अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेलाको बन्द सत्र जारी, आठ समूह बनाएर छलफल हुँदै

अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेलाको बन्द सत्र जारी, आठ समूह बनाएर छलफल हुँदै

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलामा बन्द सत्र जारी छ । हिजो आइतबार पार्टी संयोजक कञ्चनले भेला उद्घाटन गरेका थिए । उद्घाटन सत्रपछि विशेष राष्ट्रिय भेलाका संयोजक मिलन राईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि ७७ जिल्लाका सात ब्युरोका सात समूह र कार्यालय तथा विश्वविद्यालयबाट एक समूहसमेत प्रतिनिधि÷पर्यवेक्षक र आयोजकलाई आठ समूहमा केन्द्रीकृत गरी विधान–प्रतिवेदनमाथि छलफल आरम्भ भएको थियो ।

सोमबार बिहानबाट सुदूरपश्चिम ब्युरो, कर्णाली ब्युरो, लुम्बिनी ब्युरो, गण्डक ब्युरो, मधेस ब्युरो, १ नं. ब्युरो, बागमती ब्युरो र कार्यालय तथा विश्वविद्यालय गरी आठवटै समूहमा विधान–प्रतिवेदनमाथि छलफल जारी छ । आज अपराह्न आठै समूहका टोली नेताले विधान–प्रतिवेदनमाथि आआफ्नो समूहका सुझावका साथ रिपोर्टिङ गर्ने कार्यक्रम रहेको जानकारी भेला आयोजक समितिका सहसंयोजक वीरेन्द्र शाहले दिए ।

अर्की उपसंयोजक रूपा बुढामगरका अनुसार संयोजक मिलन राईले समूहबाट प्राप्त सुझावहरूको प्रस्टीकरण दिएर परिमार्जनसहित विधान–प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । विधान–प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनप्रक्रिया आरम्भ हुने बताइएको छ । भेला मङ्गलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :