बनेपामा मजदुरले निकाले विरोध र्याली, दमन गरिए प्रतिरोध हुने नेकपा (बहुमत) को चेतावनी

बनेपामा मजदुरले निकाले विरोध र्याली, दमन गरिए प्रतिरोध हुने नेकपा (बहुमत) को चेतावनी

बनेपा (काभ्रे) : नेकपा (बहुमत) काभ्रेपलाञ्चोकको पहलमा पार्टीको जिल्ला समितिअन्तर्गत अखिल नेपाल क्रान्तिकारी सडक तथा स्वरोजगार मजदुर सङ्घको बनेपा नगर समितिले बनेपाको चारदोबाटोदेखि नगर कार्यपालिकाको कार्यालयसम्म विरोध प्रदर्शन गरेको छ । मजदुरमाथि नगरपालिकाले गरेको अत्याचारलगायत मजदुरविरोधी गतिविधिविरुद्ध आयोजित र्याली नगर परिक्रमपछि कोणसभामा परिणत भएको थियो ।

विरोधसभामा सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (बहुमत) काभ्रेका संयोजक कृष्ण सेवाले उचित व्यवस्थापनसहित फुटपाथ व्यवसायीलाई स्थानान्तरण गरिनुपर्ने, सडकको आवाजलाई बिनादमन सुन्नुपर्ने र आईएलओ सन्धिअनुसार मजदुरको मानवअधिकार रक्षा गरिनुपर्ने बताए ।

संयोजक सेवाले श्रमजीवी जनताको आवाजलाई बुटले कुल्चिने दुस्साहस गरिएमा त्यसको उपयुक्त जबाफ दिन नेकपा (बहुमत) तयार रहेको पनि बताए । स्थानीय सरकार बन्दुकको बलमा श्रमजीवी जनतामाथि दमनमा उत्रिएमा पार्टी टुलुटुलु हेरेर नबस्ने र त्यसको प्रतिरोध गरिने चेतावनी पनि उनले दिए ।

कोणसभामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ बागमती प्रदेश इन्चार्ज राजकुमार मगरले पनि सम्बोधन गरेका थिए । उनले सडक किनारमा व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरू विकसित मुलुकमा पनि रहेको उदाहरण दिँदै बनेपा नगरले पनि श्रम गरेर जीविकोपार्जन गर्नेमाथि दमन गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :