सबैलाई जोड्ने एउटै कडी थियो लेनिनवाद । अक्टोबर क्रान्तिको सफलतापछि नै कमरेड स्टालिनले संश्लेषण गर्नुभएको थियो लेनिनका योगदान र विचारहरूलाई लेनिनवाद भनेर । लेनिनवादले हामीलाई मात्र होइन, संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूलाई रुसमा भेला गराएको थियो– ब्राजिलदेखि पेरूसम्म, बेलायतदेखि बेल्जियमसम्मका लेनिनवादीहरूलाई एउटै मोर्चा र मञ्चमा एकत्रित गराएको थियो । लेनिनवादका मात्र नभएर जुछे विचारका समेत पक्षपोषक थिए कमरेड दिमित्री, कमरेड चे र कमरेड भादिमहरू । जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङमै भएको थियो उनीहरूसँग हाम्रो भेट र त्यहीँ भएको थियो मस्को र लेनिनग्रादमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउने सल्लाह ।

लेनिनग्रादको पुरानो नाम पेत्रोग्राद थियो र लेनिनले विद्रोह घोषणा गरेर सबैभन्दा पहिले मुक्त गराएको सहर भएकाले लेनिनको सम्मानमा यसको नाम लेनिनग्राद राखिएको थियो । प्रतिक्रान्तिपछि फेरि शासकहरूले यो सहरको नाम सेन्टपिटर्सबर्ग राखेका थिए । सेन्टपिटर्स कुनै समयमा रुसका शासक थिए र यो सहरको विकासमा उनको ठूलो योगदान थियो ।

लेनिनग्रादमा मलाई परेको पहिलो प्रभाव यहाँको प्राचीनता, कलात्मकता, सुन्दरता र सरसफाइ थियो । प्योङयाङ सहरमा जस्तै यहाँ पनि कतै फोहोर देखिएन । मानिसका पैतालाका डोब देखिएलान्जस्ता चिल्ला र सफा सडक थिए । सडकमा बिछ्याइएका ढुङ्गाहरू पनि पुछेर सफा पारिएका थिए । घरको बनोट पनि कलात्मक, चोक, गल्ली र सडककिनाराहरू कलात्मक, ठाउँठाउँमा सजाइएका स्तम्भहरू कलात्मक । मलाई फेरि लागिरह्यो– समाजवाद स्थापना भएको मुलुकमा विचार र विकाससँगै सिर्जनालाई पनि उत्तिकै स्थान दिइँदो रहेछ । त्यसैले त लेनिनगृहको नाम गोर्की हिल रह्यो होला । कुनै ठाउँको नाउँ जर्जिया पार्क, कुनै अस्त्रोभस्की, कुनै पुस्किन गाउँ र कुनै के रहेका होलान् । चित्र, मूर्ति, सालिक सबैले उत्तिकै स्थान पाएका थिए । कलाले ठाउँ पाएकाले कलाकारले पनि ठाउँ पाएका थिए वा पाएका छन् होला भन्ने बुझ्न कुनै कठिनाइ भएन । समाजवादमा जस्तो पुँजीवादमा कला र कलाकारले ठाउँ पाउन नसक्ने कुरा त स्वाभाविक नै हो किनकि समाजवादमा कला जीवनका लागि, परिवर्तन र क्रान्तिका लागि हुन्छ भने पुँजीवादमा कला कलाका लागि हुन्छ । हिजो समाजवादले देश, जनता, वर्ग, क्रान्ति र मुक्तिलाई साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गरेको थियो, आज पुँजीवादले आफ्नो सत्ता टिकाउनका लागि समाजवादी कला बेचिरहेको छ । उसले आफ्नो व्यापार गरेको भए पनि त्यसले केही हदसम्म हामीलाई लाभान्वित नै बनायो । हिङ नभए पनि हिङ बाँधेको टालोका रूपमा समाजवादी कलालाई पुँजीवादी कलासँग मिसमास पारेर भए पनि पुँजीवादले केही हदसम्म संरक्षण गरिदिएको रहेछ । विचार र व्यवस्था पुँजीवादी भए पनि समाजवादी कलाका केही पक्षहरूलाई जोगाएर राखिदिएकाले यो पक्षलाई धन्यवाद दिइयो ।

एउटा गाडीमा चढेर हामी विशाल तालबाट बगेर लेनिनग्राद हुँदै अघि बढ्ने नोभा नदी किनारमा पुग्यौँ । कमरेड दिमित्री, कमरेड अलेक्सीका साथमा अब अर्का कमरेड थपिएका थिए आन्द्रेई । उनी लेनिनग्रादका स्थायी बासिन्दा थिए । विचारले कहाँका मानिसलाई कहाँका मानिससँग भेट गराउँछ ! मस्कोका दिमित्री, भोल्गा नदीको किनारका आन्तोन र अलेक्सी, लेनिनग्रादका आन्द्रेई अनि कयौँ हजार किलोमिटर टाढा दक्षिणएसियाली मुलुक नेपालका हामी । हाम्राबीचमा एकैपटकको भेट नै आत्मीय भइहाल्थ्यो र हामी एकैछिनमा बर्सौंदेखि सँगै छौँजस्ता भइहाल्थ्यौँ किनकि हाम्रो विचार, भावना, वर्ग मिल्थ्यो । हामी संसारको जुनसुकै कुनाका भए पनि एउटै उद्देश्य साम्यवाद प्राप्तिको सङ्घर्षमा होमिएका सचेत र क्रान्तिकारीहरू थियौँ । भूगोल मात्र होइन, भाषा फरक थियो, सामाजिक संस्कृति, रीतिरिवाज र चालचलनहरू फरक थिए, समाजवाद आएर संसारभर मानवसभ्यताको नयाँ सन्देश दिइसकेको मुलुक र नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति लड्दै गरेको मुलुकका बीचमा कार्यदिशा, कयौँ कार्यनीतिक नारा र सङ्घर्षका आयामहरू फरकफरक थिए तर हाम्रो मूल ध्येय एउटै थियो– माक्र्सवाद–लेनिनवादको सही कार्यान्वयन, समाजवादका अनुभवहरूको केन्द्रीकरण, संसारका जनयुद्ध, विद्रोह र क्रान्तिहरूबाट शिक्षा लिँदै सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध सङ्घर्ष/क्रान्ति र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद प्राप्ति । यसका लागि सबैले माक्र्सवादका तीन सङ्घटक अङ्गहरू : दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको गहन अध्ययन र व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै एउटा खाका प्रस्तुत गर्नु थियो । सबैले आआफ्नो समाजका उत्पादनका साधनहरू, उत्पादक शक्तिहरू र उत्पादन सम्बन्ध व्यवहारबाटै बदल्ने प्रतिबद्धता व्यक्त गर्नु थियो र अन्तर्राष्ट्रिय गीत र सम्मेलनबाट त्यसलाई पारित गर्नु थियो । यसैका लागि त भेला भएका थियौँ हामी सबै महादेशका मालेमावादीहरू । त्यहाँ नयाँ दर्शनमाथि रस्साकस्सी गर्नेभन्दा मालेमालाई व्यवहारमा उतारेर नयाँ दर्शनशास्त्र प्रतिपादन गर्ने प्रतिबद्धता व्यक्त गर्नु थियो । सबैका आआफ्नो समाजका पीडाहरू थिए । कतिपय समाजमा अझै सामन्तवाद बाँकी थियो कतिपय समाजमा अर्धऔपनिवेशिकता, नवऔपनिवेशिकताले गाँजेको थियो । कतिपय समाजमा पुँजीवादको चरमोत्कर्ष थियो र कतिपय मुलुकमा पुँजीवादको साम्राज्यवाद र उत्तरसाम्राज्यवादमा भएको भ्रष्टीकरणले तहसनहस पारेको थियो । तर सबैको एउटै साझा उद्देश्य थियो– सबैखाले शोषण, दोहन, उत्पीडन र विभेदबाट मुक्तिका लागि विद्रोह, सङ्घर्ष, युद्ध र क्रान्ति । यसका लागि सबैले आआफ्नो देश र समाजका सामाजिक विशेषता र विशिष्टताहरू बोकेका थिए र एकापसमा राखेर त्यसलाई समाधान गर्ने साझा निष्कर्षबिन्दु निकाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनको अवसर पारेर ।

भेट हुनासाथ कमरेड आन्द्रेईले देखाएको निश्छल वर्गीय माया पेरू, नेदरल्यान्ड, बेलायत, बेल्जियम वा ब्राजिलका कम्युनिस्ट पार्टीका कमरेडहरूले देखाएको भन्दा पृथक् थिएन, उस्तै गाढा थियो । एउटै दर्शनले बाँधेको थियो सबैलाई । कोही पनि दर्शन प्रतिपादन गरेर भेला हुन आएको थिएन, दर्शनले सबैलाई पछ्याइरहेको थियो । महान् अग्रजहरूले भनेझैँ दर्शन वस्तुगत सङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वर्गसङ्घर्षबाट आउँछ । हामी सबैको उद्देश्य एउटै भएकाले हामी सबै एउटै दर्शनमा बाँधिएका थियौँ । सायद त्यसैले यस्तै अवस्थालाई ध्यानमा राखेर माक्र्सले भन्नुभएको थियो, ‘सामाजिक जीवन मूलतः व्यावहारिक छ । सारा रहस्य जसले सिद्धान्तलाई रहस्यवादको गलत बाटोमा भड्काइदिन्छ । मानवव्यवहारमा र यस व्यवहारको संज्ञानमा आफ्नो बुद्धिसम्मत संज्ञान पाउँछ ।’

(माक्र्स, फायरबाखबारे निबन्ध) ।

लेनिनले यसैलाई अगाडि भन्नुभयो, ‘जीवन र अनुभवको दृष्टिकोण नै ज्ञानसिद्धान्तको पहिलो र मुख्य दृष्टिकोण हुनुपर्छ र यसले अनिवार्यतः असङ्ख्य प्राध्यापकीय मनगढन्ते पाण्डित्याइँहरूलाई बढार्दै भौतिकवादमै पु¥याउँछ ।’

(लेनिन, भौतिकवाद र अनुभवसिद्ध आलोचनावाद, १९०८) ।

यसै विषयलाई फ्रेडरिक एङ्गेल्सले यसरी दर्साउनुभएको थियो, ‘छानबिन सिद्धान्तबाट सुरु हुँदैन, बरु छानबिनको अन्तिम परिणाम सिद्धान्त हुन्छ । यो सिद्धान्त प्रकृति तथा मानइतिहासमा लागू हुँदैन, बरु त्यसबाट निकालिन्छ । प्रकृति तथा मानवजातिलाई यी सिद्धान्तअनुरूप हुन जरुरी छैन । यसको उल्टो सिद्धान्त त्यही हदसम्म ठीक हुन्छ जुन हदसम्म त्यो प्रकृति तथा मानवइतिहासअनुरूप हुन्छ ।’

(एङ्गेल्स, ड्युहरिङ मत खण्डन, १८७६–७८) ।

लेनिनग्रादमा उन्मुक्त भएर विचरण गर्न आरम्भ गर्नासाथ नोभा नदीको तटमा कमरेड आन्द्रेईलाई मैले तिमी त कमरेड चे ग्वेभाराजस्तै लाग्छौ भन्दा उनी हृदयकै भाषा बोलेझैँ खुसी भएर ऐक्यबद्धता दर्साउँदै हौसिएर तस्बिर खिच्न तयार भएका थिए । उनले आफूले मात्र तस्बिर खिचेनन्, सडक सफा गर्दै गरेका मजदुरहरूसँग पनि तस्बिर खिचिदिए । हामी संसारका सबै श्रमिक, उत्पीडितहरू एक हौँ । भलै यतिबेला हामी भ्रमण र अध्ययनमा छौँ र यहाँका मजदुरहरू काममा छन् । हामी पनि एक किसिमको मजदुरी गर्दागर्दै महासम्मेलनमा भाग लिन आएका हौँ । मजदुरहरू पनि हाम्रो उत्साहसँग उत्साह थप्दै तस्बिरका लागि तयार भए । फरक कति थियो भने यतिबेला उनीहरूका हातमा श्रम गर्ने औजार थियो, हाम्रो हातमा क्यामेरा र कलम । सिमसिम पानीका बीच कञ्चन नोभा नदीमा हाँसहरू रमाउँदै पौडी खेलिरहेका थिए । हाम्रो मन पनि ती हाँसहरूजस्तै स्वच्छन्द सतहमा तैरिरहेको थियो । फरक यत्ति थियो, हाँसहरू बन्धनमुक्त थिए, हामी बन्धनसहित । त्यही बन्धन तोड्ने प्रतिबद्धता जनाउने महासम्मेलनमा सहभागी हुन हामी संसाभरका मालेमावादीहरू मस्को हुँदै लेनिनग्रादमा भेला भएका थियौँ । यही लेनिनग्रादबाट कमरेड भ्लादिमिर इल्यिच लेनिनले एक सय वर्षअघि विद्रोह र मुक्तिको शङ्खघोष गर्नुभएको थियो र विजयपताका फहराउँदै करिब ६ हजार किलोमिटर यात्रा गरेर रुसको क्रेमलिनमा विद्रोहको झन्डा उचाल्नुभएको थियो । मस्कोलगायत त्यस भेगकै चालीसौँ लाख मजदुरले एकैसाथ लेनिनलाई सशस्त्र क्रान्तिमा साथ दिएका थिए । त्यही विद्रोह निरङ्कुश जार शासकलाई ढाल्न सफल भएको थियो र त्यो दिन अक्टोबर २५ (हाल नोभेम्बर ७) थियो । हामी नेपालमा अक्टोबर २५ मै अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाएर मस्को हुँदै पुगेका थियौँ लेनिनग्रादमा । नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी एक वर्षसम्म विभिन्न कार्यक्रमसाथ मनाएको थियो । अक्टोबर क्रान्ति शतवार्षिकी आरम्भ हुनासाथ नेकपाले एउटा महत्वपूर्ण विचारगोष्ठी आयोजना गरेको थियो काठमाडौँमा । नेकपा स्थायी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले लेख्नुभएको अक्टोबर क्रान्तिको अन्तर्राष्ट्रिय आयामसम्बन्धी पुस्तिका नै वितरण गरिएको थियो । उक्त पुस्तिका प्रकाशन गर्ने र वितरण गर्ने जिम्मेवारी मैले नै पाएको थिएँ । समाजमा स्थापित व्यक्तित्वहरूको उपस्थिति र क्रियाशीलतामा शतवार्षिकी कार्यक्रम मनाउन आरम्भ गरिएको थियो । आरम्भमै म आफैँले शतवार्षिकी भव्य रूपमा सम्पन्न गराउने उद्देश्यले नौलो बिहानीलाई शतवार्षिकी विशेषाङ्कका रूपमा प्रकाशित गरेको थिएँ– पेरिस कम्युनदेखि एकीकृत जनक्रान्तिसम्म शीर्षक दिएर । नेकपाको आठौँ महाधिवेशनमा थबाङमा उक्त विशेषाङ्कले राम्रो परिचर्चा र स्थान पाएको थियो । त्यसमा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, चारुदेखि विप्लव, धर्मेन्द्र बास्तोला, कृष्णदास श्रेष्ठ, मोहनविक्रम सिंहसम्मका रचना समेटिएका थिए ।

त्यसपछि अक्टाबेर २५ मै नेकपाले काठमाडौँमा भव्य सभा आयोजना गरी अक्टोबर क्रान्तिको शतवार्षिकी मनायो । देशभरबाट दसौँ हजार नेता, कार्यकर्ता र जनता सहभागी उक्त कार्यक्रमले नेपालमा मालेमावादीहरू अर्को शिराबाट क्रान्तिको झन्डा बोकेर उठिरहेका छन् भन्ने सन्देश दिएको थियो ।

पार्टीको केन्द्रीय प्रकाशन रातो खबर साप्ताहिकले अक्टोबर क्रान्तिको शतवार्षिकीलाई विशेष स्थान दिएर मुख्य समाचार, लेख र सम्पादकीय नै प्रकाशन गरेको थियो ।

महान् अक्टोबर क्रान्तिको शतवार्षिकी नागरिक स्तरसम्म मनाइएको थियो । गीतकार शरद पौडेल, मुरारि न्यौपाने, स्वनाम साथीलगायतको पहलमा काठमाडौँमा एक भव्य गोष्ठी आयोजना गरी एक वर्षसम्म अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउने कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रममा नागरिक समाजको नामबाट एउटा महत्वपूर्ण पर्चा पनि प्रकाशित भएको थियो । आफूलाई माक्र्सवादी–लेनिनवादी वा कम्युनिस्ट हौँ भन्ने पार्टीहरूलाई अक्टोबर क्रान्तिको मूल स्पिरिट स्वीकार गर्न लगाउन नागरिक समाजले एउटा प्रतिबद्धतापत्र पनि तयार पारेको थियो ।

त्यसै सिलसिलामा मैले अक्टोबर क्रान्तिको शतवार्षिकी समारोहमा रुसबाट आयोजकले निम्ता पठाएको र जाने तयारी गरेको सूचना पार्टीसमक्ष दिएको थिएँ । पार्टीले पनि कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको थियो । विशेषगरी तत्कालीन पार्टी स्थायी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरोइन्चार्ज कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पार्टीको सञ्चार ब्युरो प्रमुख, म आबद्ध मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, नेपाल–रुस लेखक÷पत्रकार मञ्चलगायत सम्बन्धित निकायको स्वीकृति र सन्देशसमेत लिएर म रुसतर्फ लागेको थिएँ । नागरिक समाजका अगुवा शरद पौडेलसँग टेलिफोनमा भएको वार्ताअनुसार त्यो पर्चा रुससम पु¥याउने जिम्मा मैले लिएको थिएँ ।

यही सन्देश र प्रतिबद्धतासहित हामी पुगेका थियौँ रुसको मस्को र लेनिनग्रादमा । लेनिनले विद्रोहको शङ्खघोष गरेको मैदानबाट आरम्भ गरेका थियौँ हामीले लेनिनग्रादको भ्रमण र अवलोकन । सुरुमा लेनिनको सालिक राखिएको यो मैदानको बीचमा यतिबेला अर्कै प्रतीकचिह्न राखिएको थियो । अरू के देखिरहेका थिए कुन्नि, म भने यो स्तम्भमा पनि कमरेड लेनिन र कमरेड स्टालिनकै सालिक रहेको अनुभूति गरिरहेको थिएँ । सायद प्रतिक्रान्तिकारी ख्रुस्चेब र उसका ब्रेजनेभ, एल्तसिन, गोर्वाचोभ, पुटिनलगायत पुँजीवादी चेलाहरूले लेनिनग्रादको यो मुख्य चोकबाट लेनिनको सालिक हटाएका थिए जसरी उनीहरू स्टालिनग्रादबाट स्टालिनको सालिक हटाएका थिए । साम्राज्यवादका पिछलग्गुहरूले चोकहरूबाट लेनिन र स्टालिनका सालिकहरू हटाएका भए पनि, सहरको नाउँ लेनिनग्राद र स्टालिनग्रादलाई अरू नै नाम परिवर्तन गरे पनि संसारभरका श्रमजीवी, शोषित र उत्पीडितहरूको मानसपटल र हृदयका पानाहरूमा सजिएको लेनिन–स्टालिनका योगदान र विचारहरू ढाल्न, फाल्न र फेर्न सकेका थिएनन् । त्यसैले त भेला भएका थियौँ हामी लेनिन र स्टालिनका अनुयायीहरू । माक्र्सवाद–लेनिनवाद–माओवादलाई प्रथप्रदर्शक सिद्धान्त मान्नेहरू ।

स्रोत : रातो खबर र नौलो बिहानी मासिक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :