मालेमावादको गुदी कुरा

मालेमावादको गुदी कुरा

आजका युवा–विद्यार्थीले मार्क्सवादका आधारभूत सिद्धान्तका कुरा बुझ्न जरुरी छ । कार्यदिशा, कार्यनीति र कार्यक्रमहरू लागू गर्नलाई पहिले सिद्धान्तका कुरा बुझ्न आवश्यक छ । हामीले सिद्धान्तका कुरा बुझ्नलाई लामो समय स्कुलिङ आवश्यक छ । तर यहाँ निकै छोटो समयमा, छोटो र सरल तरिकाले हाम्रो मार्गनिर्देशक सिद्धान्त, हाम्रो कार्यदिशा, कार्यक्रम र कार्यनीतिका बारेमा छलफल गरिएको छ । मार्क्सवाद–लेनिनवाद–माओवाद हाम्रो मार्गनिर्देशक सिद्धान्त हो । हाम्रो न्यूनतम् कार्यक्रम भनेको जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद हो । हाम्रो राजनीतिक कार्यदिशा भनेको वैज्ञानिक समाजवादी क्रान्ति हो । हामीले तत्काल गर्ने काम अथवा तत्कालीन कार्यनीति भनेको स्वाधीन संयुक्त सरकार हो । ज्ञान सिद्धान्त, कार्यनीति, कार्यदिशा र कार्यक्रमका बारेमा युवाहरूले बुझ्न र परिस्थितिको विश्लेषण गर्न सक्नुपर्दछ ।

सर्वप्रथम हाम्रो मार्गनिर्देशक सिद्धान्त भनेको मार्क्सवाद–लेनिनवाद– माओवाद हो । यो हाम्रो मार्गनिर्देशक सिद्धान्त भएपछि यसका बारेमा केही छलफल गरौँ । मार्क्सवाद दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद हो । मार्क्सले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा योगदान गर्नुभयो । दर्शनशास्त्र भनेको ज्ञानको तेस्रो आँखा हो, दृष्टिकोण हो, भित्री आँखा वा बौद्धिक आँखा हो । मार्क्सले यसलाई बौद्धिकता हो भन्नुभएको छ । त्यसकारण कार्ल मार्क्सले भन्नुभएको छ– सर्वहारा वर्गले दर्शनशास्त्रमा आफ्नो बौद्धिक हतियार भेट्टाउँछ भने दर्शनशास्त्रले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेट्टाउँछ । अब हामीले बुझ्नुपर्दछ– दर्शन ३ कुराबाट आउँछ– उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट । १८१८ मा जन्मिएका कार्ल मार्क्सले नयाँ दर्शन दिनुभयो । १८४२ तिर नै विद्यावारिधि गर्नुभएका मार्क्सले इतिहास र दर्शनशास्त्रमा विद्यावारिधि गर्नुभयो तर उहाँले आफ्नो नामको अगाडि कहिल्यै पनि डाक्टर लेख्नुभएन । उहाँले पहिलो कुरा जर्मनेली दर्शनलाई आफ्नो आधारभूमि बनाउनुभयो । त्यसबेलाका दार्शनिकहरू हेगेल र फायरबाखको दर्शनलाई मार्क्सले आधारभूमि बनाउनुभयो । त्यहाँ हेगेलले द्वन्द्ववाद पत्ता लगाएका थिए तर उनको द्वन्द्ववाद विचारवाद अथवा आदर्शवादमा आधारित थियो । हेगेलवादीलाई मार्क्सले के भन्नुभयो भने तपाईंले जुन दर्शनको प्रतिपादन गर्नुभयो त्यो दर्शनले टाउकाले टेकेको छ किनकि हेगेलले जेठो चीज विचार होइन, पदार्थ हो भनेका थिए । यो पृथ्वीको सृष्टि हुनुपूर्व नै सृष्टिकर्ता जन्मिसकेको थियो भनेका थिए । अर्कोतिर अर्का दार्शनिक फायरबाख थिए र उनको दर्शन भौतिकवादी थियो । उनले यो संसारमा कुनै जीव उत्पत्ति हुनुभन्दा पहिले पदार्थ थियो भनेका थिए । उनी भौतिकवादी थिए तर वस्तुलाई हेर्ने उनको दृष्टिकोणचाहिँ अधिभूतवादी थियो । यसको मतलब वर्तमान सम्झेपछि भूतकाल बिर्सने, भविष्य सम्झेपछि वर्तमान बिर्सने । यो अभिधूतवादी थियो ।

अब हेगेल आदर्शवादी र फायरबाख भौतिकवादी भए । अब यहाँनिर म द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कसरी भयो भन्ने कुरा भनौँ । यहाँनिर मार्क्सले के काम गर्नुभयो भने हेगेलको आदर्शवादी द्वन्द्ववादबाट आदर्शवादलाई फालिदिनुभयो र द्वन्द्ववाद मात्र लिनुभयो । द्वन्द्ववाद भनेको कुनै पनि वस्तुलाई दुई तरिकाले हेर्नु हो । कुनै पनि मान्छेलाई हेर्नुपर्यो भने सकारात्मक र नकारात्मक दुवैतिरबाट हेर्नु हो । मार्क्सले भौतिकवादलाई फायरबाखबाट सापट लिनुभयो । फायरबाखको अभिधूतवाद फालेर भौतिकवाद राख्नुभयो । यहाँनेर मार्क्सले गरेको खास काम भनेको हेगेलको आदर्शवाद फालेर द्वन्द्ववाद मात्र राख्नु र फायरबाखको अभिधूतवाद फालेर भौतिकवाद राख्नु हो । अनि यसलाई द्वन्द्वात्मक भौतिकवाद बनाएर खुट्टाले टेकाउनुभयो । मार्क्सले पदार्थ आदिकालदेखि थियो र अनन्तसम्म रहनेछ भन्नुभयो । मार्क्सले अर्को कुरा नयाँ आविष्कार गर्नुभयो । यो भनेको ऐतिहासिक भौतिकवादलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद बनाउनुभयो । कुनै पनि वस्तुलाई राम्रो–नराम्रो ऐतिहासिक तरिकाले हेर्नुपर्दछ भनेपछि त्यसलाई ऐतिहासिक भौतिकवादी भनियो । हेगेल र फायरबाखले पत्ता लगाएको द्वन्द्ववाद र भौतिकवाद तथा मार्क्स र एङ्गेल्सले पत्ता लगाएको ऐतिहासिक भौतिकवाद यी दुवैलाई मिलाएर उहाँहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद बनाउनुभयो ।

अर्को कुरा राजनीतिक अर्थशास्त्रमा श्रमजीवीहरूले श्रम गर्दछन् तर तिनीहरू नै सबैभन्दा भोकै किन बस्छन् ? समाजमा गरिब र धनी वर्ग छन् । धेरै मान्छे गरिब र थोरै मान्छे धनी किन हुन्छन् ? दुनियाँमा १ प्रतिशत धनी र ९९ प्रतिशत किन गरिब छन् ? यस्तो किन हुन्छ ? समाजमा वर्ग हुन्छ र धनी र गरिबका बीचमा सङ्घर्ष हुन्छ । श्रम गर्ने धेरै मानिस गरिब र थोरै मानिस धनी किन हुन्छन् भन्ने बुझ्न मार्क्स एउटा कारखानामा पुग्नुभयो र अध्ययन गर्नुभयो । त्यहाँ मजदुरले अरिरिक्त श्रम गरेको भेट्टाउनुभयो । उहाँले धनीले गरिवलाई काम लगाएबापत अरिरिक्त मूल्य लिइरहेको कुरा पत्ता लगाउनुभयो । राजनीतिक अर्थशास्त्रमा मार्क्सले गरेको योगदान भनेको अतिरिक्त मूल्यको सिद्धान्त हो । उहाँले यस्तो समाजलाई कसरी बदल्ने भन्ने विषयमा अध्ययन गरेर समाजमा वर्गसङ्घर्ष नै यसको समाधान हो भनेर पत्ता लगाउनुभयो । उहाँले मजदुरहरूले सत्ता कब्जा गरेर मात्रै हुँदैन, बरु त्यसलाई टिकाउनु पनि मुख्य कुरा हो भनेर भन्नुभयो । मार्क्सले पेरिस कम्युनमा कम्युनार्डहरूले सत्ता कब्जा गरेर फेरि गुमाएको देख्नुभएको थियो । त्यहाँ सर्वहारा वर्गले सर्वहारा वर्गको अधिनायकत्व लागू नगरेकै कारण सत्ता फेरि गुमाउनु परेको थियो । उहाँले यो कुरा देख्नुभयो र उहाँले सर्वहारा वर्गको अधिनायकत्व नहुँदा सत्ता गुमाउनु परेको हो भन्नुभयो । मजदुरहरूले सत्ताको संरचना नयाँ नबनाउँदा फेरि उनीहरूले हार बेहोर्नु परेको थियो । यहाँ हामीले ३ वटा कुरा बुझ्यौँ– एउटा, समाजमा वर्ग हुन्छ । अर्को, वर्ग भएपछि वर्गसङ्घर्ष हुन्छ र तेस्रो, वर्गसङ्घर्ष हुँदै जाँदा हतियारले दमन गर्दछ । दमन गरेपछि प्रतिरोध हुन्छ । सशस्त्र प्रतिरोध गरेर जितियो भने सर्वहारा वर्गको अधिनायकत्व लागू गर्नुपर्छ । मार्क्सले, सर्वहारा वर्गले पत्ता लगाएको कुरा यही हो । सशस्त्र सङ्घर्षबाट सत्ता जितिसकेपछि तपाईंले त्यसै छोडिदिने होइन, त्यो हारेको वर्ग १० गुणा शक्तिशाली हुन्छ । त्यो वर्गलाई दमन गर्न तपाईंसँग जनताको सेना र हतियार हुनुपर्दछ । वैज्ञानिक समाजमा मार्क्सले गरेको कुरा यही हो । अर्को कुरा उहाँले सर्वहारा वर्गको अधिनायकत्वले वर्गहरूलाई उन्मूलनतिर लैजान्छ भन्नुभयो । सर्वहारा वर्गको अधिनायकत्व लागू गर्दै जाँदा वर्गहरूको अन्त्य हुन्छ र साम्यवाद आउँछ ।

अब मार्क्सको दर्शनको जुन कुरा गर्यौँ यसलाई लेनिनले आफ्नो जमानामा अझ माथि विकास गरेर जानुभयो । अर्को तला थप्नुभयो । उहाँले माक्र्सवादलाई आफ्नो देशमा लागू पनि गर्नुभयो । उहाँले रुसलाई सोभियत सङ्घ बनाउनुभयो । रुसमा समाजवाद ल्याएर ३६ वर्ष टिकाउनुभयो । दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा पनि केही नयाँ आयाम थप्नुभयो । लेनिनले दर्शनमा के नयाँ कुरा दिनुभयो भने विपरीतहरूको एकता र सङ्घर्ष नै प्रमुख कुरा हो भनेर पत्ता लगाउनुभयो । मार्क्सले के भन्नुभएको थियो भने विपरीतहरूको एकता र सङ्घर्ष, मात्रा गुणमा परिवर्तन र निषेधको निषेध । लेनिनले त्यसलाई के गर्नुभयो भने द्वन्द्ववादको नियम विपरीतहरूको एकता र सङ्घर्ष नै मुख्य नियम हो, अरू सबै सहायक हुन् । अर्को कुरा उहाँले के भन्नुभयो भने एकता सापेक्ष हुन्छ र सङ्घर्ष निरपेक्ष हुन्छ । हामी २ जना बस्यौँ भने एकता र सङ्घर्ष हुन्छ । हामी हिँडिरहेको बेला पनि हावाको चापका विरुद्ध सङ्घर्ष गरिरहेका हुन्छौँ । सङ्घर्ष निरपेक्ष हुन्छ, भइरहन्छ तर एकता सापेक्ष हुन्छ । यो कुरा लेनिनले दर्शनमा नयाँ कुरा पत्ता लगाएको हो ।

राजनीतिक अर्थशास्त्रमा लेनिनले गरेको कुरा के हो भने मार्क्सको पालाको अतिरिक्त मूल्यको सिद्धान्तको जो नियम हो यसले अन्तर्राष्ट्रिय रूप लियो । लेनिनको पालामा पुँजीपतिहरूले आफ्नो माल संसारभरि पठाउन थाले । आज चीनको माल विश्व–बजारभरि फैलिएको छ । माल भनेको मान्छेको श्रमद्वारा बनाइएको वस्तु हो । जो धनी छ, त्यसले संसारभरि प्रभुत्व जमाउन थाल्यो । उहाँले साम्राज्यवाद पुँजीवादको चरम अवस्था भन्ने किताब लेख्नुभयो । क्रान्ति सम्पन्न गर्न नयाँ र चुस्त पार्टी आवश्यक हुन्छ भन्ने कुरा पत्ता लगाउनुभयो र उहाँले सङ्गठनमा जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त विकास गर्नुभयो । यसलाई माओले विस्तार गर्नुभएको हो । उहाँले पार्टीभित्र अनुशासन कायम गर्नका लागि अनुशासित पार्टी चाहिन्छ भन्नुभयो । यस्तो पार्टी सङ्गठनका लागि उहाँले केही नियम बनाउनुभयो र भन्नुभयो– व्यक्ति सङ्गठनको मातहतमा रहन्छ । तल्लो समिति माथिल्लो समितिको मातहतमा रहन्छ । सबै समितिहरू केन्द्रीय समितिको मातहतमा रहन्छन् र केन्द्रीय समिति महाधिवेशनको मातहतमा रहन्छ । सबै सङ्गठनहरूमा यो लागू हुन्छ भनी उहाँले भन्नुभयो । यो भनेको लेनिनले वैज्ञानिक समाजवादका क्षेत्रमा गरेको योगदान हो । पार्टी बलियो हुनुपर्दछ । पेसेवर क्रान्तिकारीहरूको पार्टी हुनुपर्दछ । पार्टी जनवादी केन्द्रीयताका आधारमा चल्ने हुनुपर्दछ भन्नुभयो । उहाँले क्रान्ति जित्नुको मुख्य कारण अनुशासन हो भन्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय पनि स्थापना गर्नुभयो । त्यसपछि मार्क्सवाद–लेनिनवादमा विकास भयो ।

अब माओवादबारे कुरा गरौँ । लेनिनले सशस्त्र विद्रोहको कार्यदिशाले क्रान्ति गर्नुभयो सहरबाट गाउँ जाने । १९०५ देखि १७ सम्म क्रान्तिको लामो तयारी गर्नुभयो । कम्युनिस्टहरूले नयाँ परिस्थितिको सामना गर्नुपर्यो । माओले १९२१ मा चीनमा पार्टी बनेपछि त्यसको ४ वर्षदेखि क्रान्तिको सुरुआत भयो । हामीले नेपालमा ४६ वर्षपछि जनयुद्ध सुरु गरेका थियौँ । माओले २१ बाट नै सेना बनाउन सुरु गर्नुपर्ने थियो भनेर भन्नुभएको थियो । चीन त गाउँ नै गाउँ भएको देश, त्यस्तो देशमा क्रान्ति गर्नका लागि कुनै किताबमा लेखिएको छैन भन्नुभएको थियो माओले । जब माओ २८ तिर पुग्नुभयो, उहाँले भन्नुभयो– हाम्रो देशमा गाउँगाउँ कब्जा गर्दै सहर जानुपर्दछ भन्नुभयो । तर त्यहाँका वाङ्मिङ र लिलिसानहरूले मानेनन् र लडाइँ हारिँदै गयो । विशाल भूगोल र ५० करोड जनसङ्ख्या भएको देशमा ३ लाख सेना बनाएर चिङकाङसाङ कब्जा गर्नुभयो ।

माओ व्यावहारिक कम्युनिस्ट हो । उहाँले गाउँगाउँ कब्जा गर्दै सहर कब्जा गर्नुपर्दछ र त्यो दीर्घकालीन जनयुद्ध हुन्छ भन्नुभयो तर पार्टीका केही व्यक्तिहरूले मानेनन् । उहाँले स्वीकृति नदिईकन उनीहरूले नाङकिङ कब्जा गर्ने निर्णय गरे । सेना अगाडि बढ्यो तर कब्जा भएन । च्याङ्काइसेकको सरकारले कसरी लेखेट्यो भने सबैलाई गाउँगाउँमा पठाइदियो । पछि माओले धन्यवाद च्याङकाइसेक भन्नुभयो किनकि मैले भनेको पार्टीका नेताहरूले मानेनन् तर उसले गाउँ पठाइदियो भनेर धन्यवाद दिनुभएको थियो । कहिलेकहीँ सही कुरा मानेन भने दुस्मनले पनि सिकाइदिन्छ । माओलाई वर्गसङ्घर्ष अघि बढाउन कठिन भइरहेको थियो । जनयुद्ध लडिरहेको ३ लाख सेना घटेर ९० हजार भयो । त्यही सेनालाई लिएर माओले ३० करोड जनताका बीचमा ‘लम्बे अभियान’ (लङ मार्च) चलाउनुभयो । एक वर्षमा लङ मार्च गरेपछि उहाँले चुनै बैठक बोलाउनुभयो । त्यो बैठकबाट बल्ल माओको लाइन पास भयो । अब माओले पार्टीभित्र जित्नुभयो । माओ किसान सङ्घको अध्यक्ष हुनुहुन्थ्यो, पछि माओको लाइन विजयी बन्दै गएपछि मात्र पार्टीको अध्यक्ष बन्नुभएको हो । १९३७ मा गएपछि उहाँले व्यवहारबारे भन्ने दार्शनिक रचना लेख्नुभयो ।

त्यसमा उहाँले जडसूत्रवादी भनेका अल्छीका पिण्ड हुन् भन्नुभयो । उनीहरू नयाँ आविष्कार गर्दैनन्, उही पुरानो दोहोर्याउँछन् भन्नुभयो । त्यसकारण उहाँले व्यवहार–ज्ञान फेरि व्यवहार–दर्शनमा यो कुरा विकास गर्नुभयो । उहाँले ३ किसिमका व्यवहारबाट ज्ञान प्राप्त हुन्छ भन्नुभयो । उत्पादनका लागि सङ्घर्ष–वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट । त्यसको केही समयपछि उहाँले अन्तरविरोधबारे लेख्नुभयो । उहाँले त्यसमा आदर्शवादी दर्शन र भौतिकवादी दर्शन हुन्छन् भन्नुभयो । दुई दृष्टिकोण हुन्छन् भन्नुभयो र अन्तरविरोधका ३ नियमका बारेमा उहाँले थप केही गर्नुभयो । निषेधको निषेध भन्ने नियम हुँदैन भन्नुभयो । यो नकारको सकार हो भन्नुभयो । उहाँले द्वन्द्ववादको एउटै नियम हुन्छ– अन्तरविरोध भन्नुभयो । यहाँ खासमा उहाँले व्यवहारबारे र अन्तरविरोधको सिद्धान्त दुई कुरा पत्ता लगाउनुभयो । त्यति मात्र होइन, पछि सत्ता आएपछि पनि लिउ साओचीले कालो बिरालो भए पनि सेतो भए पनि बिरालोको काम मुसा मार्ने हो भनेर ल्यायो । यो १९५७ तिरको कुरा हो । यो पार्टीभित्रको संशोधनवाद हो । उसले भनेको कुरा धनी भए पनि गरिब भए पनि उत्पादन गर्ने काम हो भनेको थियो । त्यसपछि उनीहरूले दुईटैलाई एउटैमा मिलाउनु पर्छ भन्न थाले । माओले यसका विरुद्ध क्रान्तिलाई पकड र उत्पादनलाई बढाऊको नारा दिनुभयो । अर्को कुरा टु कम्बाइन इन टु वन (दुईटा धनी र गरिब एउटैमा मिल्छन्) को जबाफ उहाँले वन डिभाइडेट टु (एकको दुईमा विभाजन) भन्नुभयो । यसको निकै ठूलो दार्शनिक अर्थ छ । यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको नयाँ आयाम हो ।

यस्तै माओले राजनीतिक अर्थशास्त्रमा सहरले गाउँलाई जोड्ने दुईटा खुट्टाले टेकेको अर्थशास्त्रको कुरा गर्नुभयो । रुसका संशोधनवादीहरूको नारा– ठूला उद्योगहरूमा जोड देऊ भन्ने थियो । माओले त्यसको विरोध गर्नुभयो र साना उद्योग र ठूला सबैमा हुनुपर्दछ भन्नुभयो । साना नबनीकन ठूला बन्दैनन् भन्नुभयो । उहाँले दुईखुट्टे अर्थ नीति लागू गर्नुभयो यो दुईखम्बे अर्थनीति माओको हो । अर्को कुरा वैज्ञानिक समाजवादमा माओले चिनियाँ समाजको वर्गविश्लेषण गर्नुभयो । यस्तो देशमा नयाँ जववादी क्रान्ति गर्नुपर्दछ भन्नुभयो । जहाँ पुँजीवाद आएको छैन त्यस्तो देशमा नयाँ जनवाद लागू गर्नुपर्दछ भन्नुभयो । जहाँ अर्धसामन्ती र अर्धऔपनिवेशिक देश छ, जहाँ नवऔपनिवेशिक देश छ त्यहाँ राष्ट्रियताको लडाइँ प्रमुख हुन्छ भन्नुभयो । अथवा अर्थतन्त्र नयाँ निर्माण गर्नुपर्दछ भन्नुभयो । उहाँले समाजवाद पनि ल्याउनुभयो ।

माओले १९४९ मा जनवादी क्रान्ति गर्नुभयो । १९५६ देखि समाजवादी क्रान्ति लागू गर्नुभयो । १९६६ देखि महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गर्नुभयो । यो महान् सर्वहारा सांस्कृतिक क्रान्ति आदतको सत्ताका विरुद्ध क्रान्ति हो । आज माओवाट सिक्ने कुरा भनेको हरेक घरमा समाजवाद लागू गर्ने कुरा हो ।

(नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेलामा दिएको मन्तव्यको सम्पादित अंश)
क्रमशः अर्को अङ्कमा

प्रतिक्रिया दिनुहोस्