क्रान्ति हाम्रै समयमा सम्भव छ, मुक्ति र परिवर्तनका लागि क्रान्तिको विकल्प छैन : मिलन राई

क्रान्ति हाम्रै समयमा सम्भव छ, मुक्ति र परिवर्तनका लागि क्रान्तिको विकल्प छैन : मिलन राई

विद्यार्थी आन्दोलन आफ्नो एजेन्डा र कार्यक्रममा विश्वस्त र प्रतिबद्ध छैन ।
समग्र विद्यार्थी आन्दोलनको गम्भीर समीक्षा गरी क्रान्तिकारी पुनर्गठनको आवश्यकता छ ।
दलाल पुँजीवादविरुद्ध निरन्तर सम्झौताहीन सङ्घर्ष गरिरहन आवश्यक छ ।
वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको सङ्घर्ष समाजवादी क्रान्तिसँग एकाकार गर्नैपर्दछ ।
बलिदानका लागि तयार भएर मात्र क्रान्तिप्रतिको दायित्व पूरा गर्न सकिन्छ ।
यो निराश भएर बस्ने समय होइन । हामीले क्रान्तिको पहल नयाँ शिराबाट गर्नु छ । क्रान्ति सम्भव छ, हाम्रै समयमा सम्भव छ । मुक्ति र परिवर्तनका लागि सङ्घर्षको विकल्प छैन ।

अन्तर्वार्ता : मिलन राई – संयोजक, अखिल (क्रान्तिकारी)

अखिल (क्रान्तिकारी) को संयोजक बन्नुभएकोमा बधाई छ मिलनजी ! विशेष राष्ट्रिय भेलाको तयारी कस्तो भइरहेको छ ?

धन्यवाद ! विशेष राष्ट्रिय भेलाको तयारी करिब सकिएको छ । असार १२ गते आइतबार १२ बजेबाट सुन्धाराबाट र्याली सुरु हुनेछ । भेलाको उद्घाटन नेकपा (बहुमत) का संयोजक क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गर्नुहुनेछ । बन्दसत्र १३ र १४ गते हुनेछ । भेलामा देशैभरका प्रतिनिधि/पर्यवेक्षकको सहभागिता रहनेछ ।

विद्यार्थी आन्दोलनको पछिल्लो अवस्था कस्तो छ ? भेला कुन–कुन विषयमा केन्द्रित हुँदैछ ?

नेपाली विद्यार्थी आन्दोलनको इतिहास सङ्घर्ष, बलिदान र विजयको गौरवपूर्ण गाथाले भरिएको छ । यतिबेला विद्यार्थी आन्दोलन आशङ्का, अविश्वास र नैतिक सङ्कटको उत्कर्षमा छ । स्वरूपमा जीवित छ, चरित्रमा प्रभावी छैन । पार्टीको भ्रातृ सङ्गठनका रूपमा क्रियाशील तर प्रतिपक्षी आन्दोलनको भूमिकामा विघटनको सङ्घारमा छ । समग्र विद्यार्थी आन्दोलन सङ्घर्षमा ऊर्जावान छैन । प्रयत्नमा सिर्जनशील देखिँदैन । संरचना छ, आन्दोलन छैन । समग्रमा विद्यार्थी आन्दोलन आफ्नो एजेन्डा र कार्यक्रममा विश्वस्त र प्रतिबद्ध छैन । समग्र विद्यार्थी आन्दोलनको गम्भीर समीक्षा गरी क्रान्तिकारी पुनर्गठनको आवश्यकता छ ।

हाम्रो राष्ट्रिय भेलाले समग्र विद्यार्थी आन्दोलन र हाम्रो आफ्नै प्रयत्न र भूमिकाको समीक्षा गर्नेछ र सकारात्मक र नकारात्मक शिक्षाका आधारमा नयाँ सङ्घर्षका निशानाहरू ठोस गर्नेछ । विचार, दृष्टिकोण र एजेन्डाका आधारमा सुस्पष्ट सङ्गठन निर्माण गर्नेछ । दलाल तथा निगम पुँजीवादी वर्तमान शिक्षाप्रणालीको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक अवधारणा प्रस्ताव गर्नेछ र व्यापक बहस गर्नेछ । विद्यार्थी आन्दोलनको नयाँ आवश्यकतामा नयाँ नेतृत्वको चयन गर्नेछ । अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नेछ र विघटनको सङ्घारमा पुगेको विद्यार्थी आन्दोलनलाई नयाँ परिस्थितिमा क्रान्तिकारी आवश्यकतामा पुनर्गठनको सूत्रपात गर्नेछ ।

यसअघि तपाईं आबद्ध सङ्गठन, अरू विद्यार्थी सङ्गठन र तपाईंले नेतृत्व गरेको सङ्गठनबीच केकस्ता समानता र भिन्नताहरू छन् ?

विद्यार्थी सङ्गठनको निर्माण कम्युनिस्ट आन्दोलनबाट प्रभावित भएर गरिएको हो । संसद्‌वादी विद्यार्थी सङ्गठन र हाम्रो सङ्गठनबीच विचार, दृष्टिकोण, संस्कृति, कार्यक्रम, व्यवहार, कार्यशैली र बझाइमा भिन्नता छ । शैक्षिक सङ्घर्षलाई राजनीतिक सङ्घर्षबाट अलग गर्न खोज्ने वा देख्ने अर्थवादी दृष्टिकोण संसद्‌वादी विद्यार्थी सङ्गठनमा देखिन्छ । हाम्रो सङ्गठन राजनीतिक सत्ताको चरित्रले शिक्षालाई निर्धारित गर्ने विषयमा स्पष्ट छ । तत्कालीन हिसाबले शैक्षिक सुधार र दीर्घकालीन हिसाबले आमूल रूपान्तरणका लागि वैज्ञानिक समाजवादी क्रान्तिमा भूमिका निर्वाह गर्नुपर्ने विषयमा स्पष्ट छ । संसद्वादी विद्यार्थी सङ्गठनमा देखिएको भजनमण्डली र हनुमानगिरी प्रवृत्तिको विकल्पमा हाम्रो सङ्गठनले गुण र दोषका आधारमा समर्थन र विरोधसँगै रूपान्तरणका लागि प्रयत्न र विद्रोहसमेत गर्दै आफ्नो रचनात्मक, प्रतिपक्षी र क्रान्तिकारी चरित्रको विरासत कायम गर्दै आएको छ । हाम्रो सङ्गठनको प्रयत्न सङ्घर्ष, फेरि पनि सङ्घर्ष अनि उपलब्धिको छ । संसद्वादी विद्यार्थी सङ्गठनका नेता–कार्यकर्ता ठेक्कापट्टा, निजी शैक्षिक संस्थामा लगानी, मन्त्रालयमा नियुक्तिलगायतमा भेटिन्छन् । यसबाट प्रस्ट हुन्छ– उनिहरूको प्रयत्न कता छ ? यद्यपि व्यवहार र प्रयत्न जे भए पनि सबै विद्यार्थी सङ्गठनले शैक्षिक सुधार र आमूल रूपान्तरणको उद्देश्य राखेका छन् जसलाई समानताका रूपमा ग्रहण गर्न सकिन्छ ।

नेपालका शैक्षिक समस्या के हुन् ? यसको समाधान गर्ने तपाईंहरूसँग के नारा र कार्यक्रमहरू छन् ?

नेपालको शिक्षामा निजीकरण, व्यापारीकरण, भ्रष्टाचार र साम्राज्यवादी हस्तक्षेपको समस्या छ । नेपालको शिक्षा परम्परागत, अव्यावहारिक, अवैज्ञानिक र अनुत्पादक छ । नेपालको आवश्यकतामा भन्दा पनि साम्राज्यवादको आवश्यकतामा जनशक्ति उत्पादन गरिन्छ । चरम व्यापारीकरण र निजीकरण हुनुले शिक्षा महँगो छ । आमजनताको पहुँच छैन । प्राविधिक र उच्च शिक्षा हुनेखाने वर्गको पेवाजस्तै बनेको छ । उत्पादित जनशक्ति कि विदेश पलायन भएको छ कि त बेरोजगार छ । विश्वविद्यालयहरू राजनीतिक भागबन्डाले तहसनहसको अवस्थामा छन् । शिक्षामा चरम भ्रष्टाचार र अनियमितता छ । नेपालको शिक्षाले असमानताको ठूलो खाडल निर्माण गरेको छ ।

उल्लिखित सबै समस्याको दीर्घकालीन समाधान वैज्ञानिक समाजवादी शिक्षा हो । वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्थाबिना सम्भव छैन । तत्कालीन हिसाबले शैक्षिक सुधार, निजीकरण र व्यापारीकरणको अन्त्य, शिक्षामा २०% बजेटको व्यवस्था, समानताका लागि सङ्घर्षलगायत विषय अहिलेका लागि नारा र कार्यक्रम बनाउन उपयुुक्त हुनसक्छ । सम्झौताहीन निरन्तर सङ्घर्ष गरिरहन आवश्यक छ ।

नेकपाबाट विद्रोह गरेर नेकपा (बहुमत) निर्माण भएको छ । राजनीतिक र शैक्षिक आन्दोलनलाई कसरी परिपूरक बनाएर अघि बढाउँदै हुनुहुन्छ ?

नेकपासँगको विद्रोह माक्र्सवादको विकास र सिर्जनशीलताका नाममा माक्र्सवादको आधारभूत विषय नै तोडमोड गर्ने र मार्क्सले भनेभन्दा कमा र पूर्णविरामसम्म परिवर्तन गर्नु हुँदैन भन्नेहरूले पैदा गरेको समस्याको समाधान हो । विचार, दृष्टिकोणलाई तिलाञ्जली दिएर अनुहार र व्यक्तिमा क्रान्ति खोज्नेहरूलाई जबाफ हो । क्रान्तिकारी विचारको रक्षा र पुनर्गठन हो । हाम्रो सङ्गठनले उक्त विद्रोह र पुनर्गठनलाई दृढ समर्थन गरेको छ ।

शैक्षिक आन्दोलन राजनीतिक आन्दोलनकै परिपूरक आन्दोलन हो । कुनै पनि मुलुकको शिक्षाले त्यो मुलुकको राजनीतिक सत्ताको सेवा गर्दछ । हामीले भनेको समाजवादी शिक्षाले वैज्ञानिक समाजवादको सेवा गर्ने हो । हाम्रो सङ्गठनको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको सङ्घर्ष समाजवादी क्रान्तिसँग एकाकार गर्नैपर्दछ । अब वैज्ञानिक समाजवादी क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गरेर नेकपा (बहुमत) को नेतृत्वमा हुँदै गरेको आन्दोलनमा विद्यार्थी आन्दोलन परिपूरक बन्नेछ । बलिदानका लागि तयार भएर मात्र क्रान्तिप्रतिको दायित्व पूरा गर्न सकिने विषयमा स्पष्ट र प्रतिबद्ध छौँ ।

जनवादी–वैज्ञानिक शिक्षाको नारा कमजोर बन्दै गएको हो कि भन्ने भ्रम छ । वास्तविकता के हो ?

नारा कमजोर भएको होइन, प्रयत्नचाहिँ कमजोर भएको हो । विद्यार्थी सङ्गठनहरूमा दृष्टिकोण र प्रतिबद्धताको अभाव भएको हो । जनता र विद्यार्थी अहिलेको दलाल तथा निगम पुँजीवादी शिक्षाको विकल्पमा वैज्ञानिक समाववादी शिक्षा चाहान्छन् र यो सङ्ख्या बढिरहेको छ । समाजवादी शिक्षाको नारा आमजनसमुदायमा प्रचलित र प्रिय छ । विद्यार्थी सङ्गठनको ठोस र प्रभावकारी पहल र विद्यार्थी नेताहरूमा देखिएको भ्रष्टीकरण र विचलनका कारण समाजवादी शिक्षाको नारा कमजोर देखिएको जस्तो भएको हुनसक्छ । वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता झन् बढेर गएको छ । हामीले व्यापक प्रचार र निर्णायक सङ्घर्ष गर्न जरुरी छ । विश्वका जति पनि मुलुकको शिक्षाप्रणालीको प्रशंसा हुन्छ ती मुलुकहरूले समाजवाद र समाजवादी शिक्षाको मुटु चोरेर लागू गरेका छन् ।

राज्य पक्षसँग तपाईहरूका माग र अपेक्षा के छन् ?

यो राज्य दलाल पुँजीवादी छ । सरकार साम्राज्यवादको कठपुतली छ । संसदीय नेता साम्राज्यवादका दलालमा विकृत भएका छन् । यस्तो राज्य, सरकार र नेता हुँदा जनताले खास अपेक्षा गर्नुपर्ने ठाउँ त हुँदैन तर यो राज्यले हाम्रो पार्टीसँग गरेको ३ बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्दछ । सम्पूर्ण झूट्टा मुद्दा खारेज गरी हाम्रो सङ्गठनका केन्द्रीय नेता विकास राईलगायत सम्पूर्ण आस्थाका बन्दीहरूलाई यथाशीघ्र रिहा गर्नुपर्दछ । बेपत्ता नागरिक सार्वजनिक गरिनुपर्दछ ।

हाम्रो मागलाई यो दलाल राज्यले सम्बोधन गर्नेमा विश्वास त छैन यद्यपि तत्कालीन हिसाबले शिक्षामा भएको निजीकरण, व्यापारीकरण अन्त्य गरी तत्कालीन हिसाबले कम्तीमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गर्नुपर्छ, विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्दछ । सम्पूर्ण शिक्षामा नागरिकको समान पहुँच कायम गरिनुपर्दछ भन्ने हाम्रो दृष्टिकोण छ ।

विशेष राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा देशभरका विद्यार्थी, अभिभावक र शिक्षकलाई के सन्देश दिनुहुन्छ ?

यो निराश भएर बस्ने समय होइन । हामीले क्रान्तिको पहल नयाँ शिराबाट गर्नु छ । क्रान्ति सम्भव छ, हाम्रै समयमा सम्भव छ । मुक्ति र परिवर्तनका लागि सङ्घर्षको विकल्प छैन । विद्यार्थी, अभिभावक र शिक्षकलाई आफ्नो भूमिकामा जिम्मेवार बनौँ, इमानदार बनौँ हरेक खराबीविरुद्ध निरन्तर सङ्घर्ष गरौँ भन्ने सन्देश दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :