क्रान्तिकारीको कब्जामा स्पार्टाकसको बर्को

समय समीक्षा

क्रान्तिकारीको कब्जामा स्पार्टाकसको बर्को

नेपाल र नेपालीलाई लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय र समस्याले दुःख दिइरहेको छ । देशलाई सिक्किमीकरण र फिजीकरण गर्ने लेन्डुप दोर्जे र महेन्द्र चौधरीहरू शासनसत्तमा ढलिमली गरिरहेका कारण भक्ति थापा, भीमसेन थापा, अमरसिंह थापा र बलभद्र कुँवरहरूको नियति भीमदत्त पन्तको जस्तो हुँदैछ तर पनि आन्दोलन जारी छ । दलाल पुँजीवादी सत्तालाई त देश भाँडमै जाओस्, जनता भोकैतिर्खै मरून्, कुनै मतलब हुने कुरा भएन । राष्ट्रियताका सन्दर्भमा सडक र सामाजिक सञ्जालका भित्ता रङ्ग्याउने प्रगतिशील नाउँका स्रष्टाहरूलाई सत्ताको भातको मात लागेजस्तो देखिएको छ । विदेशी नागरिकलाई विभिन्न बहाना बनाएर नेपालको नागरिकता दिने र नेपालका असली नागरिकहरूचाहिँ नागरिकताविहीन बनिरहने राष्ट्रघाती विधेयक संसद्बाट पारित हुँदा पनि हिजो प्रतिपक्षमा हुँदा के–के न देशभक्त हुँजस्तो देखाएर प्रलाप गर्नेहरू आज त्यही राष्ट्रघाती विधेयकको लास बोक्ने, सरकारी भत्ता र पद धोक्ने काममै मस्तराम भएजस्ता देखिन्छन् । त्यसैले पनि हामीले विगतदेखि नै कथित प्रलेस सत्तापक्षीय बनेर वैचारिक मृत्यु भइसकेकाले वैकल्पिक सांस्कृतिक आन्दोलन निर्माणमा जोड दिएका थियौँ । त्यसपछि माक्र्सवादी सांस्कृतिक मोर्चा निर्माणका लागि पहल पनि भएको थियो । त्यो पनि जीवनको अन्तिम धुकधुकीमा छ कि ? वा त्यो नाटकको पनि क्रमशः पटाक्षेप भइरहेको छ, बुझ्न कठिन भइरहेको छ । कालान्तरमा यो पनि प्रलेसजस्तै एउटा भद्दा प्रहसनमा सीमित हुने सम्भावना बढिरहेको छ र त्यसको विकल्पमा असली क्रान्तिकारीहरूले नयाँ आन्दोलन र अभियान छेड्नु अपरिहार्य बनिसकेको छ ।

लेखक : अशोक सुवेदी

यो साता नेत्रविक्रम चन्द ‘विप्लव’ को एउटा ‘ऐना हेरेर र फूल रोपेर बस्ने’ भावको कविता चर्चामा आउन खोजेको थियो तर उनको राजनीतिक जीवनको आयुजस्तै वर्तमानको गर्तमा त्यत्तिकै हरायो बदनाम बनेर । बरु स्रष्टा गुणराज लोहनीले त्यसको जबाफमा ‘बर्को’ शीर्षकमा लेखे एउटा शक्तिशाली कविता :

प्रिय, तिमीले हाम्रो मायामा धोका दियौ
तिम्रो माया क्षणिक रहेछ, नक्कली रहेछ
अनि शृङ्गारिक मात्र रहेछ
त्यसैले त हाम्रो मायाको निशानी, सपनाको साक्षी
हाम्रो वर्गीय मायाको निशानी
हाम्रा पुर्खाको विरासतमा पाएको बर्को च्यात्ने दुस्साहस गर्यौ ।

तिमीले हाम्रो मायामा खेलबाड गर्यौ
खेलबाड मात्र गरेनौ पूर्वप्रिय, धोका दियौ
तिम्रो धोकामा मैले प्रतिवाद गरेँ
तिमीलाई दुत्कारेँ
किनकि हाम्रो सपनाको बर्को च्यात्न खोज्यौ ।

तिमीलाई थाहा छ यो बर्को त्यसै बुनिएको होइन
त्यसमा पसिना छ, सदियौँदेखिको
त्यो रगतले रङ्गिएको छ लाखौँको
त्यसमा स्पार्टाकसहरूका हातले कुँदेका बुट्टा छन्
प्रमिथसहरूले सेकाएका छन्
अनि म कहाँ च्यात्न दिन्छु यो बर्को ?

बरु तिमीसँग सम्बन्धविच्छेद गर्न तयार भएँ
तिमीले देखाएका रङ्गीन सपनाहरूमा बाँच्न स्वीकारिनँ
तिमीले आलिसान महलका सपना देखायौ
तिमीले सिंहासनका कुरा गर्यौ
तिमीले स्वर्ग–सयरले लोभ्याउने दृढता गर्यौ
पूर्वप्रिय, म यी तिम्रा ऐस–आराम
भोग–विलासलाई घृणा गर्दछु, दुत्कार्छु ।

त्यसैले त तिम्रो हातबाट
मैले– हाम्रा हितैषीले बुनेको बर्को खोसेँ
यो बर्कोमा बुनिएका सपनापूर्ण बुट्टामा
थप बुट्टा भर्ने अठोट गरेको छु ।
मलाई तिम्रो नक्कली र शृङ्गारिक सम्मोहनले छोएन ।

स्पार्टाकसहरूले, हजारौँ महान् सहिदहरूको रगतले बुनेको बर्को चोर्ने अधिकार क्रान्तिका धोकेबाजहरूलाई छैन, संसदीय संशोधनवादीहरूलाई छैन । त्यो क्रान्तिकारीहरूको निशानी हो, त्यो त क्रान्तिको रातो लालटिन हो । क्रान्तिको निशानी, क्रान्तिकारीहरूको आस्थाको सगरमाथा क्रान्तिकारीहरूकै लागि हो । त्यो देश, जनता र श्रमिक–वर्गका लागि हो ।

कुरा नेत्रविक्रम चन्दको संसदीय संशोधनवादको मात्र छैन, अरू धेरै ढोङ्गी, पाखण्डी र संसद्‌वादीहरूको पनि छ । आफ्नै हातले पुष्पलालका क्रान्तिकारी आदर्शहरूलाई गद्दार घोषणा गर्ने, पुष्पलालको अनुयायी बनिटोपल्दै र पुष्पलालहरूको नाउँ जप्दै क्रान्तिकारी आदर्शको व्यापार गर्नेहरूले यो साता उनको ४४ औँ स्मृति दिवसमा गोहीका आँसु खसालेका छन् । तिनले खसालेको गोहीको आँसुको कुनै अर्थ छैन । पुष्पलाल क्रान्तिकारी, इमानदार नेता थिए, दार्शनिक थिए, नेपालको सर्वहारा श्रमजीवी वर्गका नेता थिए । उनको विचारलाई लात हानेर उनको पूजा गर्नु कमरेड माओका विचारहरू त्यागेर सिगरेटको बट्टामा उनको तस्बिर सजाउने चिनियाँ व्यापारजस्तो मात्र हो ।

स्रष्टा अमर सिंहले ‘नक्कली मान्छेको कथित दिव्योपदेश’ शीर्षक कवितामा नक्कली क्रान्तिकारीहरूलाई मीठो जबाफ दिएका छन् :

रङ्गीचङ्गी झूटको
नक्कली र आडम्बरी दुनियाँ रचेर
रङ्गमञ्चमा नक्कल पारिरहेको
आडम्बरी मान्छेले
भन्छ–
आत्मसन्तोषका लागि
नक्कली कुरा नगर !!

आक्रोश र आवेगमा
आफैँलाई बिर्सेर
रातोपिरो अनुहारसहितको क्रोधित
मान्छेले भन्छ–
शान्त होऊ !!

रोपेका
फूलहरूको जिन्दगी
कोपिलामै निमोठेर
उजाड बगैँचाको मालीले
भन्छ–
फूलहरू रोप !!

हिलोमा छ्यापिएर
नुहाउन बिर्सेको
प्रदूषित मान्छेले
भन्छ
नुहाऊ !!

आफ्नो अनुहारमा
पोतिएको कालिक
मेटाउन छोडेर
ऐना फुटाउने
मान्छेले भन्छ
ऐना हेर !!

आत्मरति

आत्मसन्तोषका लागि
अरूलाई हेयको दृष्टिले हेर्ने
ए साथी
तिम्रो कथित दिव्योपदेशका लागि
धन्यवाद ! धन्यवाद !
फेरि पनि धन्यवाद !!

२०६९ सालमा प्रचण्डहरूबाट विद्रोह गरेर किरणको नेतृत्वमा नयाँ पार्टी निर्माण भएको दुई–अढाइ वर्षका बीचमा नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा क्रान्ति सम्पन्न गर्ने उद्घोष गर्दै निर्माण भएको थियो नयाँ पार्टी । यी आठ वर्षहरूमा बागमती र विष्णुमती नदीहरूमा केवल फोहोर पानी मात्र बगेन, यहाँ १२ जना योद्धाको रातो–तातो रगत पनि बग्यो । क्रान्तिको ऐलानले यता श्रमिक जनता खुसी मात्र भएन, उता फासिवादी दलाल पुँजीवादी सत्ताको कनिष्ठ प्रतिनिधि केपी वलीले क्रान्तिकारीहरूमाथि प्रतिबन्ध नै लगायो, बोल्न, लेख्न, सभासम्मेलन गर्नमै प्रतिबन्ध अर्थात् हिटलरी–ज्ञानेन्द्र शाहीको फासिवादी शैली अपनायो । यो प्रतिबन्ध कुनै पनि तानाशाहको ज्यादतीभन्दा कुनै पनि अर्थमा कम थिएन । यही प्रतिबन्धलाई च्यातचुत पार्ने क्रममा नै ती महान् योद्धाको उच्च बलिदान भएको थियो । हजारौँ योद्धाले हिरासत र जेलको अँध्यारो जीवनलाई प्रिय मानेका थिए । यो वर्गसङ्घर्षका लागि थियो । आततायी सत्ताले थोपरेको कालो शासनलाई सजिलै पचाइदिने ती जोदाहाहरूको त्याग, शौर्य र बलिदानलाई कसरी सजिलै विप्लवले फोहोरी सत्ताको चुनावसँग साट्ने दुस्साहस गरे हुन्, सम्झिँदा पनि उदेक लाग्छ । तिनै कमरेड विप्लवलाई हामीले क्रान्तिका नायक मानेर हृदयमा सजाएका थियौँ, आज उनका बारेमा आफैँले डरपोक विप्लव भन्नुपर्दा सहज मान्नुपर्ने अवस्था उत्पन्न भएको छ । प्रचण्डलाई हृदयबाट हटाउनभन्दा गाह्रो थियो विप्लवलाई हटाउन तर हामीले खोजेको र बनाएको विप्लव जङ्गलको शेरझैँ गर्जनुपर्नेमा दुई वर्षको प्रतिबन्धमै भिजेको बिरालोजस्तो बनेर तीनबुँदे गर्न आइपुग्यो र हाम्रा, सहिदका, श्रमिक जनताका सपनामा तुसारापात गरिदियो । यस्तो विडम्बना कति सहनुपर्ने हो नेपाली वर्गसङ्घर्षले !

‘कमरेड आजाद’ ले ‘ए साथी हामी रोप्दैछौँ फूलहरू’ शीर्षकमा फेरि ती आत्मघातीहरूका पलायनवादी हर्कतहरूमाथि हमला गर्दै लेखेका छन् :
यता सुन
नक्कली कुराको खरानी
निधारमा घसेर
सर्वस्व लुटिएको
बेचैन जोगीजस्तै देखिने ए साथी…
झन्डै एक दशकदेखिको
नक्कली कुराले पोलेर
बनेको खरानीभित्र बचेका फिलिङ्गा हौँ हामी
हेर अब
फिलिङ्गाहरूबाट अर्को भर्भराउँदो आगो
कसरी बल्छ !

ए साथी
हामीले कहीँ–कतै
तिम्रोजसरी
असिनपसिन भएर
घोक्रो फुलाएर
हाम्रो
निराशा
कुण्ठा
आवेग
आक्रोश पनि पोखेका छैनौँ
न त
तिम्रोजसरी
मन रोएर
पीडाको गरुङ्गो भारीले थिचिएर
हाम्रा ओठहरूमा
कहीँ–कतै नक्कली र
देखावटी मुस्कान नि छैन
त्यसैले
हामी
समुद्रजत्तिकै शान्त छौँ
तर
तिमी समुद्री आँधीलाई
नजरअन्दाज नगर्नू फेरि !

रोपेका फूलहरू
उखेलेर फाल्ने

बगैँचालाई उजाड बनाउने
ए साथी
हामी रोप्दैछौँ फूलहरू
बनाउँदैछौँ एउटा सुन्दर बगैँचा
थकित भएर
लखतरान परेको बेला
फूलहरूको मगमग बास्नामा
आनन्दित भएर आराम गर्न
तिमी आउनू है
हामी स्वागत गर्नेछौँ !

ए साथी
तिमीसँगै हुँदा
हिलोमा डुबुल्की मार्दा पनि
नुहाउन बिर्सेका हामी
दिनदिनै नुहाइरहेका छौँ
कपाल कोरिरहेका छौँ
तर
तिमीले भनेजस्तै
ऐनालाई हेरिरहेका छैनौ
कि
ऐनामा आफैँलाई हेरिरहेका छौ !

विप्लव नेतृत्वमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले वैकल्पिक सत्ताको घोषणा गर्दै जनसंविधानको खाका सार्वजनिक गरेको थियो । खुलामञ्चमा विप्लव गर्जिंदा युद्धकालीन प्रचण्डको झझल्को आउँथ्यो । एउटा प्रचण्डलाई दुस्मन सत्ताले किने पनि नेपाली जनताले अर्को योद्धा र नायक जन्माएका छन् भन्ने ठानेर गर्वले छाती फराकिलो हुन्थ्यो । प्रचण्डहरूले क्रान्तिमाथि धोका दिएर दलाल पुँजीवादी सत्तामा आत्मरक्षाको भिक माग्दै घोसेमुन्टो लगाएपछि आरम्भ गरिएको क्रान्तिको गर्जनले जनतामा क्रान्ति र मुक्तिप्रति झिनो भए पनि आशा जगाएको थियो । धोकामा सिध्याइएको युद्धको चोटले मर्माहत जनताका आर्तनाद र क्रन्दनहरू शमन गरेको थियो नयाँ क्रान्तिको उद्घोषले ।

तर विडम्बना नै भनौँ, जनताको आशामाथि तुसारापात गर्ने, क्रान्तिकारीहरूमाथि प्रतिबन्ध लगाउने र १२ जना योद्धाहरूको रगत बगाउने, हजारौँहजार योद्धाहरूलाई जेल र हिरासतका चिसा छिँडीहरूमा सडाउने, हजारौँहजार झूट्टा मुद्दा लगाउने त्यही फासिवादी सत्ताले आफ्नो रक्षाका लागि गराएको चुनावमा जान विप्लव–प्रकाण्डहरूले पार्टी नै विभाजन गराए र फेरि डढेको बनमा हल्का वर्षा भएर पिपिरा पलाउन थालेझैँ सहिद र जनताका सपना पूरा हुने झिनो आशा जगाउँदै तङ्ग्रिन थालेका जनताको आशामाथि निराशाको भुत्भुते खन्याए । यो उनीहरूको अर्को अक्षम्य गल्ती थियो । विप्लवहरू अर्थात् प्रचण्डहरूले क्रान्तिको आशा देखाउन्जेल जनताले, युवाहरूले, योद्धाहरूले आफ्नो जीवन आहुती दिएर पनि सघाएका हुन् । व्यक्तिगत जीवनको कुनै परबाह नगरी उनीहरूले नेतृत्वलाई हृदयमा राखेका हुन् । क्रान्ति समाप्त पारिनुमा सहिदको, बेपत्ताहरूको, जनताको, घाइतेको कसैको पनि दोष थिएन र छैन । यसमा त क्रान्तिनायक भनिएकाहरू नै दोषी छन् । युद्ध र क्रान्तिका नायक भनिनेहरू युद्धमैदानबाट भागे पनि स्रष्टाहरूले युद्ध र क्रान्तिको गहिरो अनुभूति गराइरहेकै छन् । खुकुरीहरूले चोट भुले पनि अचानाहरूले आफूमाथि बजारिएको खुकुरीको चोट भुलेका छैनन् । युद्ध/क्रान्तिताका वर्गसङ्घर्षप्रति भएको गहिरो वर्गप्रेमलाई साक्षी राख्दै स्रष्टा सङ्गम आरसीले ‘प्रियलाई चिठी’ लेखेर युद्धस्मृति यसरी गराएका छन् :

महासमरको महान् यात्राबाट
क्रान्तिको वक्ररेखाबाट
रगत र आँसुको बीचबाट
रक्तिम अभिवादन, असीम माया अनि मीठो सम्झना
सबै कुरा वर्गीय भएझैँ
प्रेमविवाह पनि त्यसबाट अछुतो रहँदैन
त्यसैले हामी पनि
क्रातिको महान् अभिभारा पूरा गर्ने सिलसिलामा
मालेमावादी विश्व–दृष्टिकोणलाई साक्षी राखी
वर्गीयता, एकनिष्ठता र क्रान्तिकारिताका आधारमा
संवेगबाट उठान भएको र विवेकबाट नियन्त्रित
प्रेमको उच्च रूप
वैवाहिक जीवनको डोरीमा बाँधिन पुग्यौँ
त्यो जीवनको अविस्मरणीय सम्झौता थियो
त्यसैले त मेरो प्रिय
त्यो हर्षदायी क्षणमा हाम्रो प्रतिज्ञा थियो–
जीवनको अन्तिम क्षणसम्म पनि मालेमावादको आलोकमा रही
सहिदको रगतबाट निर्मित निधारमा पहिरिएको अबिरलाई
कहिल्यै पनि नभुलेर
क्रान्तिको लक्ष्यलाई दह्रोसँग पकड्दै
पार्टी र क्रान्तिलाई जीवनपद्धति बनाउँदै
जस्तोसुकै महाविपत्तिका मोडहरूमा पनि
सहिद रक्तचाप पछ्याउँदै
प्रत्येक रगतका फाल्साहरूका बीचबाट
भीषणताभित्र महानता रोज्दै
नयाँ जीवनको मूर्त रूप दिइरहनेछौँ
मेरो प्रिय
मिर्मिरे उज्यालोको बीचबाट सूर्यको खोजी गर्दै जाँदा
कहालीलाग्दा पहाडहरू भेटिन सक्छन्
सहिदहरूका शवले पहाड चुम्न सक्छन्
त्यतिबेला आँसुले आँखा धोइन सक्छन्
तर पनि निरन्तर क्रान्तिलाई आत्मसात गरिरहनेछौँ
मेरो प्रिय
न्यायको आवाज बुलन्द गर्दै जाँदा
हाम्रा छातीमा फासिवादी सङ्गीनहरू रोपिन सक्छन्
त्यतिबेला भन्नेछौँ स्वाभिमानी शिर उठाएर–
महान् क्रान्ति जिन्दावाद
फासिवादी सत्ता मुर्दावाद
हतकडी र नेल पहिरिँदा पनि
सम्झौताका शब्दहरू ओकल्नेछैनौँ
त्यतिबेला स्वीकार्नेछौँ
क्रान्तिका गहना र युद्धका ट्रेन्च हुन्
मेरो प्रिय
क्रान्तिको महाअभियानमा यात्रा गर्दै जाँदा
इतिहासको कालखण्डमा लोप हुँदै गएका
बर्नस्टिन, ट्राट्स्की र ख्रुस्चोभी काला सर्पहरू
नयाँ रूप धारण गर्दै आउनेछन्
त्यतिबेला तीन जादुगरी हतियारबाट
टाउका छिनालिदिनुपर्छ
त्यसैले त मेरो प्रिय
अझै भीषण प्रतिज्ञा गरौँ–
पार्टी र क्रान्तिलाई जीवनको अभिन्न अङ्ग बनाउनेछौँ
फासिवादी सङ्गीन र गोलीले छाती भेदन गर्दा पनि
लक्ष्य र उद्देश्यबाट पथविचलित हुनेछैनाैँ
काँडेतारको बीचमा पनि
क्रान्ति हाम्रो मुटुको धड्कन बनिरहनेछ
उज्ज्वल भविष्यप्रति जीवनको सार्थकता दिइरहनेछौँ ।

क्रान्तिको मैदानबाट भागेर केही थान क्रान्तिनायकहरू संसदीय भासमा पसे पनि जनताले कहिल्यै पनि सुधारवाद र सम्झौतावाद पारित गरेको छैन । त्यसैले त क्रान्तिहरू जारी छन् । नेताहरू अर्थात् कुनै एक समयका नायकहरू पद, प्रतिष्ठा, नाम, धनदौलतले सम्पन्न भएर वर्ग बदले पनि जनताको वर्ग बदलिएको छैन । त्यसैले क्रान्ति अपरिहार्य छ ।


कवि बीपी विद्रोहीको ‘रातो बाकसमाथि सेतो फूल’ कविताले भन्छ :

चुनावको बेला मात्रै पास हुन्छ
नागरिकता विधेयक
सत्तालाई नागरिकभन्दा धेरै
भोटर चाहिएको छ
मधेसीलाई नागरिकता माग्न जाँदा
बिहारी नजरले हेर्ने सत्ता
चुनावको बेला नैनीतालदेखि किन पुग्यो पटनासम्म
नागरिकता बेच्न ?
बर्सौंदेखि बन्द सुकुमबासी आयोग किन खुल्यो
चुनावको अघिल्लो दिन ?
सत्ता लालपुर्जासंँग भोट साट्न चाहन्छ ?
बर्सौदेखी सुस्त शिक्षक आयोग
किन चलमलायो
चुनावको अघिल्लो रात ?
सत्ता लाइसेन्ससँग भोट साट्न चाहन्छ
खाडी–मलेसियाको भिसा किन रोकियो अकस्मात्
चुनावको अघिल्लो साँझ ?
सत्ता भोट साट्न चाहन्छ भिसासँग
एअरपोर्ट पुगेर किन चढाउँछ सत्ता
रातो बाकसमाथी सेतो फूल ?
ऊ समवेदनासँग भोट साट्न चाहन्छ
पुँजीवादी सत्ता पैसासँग भोट साट्न चाहन्छ
भोटसँग सपना साट्न चाहन्छ
सपनासँग उसको स्वार्थ साट्न चाहन्छ
अपराधी सत्ता
दलाल सत्ता !!

दलाल सत्ताको विशेषता नै हो जाल, झेल, षड्यन्त्र र दमन । ऊ साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर पनि मानिसलाई, श्रमिकलाई, मुक्ति खोजिरहेको वर्गलाई दमन गर्न चाहन्छ । जब क्रान्तिनायकहरू नै प्रतिक्रन्तिका मतियार बनेर क्रान्तिकारीमाथि प्रहार गर्न थाल्छन् अनि दीपेन्द्र ऐरीहरू कविता बनेर बज्रिन्छन् :

कमरेड
तिमी नहेर
भ्रमसिर्जित ५० लाख
हेर्न जरुरी छैन अब
निर्वाचनकै बेला
तिम्रा कार्यकर्ता, नेताहरूले
काङ्ग्रेस, एमाले र अन्य पार्टीबाट खाएको लाखौँ
पैसाको हिसाब–किताब
खोजी गर
सक्छौ भने लिफ्टवाला
घरको अनुसन्धान गर…।

यत्रतत्र विसङ्गत परिघटना र दृश्यहरू घुमिरहेका छन् तर पनि क्रान्तिकारीहरू थाकेका छैनन् । राष्ट्रघाती नागरिकता विधेयकले यो साता पनि नेपालको देशभक्तिपूर्ण आन्दोलनलाई झकझक्याइरहह्यो । आन्दोलन र असहमतिकै बीच अन्ततः नेपालका नयाँ पहिरनका लेन्डुपहरूले नेपालीलाई रुवाउने र विदेशीलाई हँसाउने शैलीको राष्ट्रघातप्रेरित नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गरेरै छोडे । यता राष्ट्रघाती नागरिकता विधेयकमा ल्याप्चे लगाएर केपी वली, माधव नेपाल र पुष्पकमल दाहालहरू पुष्पलालको सालिकमा र शेरबहादुर देउवाहरू भीमसेन थापाको सालिकसामु पुगे लाजै पचाएर । पुष्पलालका आदर्श पोलेर खाइसकेका नवदलालहरू फेरि पुष्पलालको तस्बिर बोकेर झुक्याउन हिँडिरहेका बीभत्स र कुरीकुरी लाग्ने दृश्यहरू पनि देखिए पुष्पलाल स्मृति दिवसमा । जसको पेसा नै आफ्नो अनुकूलतामा अरूलाई फुटाउनु, आफू आत्मसमर्पण गर्नु र आफू फुटेर अरूको स्वार्थ पूरा गरिदिनु छ, त्यही खेलोमेलोमा लागेका सत्तासंस्कृतिका पछुवाहरू लाजै नमानी गाइरहेछन् :

टुटफुट र खण्डितका कुरा नगर
आत्मसमर्पणका कुरा नगर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :