वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

हामीले वर्ण–विभेद र वर्ण–व्यवस्थासम्बन्धी ऐतिहासिक अध्ययन गर्नुपर्ने हो । त्यो गर्न पाइएको त छैन । हामीले उही पुरानै कुरा भनिरहेका छौँ । हामीले यो वर्ण–विभेदलाई वर्ग–विभेदसँग गाँस्नुपर्ने हो । त्यसलाई अझै ढङ्ग पुर्याएर गाँस्न सकिरहेका छैनौँ । हामीलाई समयको अभाव छ तर समय हुँदा पनि हामी त्यत्तिकै बसिराख्ने, जब समय आउँछ अनि काम गर्ने, त्यो बेला हतारपतार गर्ने बानी छ । हामीले यहीँबाट अभ्यास सुरु गर्नुपर्दछ । हाम्रो आदतको सत्ता कस्तो छ भने धेरै लामो समयसम्म हामी चुपचाप लागिरहेका हुन्छौँ । सम्मेलन आउने बेला हाम्रो कार्यपत्र तयार पार्दछौँ जसले गर्दा हामी धेरै पछि परेका हुन्छौँ । त्यसैले कुनै पनि बैठक सुरु हुनुभन्दा पहिले नै गृहकार्य गरिरहेको हुनुपर्दछ । यसलाई परिर्माजन गर्ने काम भेला–सम्मेलन र महाधिवेशनले गर्ने गर्दछ । त्यसो भएको हुनाले पहिलो कुरा हामीले यहीँनेर आत्मालोचना गर्नुपर्दछ । हामी सबैले यो प्रक्रियामा जानुपर्दछ । हामीले पदावली प्रयोग गर्दा के पर्दछ भन्ने कुरामा अलि अध्ययन गर्नुपर्दछ । नत्र जे मन लाग्यो त्यही गरियो भने त्यसले ऐतिहासिक महत्व नराख्न सक्छ । अथवा हामीले बोल्ने विषयहरूलाई पदावलीलाई ठीक ढङ्गले प्रयोग गर्न सकेनौँ भने सही जबाफ दिन सक्दैनौँ । यहाँ हामीले अहिले भन्नुपर्ने कुरा के छ भने वस्तुगत परिस्थितिको विश्लेषण गर्ने कुरा हो । आजसम्म परिस्थिति कस्तो छ भने दलित आन्दोलन विभिन्न पार्टीहरूमा विभाजित भएको छ । यो स्वाभाविक प्रक्रिया हो । यो वर्गविभाजित समाजमा स्वाभाविक प्रक्रिया हो । समाजमा विभिन्न वर्गहरू हुन्छन् । ती वर्गहरूको नेतृत्व गर्ने विभिन्न पार्टीहरू हुन्छन् र ती पार्टीहरूमा स्वतः विभाजन हुन्छ । यहाँ विभिन्न खालका पार्टी छन् र त्यहाँ विभिन्न खालका सङ्गठनहरू छन् । यहाँ विभिन्नखालका छरिएर रहेका क्रान्तिकारी पार्टीहरू छन् । यिनीहरू छरिएर बस्ने कि एक भएर जाने भन्ने कुरा पनि एउटा विषय छ । ती पार्टीहरूका मानिसहरू फेरि कसरी साम्राज्यवादीहरूको जुठोपुरो खान सकिन्छ भन्ने अवस्थामा पनि पुगेका छन् । एनजीओ÷आईएनजीओमा पुग्ने र कसरी पैसा खाने भन्नेतर्फ पनि मानिसहरूको ध्यान छ । यो आजको समस्या हो । यसलाई कसरी हल गर्ने भन्ने विषय हो ।

पहिलो कुरा त पुँजीवादी पार्टीमा दलित वर्ग किन जान्छ भन्ने कुरा हो । आज नेपाली काङ्ग्रेस राष्ट्रिय पुँजीपति पनि होइन, दलाल पुँजीपति वर्गको पार्टी हो । त्यहाँ किन गइरहेका छन् त दलितहरू ? यो मोर्चाले जुन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो पुगिरहेको छैन । आज साम्राज्यवादीहरूको पैसाको बाढी चलिरहेका कारण पनि कैयौँ मानिसहरूलाई बचाउन सकिएको छैन । इतिहासको सर्वहारा वर्ग दलित वर्ग हो । खास कुरा के हो भने सर्वहारा वर्गको पार्टीमा लागेर मानिसहरूको रोजीरोटीको समस्या समाधान भएको छैन । त्यसकारण मानिसहरू त्यहाँ गइरहेका छन् । यो समस्याको मोटामोटी हल के हो भन्न सक्छौँ भने वर्गसङ्घर्षमा लागेपछि यसको हल हुन्छ भन्ने उत्तर दिन सक्छौँ । यसका साथसाथै हाम्राअगाडि के समस्या छ भने ठूला विद्वान्हरू पनि एनजीओ÷आईएनजीओमा लागेका छन् किनभने आज दलितहरूका लागि भनेर तालिम चलिरहेका हुन्छन् र त्यहाँ साम्राज्यवादीहरू बसिरहेका हुन्छन् । उत्पीडित वर्ग र क्षेत्रमा साम्राज्यवादीहरू बसिरहेका हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्दछ । हामी पनि त्यहाँ कतै भुलिरहेका छौँ भने त्यो गलत गरिरहेका हुन्छौँ । हामीले सचेत ढङ्गले बुझ्न जरुरी छ र यसको विकल्प खोज्न जरुरी छ । त्यो विकल्प के हुन्छ भने त्यो वर्गसङ्घर्ष हो । वर्गसङ्घर्ष गर्ने भनेको विध्वंस मात्र होइन, रचना गर्ने पनि हो । आज देशैभरि दलितहरूको अवस्था निकै दयनीय छ । झन् सीमा क्षेत्रका दलित र मुसहरहरू उत्पीडित छन् । उनीहरूलाई उत्पीडनबाट मुक्त गर्नका लागि वर्गसङ्घर्षको कुरा बुझाउनुपर्छ । सामन्तका ठूलाठुला जमिन र महल कब्जा गरेर हामीले दलित र उत्पीडितहरूको व्यवस्था गर्न सक्नुपर्दछ । हामीले उत्पीडित वर्गका समस्याहरूको हल गर्न अरू कुनै तरिका छैन ।

आज तराईका चमार, दलित, मुसहरहरू जसलाई उठाए पनि चुनावमा जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न छ किनकि त्यहाँ दिनेश त्रिपाठी, राजेन्द्र महतो र हृदयेश त्रिपाठीहरू, अमरेशहरूजस्ता सामन्तहरू छन् भने अब अरूले कसरी चुनाव जित्न सक्छन् ? यहाँ पहडमा हे¥यौँ भने पनि यस्तै छ । दलाल पुँजीवाद भनेको यो ऐँजेरु पुँजीवाद हो । ऐँजेरु पुँजीवादको जरो स्वदेशमा हुँदैन । राष्ट्रिय पुँजी र दलाल पुँजीमा फरक के छ भने राष्ट्रिय पुँजीका जराहरू देशमा हुन्छन् । राष्ट्रिय पुँजीले आफ्नो देशमा उद्योगधन्दा सञ्चालन गर्दछ । नेपालमा आज कुनै पनि राष्ट्रिय पुँजीपतिहरू छैनन् । भए पनि निकै कम छन् । २०४६।४७ सालको आन्दोलनबाट नेपाली काङ्ग्रेसको सरकार आयो र कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनेबित्तिकै उद्योगहरू बेचे । वीरगन्जमा सोभियत सङ्घले बनाइदिएको औजार कारखाना बेचियो । चिनी कारखाना, जनकपुर चुरोट कारखाना, बुटवलमा धागो कारखाना, हेटाैँडामा कपडा कारखाना, काठमाडौँमा बाँसबारी छालाजुत्ता कारखाना थिए । ती सबै कारखानामा हजारौँ मजदुरले काम पाएका थिए । सबै कारखानाहरू बेचेर खाएका छन् र तिनका मेसिनहरू कानपुर पुर्याइएको छ । ती सबै कारखानाहरू रहेका भए र व्यवस्थित र विकास भएर गएको भए ६९ लाख मजदुरले विदेश जानुपर्ने थिएन । पौने ३ करोडमध्ये ६९ लाख नेपालीले विदेश जानैपर्ने बाध्यता आउने थिएन ।

आजका स्वास्थ्यसेवा र स्कुलहरू हेर्नुहोस् । क श्रेणीका विद्यार्थीलाई विदेशमा बेचिरहेका छन् । वीर अस्पताल र शिक्षण अस्पताल देखाउने दाँत मात्र हुन् । त्यहाँ सबै डाक्टरहरू निजी अस्पतालमा बिक्री भएका छन् । त्यहाँ सबभन्दा पीडित दलित र उत्पीडित समुदायका छन् किनकि उनीहरूसँग न पैसा हुन्छ, न त पहुँच हुन्छ । यसो किन हुन्छ भन्ने कुरा पत्ता लगाउनुपर्दछ । यो समस्याको मूल जरो कहाँ जोडिएको छ भन्ने कुरा पत्ता लगाउनुपर्दछ । यसको मूल कारण कहाँ छ र यसको कुन जरो काटेपछि यो ढल्छ भन्ने कुरा पत्ता लगाउनुपर्दछ । काठमाडौँको वरिपरि अथवा चितवनको माथितिरका गाउँहरूसम्म क्रिस्चियनहरू पुगेका छन् । दलितहरू र महिलाहरूलाई धर्ममा बेचिरहेका छन् । त्यहाँका दलित र चेपाङहरूलाई शनिबार चर्चमा गएर कोकाकोला बाँड्छन् किनकि त्यहाँ त दलालहरूको फ्याक्ट्रीहरूको माल बेच्नुपरेको छ । त्यहाँ आफ्नो सामान पनि बिक्री हुन्छ, आफ्नो उद्देश्य पनि पूरा हुन्छ । दलित बस्तीहरूमा चर्च बनाइन्छ तर स्कुल बनाइँदैन । विवशतामा बाँचिरहेका सोझासीधा महिला र दलितहरूलाई प्रभावित गरिन्छ । आफ्नो उद्देश्य पूरा गरिन्छ । यो विवशताबाट मुक्ति प्राप्त गर्न पहिलो कुरा त ज्ञान चाहिन्छ किनभने माक्र्सवादले धर्म भनेको अफिम हो भनेर उहिल्यै भनेको हो । १९४४ मै माक्र्सले धर्म भनेको निसहायहरूको सुस्केरा हो भन्नुभएको थियो । कतैबाट सहयोग पाएन भने उसले हे भगवान् भन्छ । यो भनेको उसले केही नपाएपछि रहस्यमय सहारा खोजेको कुरा हो । धर्म भनेको लाग्यो भने गहिरो गरी लाग्छ । मान्छे बिरामी हुन्छ । घरमा ढुङ्गा राखेर पूजा गर्दछ । यो कुरा गाउँमा मात्र होइन, सहरमा पनि छ । एउटा कम्युनिस्ट विचारबाट शिक्षित मनमोहन अधिकारीजस्तो मान्छे नेपालको प्रधानमन्त्री भए तर प्रधानमन्त्री भएको भोलिपल्ट दक्षिणकालीमा गएर कालो बोेको काटे । जो मान्छे आफैँ मुक्त भएको छैन भने उसले अरूलाई कसरी मुक्ति दिन्छ ? तपाईं व्यक्तिगत लोभलालचबाट मुक्त हुनुभएको छैन भने अरूलाई मुक्ति दिन सक्नुहुन्न । लामो समयसम्म जेल बसेका, २०२८ सालमा धर्मप्रसाद ढकाल र कर्णबहादुर गौतमहरूको टाउको काटेर आएका केपी ओली त अहिले आएर पशुपतिमा जलहरी लगाउन थाले । यो किसिमको विश्वास यति ठूला भौतिकवादी नेताले गरेका छन् भने जनताले कसरी गर्न सक्छन् ? पार्टीको पार्टी स्कुल विभाग प्र

मुख हुन्छ तर बाउको मृत्युमा सेतो वस्त्र लगाएर, कपाल मुण्डन गरेर गरुड पुराण पढाउँछन् । बरु सामान्य कार्यकर्ताले श्रद्धाञ्जली गर्दछन् तर नेताहरू गरुड पुराण लगाउँछन् ।

भर्खरै हाम्रो पार्टीका कमरेड रोजनले आमाको निधनपछि परम्परागत संस्कारमा विद्रोह गर्दै श्रद्धाञ्जली गर्नुभयो । यो कुरा अरूले बिस्तारै सिक्दै जान्छन् । म पनि मेरी आमाको एउटा छोरो हुँ । मैले पनि आमाको किरिया नगरी श्रद्धाञ्जली गरेँ । दुईचारजनाले त विरोध गरेका थिए तर मैले अलि हस्तक्षेप गरेको थिएँ । पछि आएर त्यहाँ १३ दिनको सट्टा ५ दिनमा गर्न थाले । यो हामीले नै सुरु गर्ने हो । विडम्बना के छ भने हाम्रो पार्टीका कतिपय नेताहरू समेत रातो टीका नलगाउने हुन्छन् । अब पार्टीका नेताहरू नै रातो टीका नलगाउने हो भन्छन् भने समाजवाद कहिले आउँछ र साम्यवाद कहिले आउँछ ? सुरुवात आफैँबाट गर्ने हो । समय जटिल छ र प्रतिबन्ध छ भनेर पुष्पलालले पार्टी नखोलेको भए आज नेपालमा कम्युनिस्ट पार्टी सम्भव थियो ? थिएन नि । मैले जबर्जस्ती दलितलाई घरमा प्रवेश गराएको थिएँ तर आज दलितहरू मेरो घरमा सहजै प्रवेश गर्दछन् । वृद्ध बाआमाहरू पनि परिवर्तन हुनुभयो । हामीले पहिले सङ्गठन बनाउनुपर्यो । लेबी उठाउनुपर्यो एमालेहरूले महिनामा ४ करोड पैसा उठाउँछन् । त्यो पार्टी सङ्गठनमा नियम बनाउनुपर्यो । त्यसकारण हाम्रो तरिका, जनताको तरिका हुनुपर्दछ । चरीको, घैँटेको तरिकाले पार्टी सङ्गठनहरू चल्दैनन् । हामीलाई अघि बढ्न दिँदैनन् । अवरोध गर्ने कोसिस गर्दछन् । त्यसकारण हामीलाई सही सङ्गठन चाहिन्छ ।

हामीले आदतको सत्ताका विरुद्ध लड्न जरुरी छ । दलितमाथि हेर्ने दृष्टिकोण पनि पुरानो हुन्छ । यसलाई हेप्ने, कहीँ न कहीँ हेपिहाल्ने प्रवृत्ति हुन्छ । दलित समुदायको पनि मनमा हीनताबोध गर्ने बानी हुन्छ । यसका विरुद्ध लड्न आवश्यक छ । यो सबै समस्याको समाधानका लागि हामीले एउटा कार्यक्रम बनाएका छौँ । हामीले अहिले जनवादी कार्यभारसहितको वैज्ञानिक समाजवाद भनेका छाैँ । हाम्रो अहिलेको राजनीतिक–सामाजिक–सांस्कृतिक र अर्थशास्त्रीय अवस्था के हो भन्ने कुरा बुझ्न जरुरी छ । हामीले २००६ सालदेखि अहिलेसम्म भन्दै आएको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भनेर हुँदैन । नेपालमा राजतन्त्र अन्त्य भएको छ । बुर्जुवा गणतन्त्र स्थापना भएको छ । यहाँ दरबार अथवा सामन्तवादको नायक एउटा शक्तिका रूपमा छैन । नेपालमा हाम्रा दुस्मनहरू तीन प्रकारका छन् ः दलाल पुँजीवादी वर्ग एउटा दुस्मन हो । दोस्रो, नोकरशाही पुँजीवाद र तेस्रो सामन्तवाद हाम्रा दुस्मन हुन् । यी तीनवटा नेपाली क्रान्तिका दुस्मन हुन् । दलित मुक्तिका लागि यी तीनखाले दुस्मनको अन्त्य हुनु आवश्यक छ । दलाल पुँजीपति भनेका विनोद चौधरी, जीवा लामिछाने, अजय सुमार्गी, पशुपतिशमशेर जबरा, उपेन्द्र महतो, आदित्य झाहरू हुन् । यिनीहरूको हातमा ४० प्रतिशत जनताको २६ गुणा बढी सम्पत्ति छ । यिनीहरू अर्बपति– खर्बपतिहरू हुन् । यिनीहरूले ठूलो शोषण गरिरहेका छन् । यिनीहरूले नेपालमा उद्योगधन्दाहरू खोल्दैनन् । एनसेलले नेपालमा करोडौँ रकम असुलिरहेको छ । नेपालमा ५० लाखले एनसेलको सिम चलाए भने पनि दिनमै करोडौँ रकम खर्च हुन्छ । १४४ अर्ब त्यसले सरकारलाई अर्ब तिर्नु छ । तिर्दैन र बरु सबै रकम विदेश लैजान्छ । यसको जरा नेपालमा छैन । यो विदेशी ऐँजेरु हो । ऐँजेरुले यहाँको रैथाने रूखमा बसेर यहाँको रूख नै सुकाइदिन्छ । अब नोकरशाही वर्ग भनेको कर्मचारीतन्त्र हो । सीडीओभन्दा माथिका पनि भनाैँ । हुनत गाउँमा सचिवहरूले समेत भ्रष्टाचार गरेर काठमाडौँमा घर हाल्ने गरेका छन् । तिनीहरूको सवै सम्पत्ति दलाल पुँजीपति वर्गले लगानी गरिदिएको हुन्छ । नोकरशाही पुँजीपति हो । दलालहरूले उनीहरूको पुँजी सञ्चालन गरिरहेका हुन्छन् । ठूलाठूला रियल स्टेटका मालिक पनि दलाल पुँजीपतिहरू हुन्छन् । हामी दलित, उत्पीडित वर्ग यिनीहरूको मारमा परेका हुन्छाैँ । हामी दलित हुनुको कारण नै यही पुँजीपति वर्ग हो ।

सबै जातिहरू एकै ठाउँबाट, दक्षिणतिरबाट आएका हुन् । यिनीहरू प्रविधिका आविष्कारकहरू हुन् । अहिले विज्ञान प्रविधिमा जुन आविष्कार भएको छ यो विज्ञान प्रविधिका आविष्कारकहरू उनीहरू हुन् । उनीहरूका हातमा उत्पादनका साधन भएनन् । उनीहरूका हातमा पुँजी नभएपछि यो ऐतिहासिक सर्वहारा वर्ग हो । यसकारण दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र सामन्तवादका विरुद्ध लड्न आवश्यक छ । अब हाम्रा मित्रहरू को हुन् त ? हामीकहाँ देशभित्र १८ लाख मजदुर छन् । देशबाहिर कमाउन गएका ६९ लाख मजदुर छन् । यो सङ्ख्या नेपालको जनसङ्ख्याको ३० प्रतिशत हो । नेपालको यो तीस प्रतिशत जनसङ्ख्या हाम्रो मित्रशक्ति हो । त्यसमा किसानहरू पनि छन् । आजको जमानामा हलो जोत्ने मात्र नभएर ट्याक्टर जोत्ने र ठूलाठूला भैँसी फारम चलाउनेलाई पनि किसान भनेर बुझ्नुपर्दछ । अन्डा उत्पादन गर्ने, माछा पाल्ने, तरकारी उत्पादन गर्नेहरू सबै हाम्रा मित्रहरू हुन् । अर्को कुरा नेपालमा सानो जागिरमा रहेका सिपाईहरू पनि हुन् । उनीहरू पनि त्यहाँका उत्पीडित वर्ग हुन् । सिपाहीहरूको वर्ग पनि छ । अर्कोतिर राष्ट्रिय पुँजीपति वर्ग पनि छ । देशमा ५१ प्रतिशत रकम खर्च गरेको छ भने त्यसलाई राष्ट्रिय पुँजीपति वर्ग भनिन्छ । उनीहरूले उत्पादन गरेको माल यहाँ वितरण हुन्छ ।

जनयुद्धको समयपछि शान्तिप्रक्रियाको समयमा हाम्रो देशका कलाकारहरू हाम्रा पक्षमा आए । नीर शाह, मौसमी मल्लहरू हामीकहाँ आए किनकि उनीहरूलाई हिन्दी फिल्मले हैरान पारेको थियो । सिनेमा हलहरूमा तिनका फिल्म नचलेर हिन्दीले हैरान पारेको अवस्था थियो । त्यसबेला नेपालका सबै चलचित्र उद्योग उठेर आएको थियो । जनयुद्धको मूल नेतृत्वको बुद्धि बिग्रिएका कारण उनीहरू सबै उतै फर्किए ।

नेपालको राजनीतिक स्थिति कस्तो छ त भन्दा यो नवऔपनिवेशिक खालको छ । नेपालको राष्ट्रिय अवस्था यस्तो किन भयो त भन्दा नेपालमा अमेरिका वा भारत कसैले पनि सीधै सेना ल्याएर चलाएको अवस्था छैन । अरू देशजस्तो अवस्था छैन । यहाँ राजनीतिक, सांस्कृतिक, आर्थिक रूपले सेना ल्याएको छ, जस्तो : एमसिसी यसको एउटा उदाहरण हो । नेपालमा एमसीसीको कानुन र नेपालको संविधान बाझिएमा कुन लागू गर्ने भन्दा एमसीसीको कानुन भन्ने छ । त्यो नयाँ खालको, नवऔपनिवेशिक अवस्था हो भनेका छौँ । नवऔपनिवेशिक भएको हुनाले र यो पुँजीवादतिर उन्मुख बजार भएको हुनाले उत्पादन विकेन्द्रित र वितरण केन्द्रीकृत छ, जस्तो : भाटभटेनी । यहाँ मध्यम वर्ग झुम्मिएको छ । त्यसकारण आज कस्तो भयो त भन्दा समग्र चीजलाई हेर्दा हामी नयाँ ठाउँमा, नवऔपनिवेशिक अवस्थामा छौँ । यसो हुनुको अर्थ दलाल पुँजीवादलाई हटाएर पुँजीवादको विकास पनि गर्नुपर्ने र समाजवादको विकास पनि गर्नुपर्ने छ । आज हामीले नयााँ जनवाद मात्र भनेर हुँदैन । जनवादी क्रािन्तको कार्यभारसहितको वैज्ञानिक समाजवाद भन्न जरुरी छ । सबै समाजवादी छौँ । सबै चुनावमा गएपछि समाजवादीहरूले निल्छन् र वैज्ञानिक समाजवाद आउँछ भनेर विप्लवहरुले यस्तो कुतर्क गरेका छन् । उनीहरुको शान्तिपूर्ण तरिकाले समाजवाद आउँछ भन्ने कुरा काल्पनिक तरिका हो र यसलाई हामीले पेटीबुर्जुवा रोमान्टिसिज्म भनेका छौँ । अथवा निम्नपुँजीवादी स्वच्छन्दतावाद अथवा कल्पनावाद भनेका छाैँ । त्यसो भएको हुनाले हामीले नेपालमा गर्ने क्रान्तिको नाम भनेको वैज्ञानिक समाजवादी क्रान्ति हो । वैज्ञानिक समाजवादी क्रान्तिअन्तर्गत नै नयाँ जनवादी क्रान्तिको चरण पर्दछ । हामीले यसो गर्नका लागि हामीलाई सशक्त सङ्गठन चाहिन्छ । पुरानोखाले होइन नयाँखाले जनयुद्ध चाहिन्छ । रुसमा लेनिनले विकास गर्नुभएको सशस्त्र विद्रोह र चीनमा माओले विकास गर्नुभएको दीर्घकालीन जनयुद्ध दुईटैको समायोजन गरेर जानुपर्ने आवश्यकता छ । हाम्रोजस्ता अविकसित देशहरूमा दीर्घकालीन जनयुद्धलाई प्रधान बनाउने र सशस्त्र विद्रोहलाई समायोजन गर्नुपर्दछ । अमेरिकामा क्रान्ति गर्नुपरेमा त्यहाँ सशस्त्र विद्रोह प्रधान हुन्छ । यहाँ मनोवैज्ञानिक युद्ध (साइक्लोजिकल वार) पनि आवश्यक हुन्छ । हामीलाई सांस्कृतिक युद्ध (कल्चरल वार), सबैखाले युद्धका स्वरूप चाहिन्छ । त्यसकारण हाम्रो जनयुद्ध कस्तो हुन्छ त भन्दा पहिले शान्तिपूर्ण तरिकाले वर्गसङ्घर्ष गर्दछौँ । त्यसलाई हामी जनसङ्घर्ष भन्दछौँ । जब जनसङ्घर्ष बढ्दै जान्छ, दमनको प्रतिरोध गर्दै हामी जनप्रतिरोधमा जान्छौँ । जनप्रतिरोध बढ्दै गएपछि त्यसलाई छलाङ लगाउँछौँ र हामी जनविद्रोहमा जान्छौँ । त्यसकारण जनयुद्धको प्रक्रिया भनेको जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोह हुन्छ । त्यसरी हामी समाजवाद ल्याउँछौँ । यसो गर्न सर्वहारा वर्ग सुयोग्य हुनका लागि, समाजवादमा पुग्नका लागि राजनीतिक अभ्यास आवश्यक छ । त्यसकारण हामीले स्वाधीन संयुक्त सरकार भनेका छौँ । किनभने अहिलेको सरकार पराधीन छ । त्यसकारण स्वाधीन संयुक्त सरकार आवश्यक छ । स्वाधीन संयुक्त सरकार भएको खण्डमा सहरमा आएका मुद्दाहरूलाई हाम्रो सत्ताद्वारा हल गर्दछाँै । गाउँमा पनि सत्ता स्थापना हुन्छ । यो प्रक्रियाले हामीलाई समाजवादमा लैजान्छ । समाजवाद स्थापना गर्नका लागि राजनीतिक स्थिरता हुनुपर्दछ । संसदीय व्यवस्थाको अन्त्य हुनुपर्दछ । स्वाधीन संयुक्त सरकार गठन भएको हुनुपर्दछ । त्यहाँ राजनीतिक स्थिरता हुनुपर्दछ । सामाजिक रूपान्तरण हुँदै जानुपर्दछ । त्यहाँ शान्ति पनि हुनुपर्दछ । समृद्धि पनि हुनुपर्दछ । स्वाधीन बनाउने भनेको देशलाई सार्वभौमसत्ता सम्पन्न बनाउने कुरा हो । त्यसका साथै जातीयताहरूका भेदभादहरू र उत्पीडनलाई अन्त्य गर्नुपर्दछ । राष्ट्रियताहरूलाई स्वतन्त्रता दिनुपर्दछ । स्वाधीन संयुक्त सरकार भनेको यही हो । यही उद्देश्यअनुसार दलित समुदायको उत्पीडनको अन्त्यका लागि यो सबै उत्पीडन अन्त्य हुन आवश्यक छ । दलितभित्र पनि अर्को उत्पीडन राखेर दलित उत्पीडन अन्त्य हुँदैन । आफैँभित्रको उत्पीडन पनि अन्त्य गर्दै जानुपर्दछ । दलित मुक्ति भनेको आधारभूत मुक्ति हो । यो वर्णविभेदको अन्त्यलाई वर्गविभेदको अन्त्यसँग गाँस्न जरुरी छ । यो आन्दोलन सँगसँगै चलाएर मात्र मात्र हाम्रो मुक्ति सम्भव छ । सबभन्दा उत्पीडित वर्गलाई नै महत्व दिएर कम्युनिस्ट पार्टी अघि बढ्न जरुरी छ । यो समुदायको मुक्तिको दायित्व बोकेर अघि बढ्नुपर्दछ ।

(नेकपा बहुमतका प्रवक्ता सुदर्शनले पार्टी निकट दलित राष्ट्रिय मुक्ति मोर्चाको विशेष राष्ट्रिय भेलामा व्यक्त गरेको मन्तव्यको सारसङ्क्षेप ।)

प्रतिक्रिया दिनुहोस्