माइतीघर मण्डलामा राष्ट्रघाती नागरिकता विधेयक जलाउँदै ६ दल

माइतीघर मण्डलामा राष्ट्रघाती नागरिकता विधेयक जलाउँदै ६ दल

काठमाडौँ : नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट पार्टी र मोर्चाले सरकारले ‘फास्ट ट्र्याक’ बाट ल्याउन लागेको राष्ट्रघाती नागरिकता विधेयक जलाउने भएका छन् । आज बसेको ६ दल÷मोर्चाको बैठकले भोलि अपराह्न ३ बजे माइतीघर मण्डलामा नागरिकता विधेयक जलाउने निर्णय गरेको हो । ६ दलको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय अत्यन्त पेचिलो भएकाले संयुक्त आन्दोलनमा साथ दिन सञ्चारमाध्यमलाई पनि आह्वान गरेको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीवकाका विषयलाई लिएर नेकपा (बहुमत), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी मसाल (केन्द्रीय समन्वय समिति), नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपाल आन्दोलनमा छन् । आन्दोलनरत ६ दलले महँगीविरोधी आन्दोलनका क्रममा यही २७ गते देशका मुख्यमुख्य सहरमा प्रदर्शन गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् ।

सरकारले नेपाली नागरिकहरूलाई नै अल्पमतमा पार्ने गरी दक्षिणी सीमावर्ती मुलुकका नागरिकलाई अनधिकृत रूपमा नेपालको नागरिकता दिन लागेको भन्दै लामो समयदेखि उक्त विधेयकका विरुद्ध आन्दोलन जारी छ । २०६३ सालको राजनीतिक आन्दोलनपछिको सङ्क्रमणकालीन अवधिमा तीनदलीय सहमतिमा तराई मधेस क्षेत्रबाट दक्षिणी मुलुकबाट नेपाल आएका लाखौँ विदेशीले नेपाली नागरिकता लिएको विषयमा निरन्तर विरोध हुँदै आएको छ । सीमावर्ती क्षेत्रमा भारतीय नागरिकहरूले सजिलै नेपालको नागरिकता लिने गरेको तर वास्तविक नेपाली नागरिकलाई भने नागरिकता लिन गाह्रो भएको भन्दै सरोकारवालाहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :