अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा, मार्च पास्टसहित आज काठमाडौँमा उद्घाटन

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज सुन्धाराबाट मार्च पास्टसहित र्याली निस्किने र टुँडिखेल र सहिद मञ्च परिक्रमा गरी विष्णुमतीकिनारमा रहेको परोपकार माविको प्रेक्षालयमा पुगेर उद्घाटन सत्रमा परिणत हुने अखिल क्रान्तिकारीले जनाएको छ । विशेष भेलाको उद्घाटन नेकपा (बहुमत) का संयोजक कञ्चनले गर्ने कार्यक्रम रहेको जानकारी आयोजकले दिएका छन् ।

भेला आयोजक समितिले दिएको जानकारीअनुसार देशका ७७ वटै जिल्लाबाट चार सयभन्दा बढी प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । आज १२ बजे रातो पोसाकमा सजिएका हजारौँ युवाले दलाल संसदीय व्यवस्था र शैक्षिक व्यापारीकरणविरुद्ध र वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका पक्षमा नारा लगाउनेछन् ।

र्यालीमा नेकपा (बहुमत) का संयोजक तथा भेलाका प्रमुख अतिथि कञ्चन, प्रवक्ता सुदर्शन, सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, सचिव चित्रबहादुर आले ‘पवन’, पार्टी केन्द्रीय कार्यालयका सदस्यहरू, सचिवालय सदस्यहरू, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरूको पनि उपस्थिति हुने जनाइएको छ ।

रातो पोसाकसहितका युवाहरूको मार्च पास्ट सुन्धारा, रत्नपार्क शान्तिबाटिका, पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै उद्घाटनस्थलमा पुग्ने जनाइएको छ ।

अखिल (क्रान्तिकारी) ले विशेष राष्ट्रिय भेलाका लागि ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु सङ्गठन र सङ्घर्षको दिशामा अघि बढौँ’ भन्ने मूल नारा तय गरेको छ । सङ्गठनले भूगोल जिल्लाहरूलाई क, ख र ग श्रेणीमा विभाजन गरेर विशेष राष्ट्रिय भेलामा विद्यार्थी प्रतिनिधित्व गराउन लागेको जनाइएको छ । राष्ट्रिय भेलाको बन्द सत्र असार १३ र १४ गते हुनेछ । असार १५ गते अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय भेलाले गरेका निर्णय, नीति र कार्यक्रम सार्वजनिक गरिने पनि जनाइएको छ ।

गत जेठ ११ र १२ गते बसेको अखिल क्रान्तिकारीको विशेष बैठकले मिलन राईको संयोजकत्वमा वीरेन्द्र शाह र रूपा बुढामगर सहसंयोजक रहेको ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :