त्यसैले मुर्ख बनाउछौ

कविता

त्यसैले मुर्ख बनाउछौ

मिथ्या सहानुभूति देखाएर
तर्साउँछौँ
सुनिदिएको छु
त्यसैले मूर्ख बनाउँछौ
गरेकै छौ भरण पोषण
पालेका छौ नन्दी–भृङ्गी
आफ्ना आसेपासे
हाम्रो बाध्यताको ओझेलमा ।

ठडिएका छन् तिम्रा महल
हाम्रै खून र पसिनाको
थोपा–थोपाले
मलाई चाहिँदा नचिनेझैँ गर्छाै
समाजवादको नाराभित्र
लुकेको छ पुँजीवाद
पत्तै भएन फेरिएको वर्ग
तर पनि
हाम्रै पछि लुक्न आउँछौ ।

कसको भविष्य सपार्न लागेका छौ
कसको इशारामा हिँडेका छौ
जल, जमिन र ढुकुटी दोहन गर्न
झुक्याउँछौ
थर्काउँछौ
हाम्रो श्रम शोषण गर्न
फकाउँछौ पनि
फेरि मलीन भएर ।

कति बर्बराउँछौ
निम्न–वर्ग मुक्तिको
समाजवादको मिथ्या नारा
कति लगाउँछौ
पुँजीवादी झोला बोकेर
कति छल्छौ
आफ्नै अन्तरहृदयलाई
कति उठाएझैँ गर्छाै
मुखुण्डोभित्रको अनुहार छोपेर
रातो झन्डा र निम्न–वर्गको आवाज !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :