आंशिक प्राध्यापकलाई करार गर्ने त्रिविको षड्यन्त्र बन्द गर, सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर : अखिल क्रान्तिकारी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी काठमाडौँले आंशिक प्राध्यापकहरूलाई करार गर्ने त्रिभुवन विश्वविद्यालयको षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न जोडदार माग गरेको छ । त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिका इन्चार्ज गोविन्द बिष्टले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक भागबण्डाको अखडा बनेको त्रिभुवन विश्वविद्यालयमा राजनीतिक पहुँचका आधारमा भर्ती गरिएका आंशिक प्राध्यापकहरूलाई करार गर्ने त्रिभुवन विश्वविद्यालयको अनैतिक प्रपञ्चप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको र आंशिक प्राध्यापकलाई करार गर्ने षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न जोडदार माग गरेका छन् ।

त्रिविले तत्काल गल्ती नसच्चाए सङ्गठनले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने र त्यसको जिम्मेवारी त्रिभुवन विश्वविद्यालयले लिनुपर्ने पनि बिष्टको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) निरन्तर शैक्षिक क्षेत्रको आमूल रूपान्तरणसँगै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रही सङ्घर्ष गरिरहेको विषय जगजाहेर नै छ । खोज, अध्ययन र अनुसन्धानको केन्द्र बन्नुपर्ने नेपालको सबैभन्दा ठूलो र पहिलो त्रिभुवन विश्वविद्यालय पछिल्लो समय राजनीतिक भागबण्डाको अखडा बनिरहेको छ । यसै सन्दर्भमा राजनीतिक पहुँचका आधारमा भर्ती गरिएका आंशिक प्राध्यापकहरूलाई करार गर्ने त्रिभुवन विश्वविद्यालयको अनैतिक प्रपञ्चप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बिष्टले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसमेत लत्याउँदै त्रिवि नियमविपरीत आवश्यक दरबन्दी पूर्ति गर्न सेवा आयोगको परीक्षा सञ्चालन गर्नुको सट्टा आंशिक प्राध्यापकहरूलाई करार गर्ने त्रिविको हर्कत हाम्रो सङ्गठनलाई किमार्थ स्वीकार्य छैन । देशलाई ध्वस्त बनाउने साम्राज्यवादी डिजाइनअनुरूप शिक्षा क्षेत्रमाथि अतिक्रमण सुरु गरिएको छ । यस प्रक्रियामा नेपालका संसद्वादी दलहरू दुरुपयोग भइरहेका छन् । शिक्षाको गुणस्तर तहसनहस पार्ने र दक्ष जनशक्तिलाई बिदेसिन बाध्य पार्ने त्रिभुवन विश्वविद्यालयको षड्यन्त्रविरुद्ध कठोर सङ्घर्षमा उत्रिन सबै विद्यार्थी साथीहरूलाई हाम्रो सङ्गठन आह्वानसमेत गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो सङ्गठन त्रिविलाई आंशिक प्राध्यापकहरूलाई करार गर्ने षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न जोडदार माग गर्दछ । त्रिविले तत्काल गल्ती नसच्चाए हाम्रो सङ्गठनले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछ जसको जिम्मेवार त्रिभुवन विश्वविद्यालय हुनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :