संसदीय व्यवस्थाप्रति जनताको चरम अविश्वास

चुनावका नाउँमा भएको अशान्ति, हत्या र मृत्युले व्यवस्था नै ज्यानमारा साबित : सुदर्शन

संसदीय व्यवस्थाप्रति जनताको चरम अविश्वास

काठमाडौँ : देशभर चरम अविश्वास, तिरस्कार, किनबेच, झडप, हत्या, मृत्यु र न्यून मतदान दिएर गएको कथित स्थानीय तहको चुनाव र यो दलाल पुँजीवादी व्यवस्थालाई संश्लेषण गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले यो व्यवस्था रहेसम्म अविश्वास र हत्या–मृत्युका शृङ्खला दोहोरिरहने संश्लेषण गरेको छ । शुक्रबार कथित चुनावका नाउँमा देशभर देखिएका हत्या, हिंसा, दुर्घटना र न्यून मतदानपछि पार्टी केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीका नेता सुदर्शनले भनेका छन्, ‘संसदीय व्यवस्थाअन्तर्गत हुने चुनाव ज्यानमारा साबित भएको र यो व्यवस्था रहेसम्म चुनाव शान्तिपूर्ण नहुने कुरा आमजनसमुदायलाई स्पष्ट पार्न चाहन्छौँ ।’

पार्टी केन्द्रीय सदस्य सुदर्शनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘स्याङ्जा जिल्लाअन्तर्गत वालिङ नगरपालिका १४ को पञ्चमूल अर्खलबासका मतदाता बोकेको ग २ च ३०२६ नम्बरको डबल क्याब जिप सिक्रेबाट तिवारी पसलतिर झर्दै गर्दा दुर्घटनाग्रस्त भई १४ जनाको मृत्यु भएको; रुकुम जिल्लाअन्तर्गत बाँफीकोट ७ मा संसदीय दलहरूको चुनावी झडपमा परी पर्जे खत्रीको मृत्यु भएको; उदयपुर जिल्लाअन्तर्गत कटारी न. पा. १० सोरुङ छबिसेमा प्रहरीको गोलीबाट १९ वर्षीय वीरबहादुर कटुवाल (नवीन) को मृत्यु भएको; देशव्यापी चुनावी झडपहरूबाट कैयौँ नागरिकहरू घाइते भएको स्थितिमा नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गम्भीर ध्यानाकर्षण भएको छ । हामी मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोकाकुल परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । यसका साथै संसदीय व्यवस्थाअन्तर्गत हुने चुनाव ज्यानमारा साबित भएको र यो व्यवस्था रहेसम्म चुनाव शान्तिपूर्ण नहुने कुरा आमजनसमुदायलाई स्पष्ट पार्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :