अखिल क्रान्तिकारीद्वारा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको कडा प्रतिवाद गर्न आह्वान

अखिल क्रान्तिकारीद्वारा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको कडा प्रतिवाद गर्न आह्वान

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले अमेरिकी साम्राज्यवादी हस्तक्षेपको कडा प्रतिवाद गर्न आह्वान गरेको छ । क्रान्तिकारीका केन्द्रीय संयोजक मिलन राईले बुधबार विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका जर्नेल चाल्र्स एन्थोनी फिलिनले नेपालको विशेष भ्रमणका क्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटघाट गरी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को १० बुँदे राष्ट्रघाती सम्झौता प्रस्ताव गरेको विषयले अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

संयोजक राईले विज्ञप्तिमा भनेका छन्, ‘एसपीपी सम्झौतामा भएको दफा र पछिल्ला घटनाक्रमले राष्ट्रघाती MCC सम्झौतामार्फत नेपाललाई हिन्द–प्रशान्त रणनीतिको अङ्ग बनाएको पुष्टि गर्दछ । यसले नेपालको सार्वभौमिकता, पञ्चशीलको सिद्धान्तलगायत नेपालको असंलग्न परराष्ट्र नीतिको विरुद्धमा धावा बोलेको छ । चीन र भारतजस्ता विशाल मुलुकका बीचमा अवस्थित हाम्रो नेपालका लागि यो सर्वाधिक घातक छ । यसप्रकारको अमेरिकी हस्तक्षेप र षड्यन्त्रको अखिल (क्रान्तिकारी) घोर विरोध र भत्र्सना गर्दछ ।’

संयोजक राईद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

त्याग, समर्पण र बलिदानको जगमा गौरवपूर्ण इतिहास निर्माण गरेको विद्यार्थी आन्दोलनको नेता सङ्गठन अखिल (क्रान्तिकारी) राष्ट्रियताको पहरेदारका रूपमा भूमिका निर्वाह गर्दै आएको छ ।

अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका जर्नेल चाल्र्स एन्थोनी फिलिनले नेपालको विशेष भ्रमणका क्रममा नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटघाट गरी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) १० बुँदे राष्ट्रघाती सम्झौता प्रस्ताव गरेको विषयले अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ । एसपीपी सम्झौतामा भएको दफा र पछिल्ला घटनाक्रमले राष्ट्रघाती MCC सम्झौतामार्फत नेपाललाई हिन्द प्रशान्त रणनीतिको अङ्ग बनाएको पुष्टि गर्दछ । यसले नेपालको सार्वभौमिकता, पञ्चशीलको सिद्धान्तलगायत नेपालको असंलग्न परराष्ट्र नीतिको विरुद्धमा धावा बोलेको छ । चीन र भारतजस्ता विशाल मुलुकका बीचमा अवस्थित हाम्रो नेपालका लागि यो सर्वाधिक घातक छ । यसप्रकारको अमेरिकी हस्तक्षेप र षड्यन्त्रको अखिल (क्रान्तिकारी) घोर विरोध र भत्र्सना गर्दछ ।

नेपालका दलाल शासकहरूले अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गरेर नेपाललाई साम्राज्यवादको युद्धको क्रीडास्थल बनाउन स्वीकृति दिने कुरा अखिल (क्रान्तिकारी) लाई किमार्थ सह्य छैन । अमेरिकी षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृति दिने शेरबहादुर देउवा सरकार साम्राज्यवादको दलाल र कठपुतली भएको पुनः पुष्टि भएको छ । राष्ट्रियताजस्तो अति संवेदनशील विषयलाई हल्का ढङ्गले लिई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) १० बुँदे सम्झौता नगर्न गम्भीर चेतावनी दिन चाहन्छौँ । सम्झौतामा हस्ताक्षर गरेर नेपाललाई साम्राज्यवादी युद्धको क्रीडास्थल बनाउन खोजिन्छ भने अखिल (क्रान्तिकारी) कडाभन्दा कडा सङ्घर्ष गर्न बाध्य हुनेछ । MCC र SPP सम्झौतामार्फत भइरहेको अमेरिकी साम्राज्यवादको हस्तक्षेपको कडा प्रतिवाद गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी, युवा–विद्यार्थी, बुद्धिजीवीलगायत आमजनसमुदायलाई अखिल (क्रान्तिकारी) हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :