राष्ट्रघाती सम्झौता र मूल्य वृद्धिको विरोधमा चार कम्युनिस्ट पार्टीद्वारा बुटवलमा प्रदर्शन

राष्ट्रघाती सम्झौता र मूल्य वृद्धिको विरोधमा चार कम्युनिस्ट पार्टीद्वारा बुटवलमा प्रदर्शन

राष्ट्रघाती सम्झौता एमसीसी–एसपीपी, पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धिको विरोधमा नेकपा (बहुमत) लगायत ४ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा बुटवलमा प्रदर्शन गरिएको छ ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य प्रेम सुवेदीले राष्ट्रघात र जनजीविकाको सवालमा आफूहरूले निरन्तर आन्दोलन गरिरहेको बताए । नेता सुवेदीले राज्यले जनताको अपेक्षा र चाहनाविपरीत राज्यले कालोबजारी, कमिसनखोर र भ्रष्टाचारीलाई पक्षपोषण गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । साम्राज्यवादको डिजाइनमा सरकारले दिन–प्रतिदिन राष्ट्रघाती सम्झौता गरेको भन्दै उनले सम्झौताहीन सङ्घर्ष गर्न उद्घोषसमेत गरे ।

नेकपा (बहुमत) रूपन्देही इन्चार्ज प्रवेशले दलाल सरकारले जनताको घाँटी निमोठेर दलालहरूको हातपाउ मोलिरहेको भन्दै त्यसका विरुद्ध जनताले भीषण लडाइँ लड्नु अपरिहार्य रहेको बताए । नेता प्रवेशले दलाल, भ्रष्टाचारी, मिटरब्याजी, वित्तीय संस्थाहरूले जनतालाई हदैसम्मको दुःख दिएको भन्दै यो व्यवस्था र सरकारबाट जनताले मुक्तिको सास फेर्न पाउने कल्पनासमेत गर्न नसकिने बताए । राष्ट्रघात गर्ने र त्यसलाई सघाउने जोकोहीलाई जनताले बहिष्कार गरेकोमा खुसी लागेको उनले बताए ।

नेकपा (मसाल) समन्वय समितिका नेता बाबुराम आचार्यले राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर्न माग गर्दै जनताको दबाबको कारणले संसद्वादी दलहरू पनि एसपीपी सम्झौताको विपक्षमा बोल्न बाध्य भएको बताए । नेता आचार्यले जनताको चुलो बल्न छाड्ने अवस्था आउन लागेकाले सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनु जनताप्रति घात र जनताको विश्वासको अवमूल्यन भएको प्रस्ट पारे ।

नेकपा (माओवादी समाजवादी) का केन्द्रीय उपाध्यक्ष विनोद उपाध्यायले जनतालाई महँगी र राष्ट्रघातको दलदलमा फसाउने सरकार जनताको सरकार हुन नसक्ने बताए ।

संयुक्त विरोध कार्यक्रम पुष्पलाल पार्कदेखि र्यालीसहित नयाँ बसपार्कमा पुगेर सभामा परिणत भएको थियो । विरोध कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का नेता राजु भुजेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :