दलित मुक्ति आन्दोलनको अबको कार्यभार

दलित मुक्ति आन्दोलनको अबको कार्यभार

आज हामी राष्ट्रिय दलित मुक्ति मोर्चाको विशेष केन्द्रीय भेला गरिरहेका छौँ । यो विशेष महत्वको कार्यक्रम हो । हामीले हाम्रो पार्टीलाई केन्द्रदेखि नै पुनर्गठन गर्दै आइरहेका छौँ । विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरूका केन्द्रीय भेलाहरू क्रमशः भैरहेका छन् । यो पुनर्गठन अभियान विगत दस वर्षसम्म सञ्चालित र अधुरो छोडिएको मुक्ति आन्दोलनको पुनर्गठन पनि हो । यो बेला दलित मुक्ति आन्दोलनको अबको कार्यभारलाई कसरी सम्बोधन गर्ने ? भन्ने विषय अलि दूरगामी र विशेष महत्वको रहेको छ । हाम्रो जस्तो समाजमा एकातिर छुवाछूतजस्तो अत्यन्तै अमानवीय तथा जघन्य आपराधिक प्रथाको अन्त्य गर्नु छ भने अर्कोतिर यो अन्त्यको विषय भनेको राज्यसत्तासँग जोडिएको सवाल भएकाले यसखाले प्रथाको संरक्षकका रूपमा रहेको प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य आवश्यक छ । कस्तो विडम्बना भयो भने हिजो यही कुप्रथाका विरुद्धमा सँगसँगै लडेका साथीहरू नै अहिले सत्ता र सरकारमा सहभागी भएका छन् । तर शोषण र अपराधको कुनै कमी भएको छैन ।

छुवाछूतजस्तो बर्बरता र अन्य विविध उत्पीडनहरूलाई टिकाइराखेको वर्तमान पुँजीवादी राज्यसत्तासँग जोडिएका उत्पीडनका जन्जिरहरूलाई राज्यसत्ताको अन्त्यसँग मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने आधारभूत प्रस्तावनालाई बुझ्न जरुरी छ । यो निकै महत्वको विषय रहन गएको छ । त्यो मुक्ति अभियानलाई नेतृत्व प्रदान गर्नु अझ त कुशल नेतृत्वप्रदान गर्ने कुरा सामान्य छैन । वर्ग मुक्ति आन्दोलन र छुवाछूत मुक्ति आन्दोलनलाई सँगसँगै जोडेर लगेपछि मात्रै हामी मुक्त हुन सक्छौँ । यसर्थ छुवाछूतविरुद्धको आन्दोलनलाई छुवाछूत वा जातीय उत्पीडनविरुद्धको मात्रै कार्यक्रमका रूपमा भन्दा पनि यसलाई मूलतः वर्ग सङ्घर्ष र वर्ग मुक्ति आन्दोलनसँगै जोडेर लानु पर्दछ भन्ने कुरा अहिलेसम्मको हाम्रो अनुभव र माक्र्सवादी संश्लेषणहरूले सिकाएका छन् ।

समाज विकासको इतिहासलाई हेर्दाखेरि नेपाललगायत दक्षिणएसियामा मात्र छुवाछूतयुक्त सामाजिक वर्णाश्रमको व्यवस्था गरिएको छ । ऐतिहासिक दृष्टिकोणबाट हेर्दाखेरि मूलभूत रूपमा मानव समाजको विकासक्रममा जुन समुदाय, जुन कबिला युद्धमा पराजित भयो त्यो उत्पादनका साधनबाट वञ्चित हुदै आएको देखिन्छ, त्यो समुदाय नै नेपालमा आइपुग्दाखेरि दलितका रूपमा व्यवहार गरिएको स्पष्ट हुन्छ । आजसम्मको सामाजिक विकास प्रक्रियालाई हेर्दा युरोप सबैभन्दा अगाडि देखीन्छ । युरोपमा जुन खालको सामाजिक व्यवस्थाको स्थापना भयो युरोपबाट यता सर्दै आउँदाखेरि विभिन्न घटनाक्रम र शृङ्खलाहरू हुँदै भारत र नेपालसम्म त्यसका कैयौँ विशेषताहरू सँगसँगै आएको देखिन्छ । सामान्तवादको चरम विकास भएको ठाउँ युरोपमा सत्तासीनहरूबाट जुन पराजित तप्का थियो, त्यसलाई दासका रूपमा व्यहार गरिन्थ्यो । उसलाई जे पनि गर्न पाउने अमानवीय व्यवहार गरियो । जब दासप्रथाबाट सामन्तवादी युगमा सामजले प्रवेश गर्यो, दासका रूपमा मान्छेहरूलाई प्रयोग गर्नुभन्दा बढी उपयुक्त के भयो भन्दा दासहरूलाई श्रममा लगाउनु बढी उपयुक्त हुने देखियो । ती दासहरूलाई उनीहरूले जमिनका दास अर्थात् भूदासका रूपमा प्रयोग गरे । युरोपमा त्यो देखिन्छ ।

नेपाल र दक्षिणएसियामा हेर्दा केही फरक देखिन्छ । संसारभर सामन्तवाद जहाँजहाँ पूर्ण विकसित भएको छैन, युरोपको जस्तो सामन्तवादको विकास भएको छैन, त्यहाँको सामाजिक विकास केही फरक ढङ्गले अघि बढेको पाइन्छ । दक्षिणएशियामा त्यसको प्रसस्त प्रभाव देखिन्छ । नेपालमा त त्योभन्दा झन् कमजोर प्रकारको सामन्तवादको संरचना हामी देख्छौँ । त्यसले के गर्यो भने सत्ता र शक्तिमा रहेको तप्काले आफूसँग ‘टसल’ गर्ने तप्कालाई आफूभन्दा कमजोर बनाउनका लागि जातप्रथाको विकास गरेको देखिन्छ । विभिन्न समुदाय र व्यक्तिहरूलाई समेत जातबाट च्यूत गरेका उदाहरणहरू हाम्रो गाउँघरमा प्रसस्तै छन् ।

दक्षिणएसियाका पुराना ग्रन्थहरूमा समेत जातको व्यवस्था खासै देखिँदैन । रामायणकाल, महाभारतकालसम्म आउँदा पनि जातिहरूको विभाजन भएको देखिँदैन । सीमित मान्छेलाई मात्र शूद्र अर्थात् दलितका रूपमा परिभाषा गरिएको देखिन्छ, त्यो पनि पछिल्ला परिमार्जनहरूले हिन्दुवादी अवधारणाबाट जोडेको स्पष्ट नै छ । अन्यथा त्यो बेला मानिसहरूलाई जन्मको होइन, कर्मका आधारमा विभाजन गर्ने गरेको देखिन्छ । यसले के कुरा स्पष्ट गर्दछ भने जातीय विभाजन र छुवाछूतजस्तो मानवताविरोधी प्रथा निकै पछि मात्र विकासित गरिएको हो । शासकहरूबाट दमित र अपहेलित भएर उत्पादनका साधनहरू, त्यसमा पनि जमिनको स्वामित्वबाट वञ्चित भएको तप्का नै उत्पीडित वर्ग तथा नेपालमा हेर्दा उत्पीडित दलित समुदाय भएको बुझ्न सकिन्छ । त्यसकारण अबको दलित आन्दोलन उत्पादनका साधनहरूमाथि अधिकारको विषयतिर जोडेर जानुपर्छ । उत्पादनका साधनहरूमाथि दलित समुदायका प्रत्येक व्यक्तिहरूको अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ ? भन्ने विषय सबभन्दा बढी लिएर समाजमा जाने कुरा उपयुक्त देखिन्छ । हामीले तथ्यमा हेर्दा पनि कस्तो देखिन्छ भने दलित समुदाय नै आज सबैभन्दा ज्यादा उत्पादनका साधनबाट वञ्चित भएको समुदाय हो । हामीलाई थाहा छ नेपालमा उत्पादनको मुख्य साधन भनेको जमिन हो । दलित समुदायको ठूलो हिस्सासँग एक टुक्रा जमिन छैन । सार्वजनिक स्थलहरूमा अपहेलित भएर उनीहरूले बस्नु परिरहेको छ । अधिकांशको घरबाससमेत छैन । विशेषगरी उत्पादनको साधन अर्थात् जमिनमाथिको अधिकार सुनिश्चितताको विषयलाई लिएर दलित आन्दोलन सिर्जना गर्नु जरुरी छ । यो सुनिश्चितता राज्यबाट मात्र सम्भव छ । सामान्य आन्दोलनबाट यो समस्याको समाधान सम्भव छैन । यो राज्यको दायित्व पनि हो । यसकारण हामीले के कुरा बुझ्नु पर्दछ भने छुवाछूत अन्त्यको आन्दोलनसँगै दलित समुदायका मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको आन्दोलनलाई पनि जोड्न जरुरी छ ।

दलित समुदायको वास्तविक पहिचान शिल्पी समुदाय रहेको देखिन आउँछ । ऐतिहासिक कालदेखि नै समाजमा शिल्पी समुदायको भूमिकाका बारेमा धेरै किंवदन्तीहरू छन् । तिनका ऐतिहासिक परम्पराहरू रहेका छन् । त्यसको गौरवपुर्ण इतिहास छ । त्यति हुँदाहुँदै पनि नेपालको सापेक्षतामा हिन्दु ब्राह्मणवादी संस्कृति र त्यसलाई टेको प्रदान गरेको राज्यप्रणालीले गर्दा त्यो समुदायमाथि चरम प्रकारको उत्पीडन गर्दै आइरहेको छ । यद्यपि त्यसका बिरुद्ध ऐतिहासिक कालदेखि नै निरन्तर लडाइँ जारी छ । फेरि पनि उत्पीडित वर्गको राज्यसत्ता प्राप्त नभएसम्म आफूलाई अगाडि वढाउनुपर्ने देखिन्छ । हामीले आफ्नै जीवनमा पनि त्यो कोसिस गर्यौँ । नेपालमा जनयुद्ध भनेको सबै प्रकारका उत्पीडनहरूबाट मुक्तिको अभियान थियो । जहाँ हामीले सबै प्रकारका जन्जिरहरूलाई तोडेका थियौँ । वास्तवमा जनयुद्धमा दलित, महिला आदि उत्पीडित समुदायमाथि आजको जस्तो अमानवीय व्यवहार गर्ने वातावरण थिएन, व्यक्तिगत रूपमा कसैको हिम्मत नै हुँदैनथ्यो । जनयुद्धमा हामीले जुन प्रकारको प्रयोग गर्यौँ त्यो अभियानलाई समग्र मुक्ति अभियानको कार्यभारका रूपमा फेरि जोडेर जानु आवश्यक छ ।

(नेकपा बहुमतका कार्यालय सदस्य दीपकले पार्टी निकट दलित राष्ट्रिय मुक्ति मोर्चाको विशेष राष्ट्रिय भेलामा व्यक्त गरेको मन्तव्यको सारांश ।)

प्रतिक्रिया दिनुहोस्