वैज्ञानिक समाजवादका आधारहरू

वैज्ञानिक समाजवादका आधारहरू

१) सन्दर्भ

‘साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरू विचारधारात्मक र सामाजिक व्यवस्थाहरूभन्दा बेग्लै छ । यो मानवइतिहासमा सबभन्दा प्रगतिशील, क्रान्तिकारी र युक्तिसङ्गत व्यवस्था हो । सामन्तवादको विचारधारात्मक र सामाजिक व्यवस्था त अब इतिहासको अजायब घरमा मात्र रहेको छ । पुँजीवादको विचारधारात्मक र सामाजिक व्यवस्था पनि संसारको एक भागमा (सोभियत सङ्घमा) अजायब घरको एक चीज भइरहेको छ र अरू देशहरूमा यो छिटोछिटो डुब्दै गइरहेको मरणशील मान्छे, पश्चिममा पहाडतिर अस्ताउन लागेको सूर्यझैँ छ र यसलाई छिट्टै अजायब घरमा लगेर राखिनेछ । साम्यवादको विचारधारात्मक र सामाजिक व्यवस्था मात्रै आज सुन्दर जवानीले भरिभराउ छ । यो पहाड पन्छाउने र समुद्र पल्टाउने गति र बज्रको शक्ति लिएर संसारमा फिँजिँदैछ ।’

माओ, नौलो जनवादका विषयमा, जनवरी १९४०, प्रगतिशील प्रकाशन, माओका उद्धरण उक्तिहरू, २०५९ ।

विश्वमा वैज्ञानिक समाजवाद– साम्यवाद सर्वोत्कृष्ट अन्वेषण, समाज व्यवस्था र मानव सभ्यता हो । वैज्ञानिक समाजवाद– साम्यवाद कमरेड लेनिनको संश्लेषणमा सर्वशक्तिमान, सत्य, सम्पूर्ण र सुसंगत छ । यसको सैद्धान्तिक पुष्टि भएको आज १७४ वर्ष प्रारम्भ भएको छ । यसको व्यावहारिक पुष्टि सर्वप्रथम सन् १८७१ को पेरिस कम्युन, सन् १९१७ को सोभियत रुस, १९४९ को चीन तथा पूर्वी युरोपका देशहरू, मङ्गोलिया, जनगणतन्त्र कोरिया, भियतनाम, क्युबा, कम्बोडिया इत्यादि देशहरूमा भयो । रुसी अक्टोबर क्रान्तिदेखि २० औँ शताब्दीको ७० को दशकसम्म वैज्ञानिक समाजवाद सफल र लोकप्रिय थियो । यसले मानवजातिको उच्चतम् सभ्यताको नेतृत्व गरेको थियो । ९० को दशकमा समाजवाद असफल भयो । विश्वमा पहिलो वैज्ञानिक समाजवादी देश सोभियत सङ्घ र पूर्वी युरोपमा पुँजीवादको पुनरावृत्ति भयो । अन्य समाजवादी देशहरूले पनि समाजवादी सत्तालाई नयाँ ढाँचामा ढाल्न पुगे । सोभियत सङ्घ र पूर्वी युरोपमा प्रतिक्रान्ति भए पनि आज पनि चीन, क्युबा, जनगणतन्त्र कोरिया, कम्बोडिया र भियतनाममा सामजवादी सत्ताहरू आआफ्नो सापेक्षता एवम् मौलिकतामा चलिरहेका छन् । ‘समाजवाद स्वप्नद्रष्टाहरूको मनगढन्ते कुरा होइन । यो त आधुनिक समाजमा उत्पादक शक्तिहरूको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो (मार्क्स–एङ्गेल्स, सङ्कलित रचनाहरू, खण्ड १, पृष्ठ १५) ।’ मार्क्स–एङ्गेल्सको यो सारगर्वित संश्लेषणले वैज्ञानिक समाजवाद– साम्यवाद कसैको कुनै सपना नभएर वास्तविकता र जीवन हो भन्ने इतिहासमा पुष्टि भैसकेको छ । वैज्ञानिक समाजवाद सर्वोत्कृष्ट विचार, विश्वदृष्टिकोण, सर्वशक्तिमान, सत्य, सम्पूर्ण समाज व्यवस्था र मानव सभ्यता हो । पूर्वसोभियत सङ्घमा पुँजीवादको पुनरावृत्ति र चीनमा माओको निधनपछि वैज्ञानिक समाजवादी क्रान्तिमा केही अवरोध आएको छ । फिलिपिन्समा सन् १९७८, पेरूमा सन् १९८३, नेपालमा सन् १९९६ र भारतमा सन् १९७२ देखि क्रान्ति अगाडि आए पनि सफल हुन सकेका छैनन् । ती परिघटनाहरूलाई आधार बनाएर पुँजीवादका हिमायती एवम् विश्लेषकहरू उत्तरआधुनिकतावाद विश्वसाम्राज्यवादले अघि सारेको दृष्टिकोण डानियल बेलबाट सुरु भएर र फ्रान्सिस फुकोयामाको ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ भन्ने थोत्रो किताबमा समाजवाद सत्ताका लागि पराजित भएको भ्रमपूर्ण एवम् हावादारी निष्कर्ष निकाल्दै ‘इतिहासको अन्त्य’, ‘विचारधारात्मक युगको अन्त्य’ र ‘संसदीय व्यवस्थाको विजय’ भएको घोषणा गरे । पुँजीवादमा विकास भएका अर्थ–राजनीतिक अन्तरविरोध एवम् सङ्कटलाई उसले समाधान दिन नसकेपछि राज्यको क्रान्तिकारी एवम् अग्रगामी रूपान्तरणका लागि कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा वैज्ञानिक समाजवादी– साम्यवादी राजनीतिक व्यवस्थाको अनुसन्धान भएको थियो जुन अनुसन्धानले मानव जातिको इतिहासमा अभूतपूर्व प्रभाव पारेको थियो । त्यसले नै पुँजीवादको समाधान पनि दियो । मार्क्स–एङ्गेल्सले साम्यवादी सिद्धान्तको अनुसन्धान गरेर हरेक प्राकृतिक वस्तुको जन्म र मृत्यु अनिवार्य हुन्छ भन्ने साबित गर्नुभयो । त्यसैगरी राजनीतिक व्यवस्थाहरूको पनि जन्मसँगै मृत्यु हुन्छ । यो बाह्य कारणले भन्दा वस्तु आफैँभित्र पैदा हुने अन्तरविरोध र सङ्घर्षका कारण जन्मन्छन् र मर्दछन् । पुरानाको विघटन हुन्छ भने नयाँले जन्म लिन्छ । यो ब्रह्माण्डमा पृथ्वी, सूर्य, मानिस र हरेक वस्तुको आयु छ । विश्वसाम्राज्यवाद र नवउदारवादको पनि अन्त्य हुनेछ । ढुङ्गेयुगको मृत्युमा दासयुगको जन्म, दासयुगको मृत्युमा सामन्ती युगको जन्म, सामन्ती युगको मृत्युमा पुँजीवादी युगको जन्म भएबाट यसको पुष्टि भयो । यो सार्वभौम नियम सङ्कटको पराकाष्ठामा पुगेको दलाल पुँजीवादी संसदीय व्यवस्था, विश्वसाम्राज्यवादको अन्त्य र वैज्ञानिक समाजवाद– साम्यवादको जन्ममा पनि लागू हुन्छ । पुँजीवादी संसदीय व्यवस्था तथा विश्वसाम्राज्यवादको अन्त्य र वैज्ञानिक समाजवाद– साम्यवादको विजय अवश्यम्भाबी हुनेछ ।

२) पृष्ठभूमि

मानव–समाज विज्ञानको अध्ययनले मानिस प्रकृतिको बहुआयामिक रचना र सामाजिक प्राणी हो । समाजबिना मानिसको अस्तित्व असम्भव छ । समाजशास्त्रले मानिसको आचरण, नीतिनियम, मूल्य र मान्यतालाई समाजीकरणको पूर्वाधार मान्दछ । मानवशास्त्रले मानिसलाई सामाजिक मूल्य र मान्यतासहितको ऊध्र्वगामी र स्वार्थी प्रवृत्तिको प्राणी ठान्दछ । युभल नोहा हरारीले देवत्वकरण, दीर्घजीवी र सुखलाई हरेक मानिसमा अन्तरनिहित चाहना बताएका छन् । समाज एवम् समाजवाद मानिसको सभ्यता, संस्कृति र जीवन पद्धति हो । समाजवाद मानव समाजको प्रारम्भदेखि नै मानवजातिले आत्मसात गर्दै आएको मान्यता एवम् समाज व्यवस्था हो ।

समाजवादको इतिहासको अध्ययनले पूर्वमा वैदिक कालदेखि नै मानवजातिले आफ्नो साहचर्य जीवनशैलीका रूपमा अपनाउँदै आएको देखिन्छ । पश्चिममा प्राचीन ग्रिस र रोमका नगर–राज्यहरूमा स्थापित सिभिल–सोसाइटीदेखि नै समाजवादका उषाकिरणहरू देखापरेका थिए । त्यसपछि प्लेटोले आफ्नो रिपब्लिक पुस्तकमा सम्पत्ति तथा परिवारको समाजवादी स्वरूप प्रस्तुत गरेपछि यसले संस्थागत रूप लिन थालेको पाइन्छ । पश्चिमका प्राचीन तथा मध्ययुगीन धेरै विद्वान्हरूले समाजवादको प्रारूपको चर्चा गरेका थिए । मध्ययुगीन रोममा धार्मिक समाजवादी व्यवस्थाका अवधारणाहरू पाइन्छन् । सोह्रौँ शताब्दीमा इङ्ल्यान्डका समाज–दार्शनिक थोमस मुरले ‘कल्पनालोक’ (युटोपिया) पुस्तकमा एउटा आदर्श समाजवादी व्यवस्थाको चित्रण गरेका थिए । तिनै वैचारिक तथा व्यावहारिक पृष्ठभूमिमा १८ औँ र १९ औँ शताब्दीमा सेन्ट साइमन, चाल्र्स फोरियर, रोबर्ट आबेन आदि समाज–दार्शनिकहरूले काल्पनिक एवम् आदर्शपूर्ण समाजवादी सिद्धान्तको व्याख्या गरेका थिए । ती पुराना विचार र प्रयोगको सारमा पुअरमेन्स गार्जियनले सन् १८३३ मा पहिलोपल्ट ‘समाजवाद’ शब्दको प्रयोग गरेका थिए । त्यसपछि जर्मन दार्शनिक कार्ल मार्क्स–एङ्गेल्सले सन् १८४८ को कम्युनिस्ट घोषणापत्र र माक्र्सले सन् १८६७ मा पुँजी लेखेपछि समाजवाद मात्र होइन, वैज्ञानिक समाजवादको प्रादुर्भाव भयो । विभिन्न कालखण्डमा राजनीतिक एवम् समाजवादी विद्वान्हरूले समाजवादका बारेमा आफ्ना विचारहरू व्यक्त गरेका छन् । ब्रोड्लेले भनेका छन्, ‘समाजवाद व्यक्तिगत सम्पत्तिलाई स्वीकार्दैन र यसले राज्यका रूपमा सङ्गठित समाजले सम्पूर्ण धनको स्वामी बन्न पाउनुपर्छ । साथै त्यस सम्पत्तिलाई समस्त श्रमको सञ्चालनमा लगाइनुपर्छ र समस्त उत्पादनको समान वितरण हुनुपर्छ भन्ने चाहन्छ ।’ उनको त्यो विचारसँग अलेक्जेन्डर ग्रेका र इन्साइक्लोपिडिया ब्रिटानिकाले समान धारणा व्यक्त गरेका थिए । सेलर्सले ‘समाजवाद एक लोकतान्त्रिक आन्दोलन हो जसको उद्देश्य समाजको एउटा यस्तो आर्थिक सङ्गठन स्थापित गर्नु रहेको छ जसले एक समयमा एकैसाथ अधिकतम् न्याय र स्वतन्त्रता दिन सकोस्’ र प्रो. पिगुले ‘उत्पादनका साधनमा व्यक्तिगत अधिकारलाई पुँजीवाद भनिन्छ भने तिनै साधनमा सामाजिक अधिकारलाई समाजवाद भनिन्छ’ भनेका छन् । हम्फीले ‘समाजवाद एक सामाजिक व्यवस्था हो जसअन्तर्गत जीवनका साधनमाथि सम्पूर्ण समाजको स्वामित्व हुन्छ र पूरा समाज सामान्य कल्याणलाई बढाउने उद्देश्यले यसको विकास प्रयोग गर्दछ’ भनेका थिए । ह्युगनले ‘समाजवाद श्रमिक वर्गको एक आन्दोलन हो जसको उद्देश्य उत्पादन र वितरणको आधारभूत साधनमा सामूहिक स्वामित्व र प्रजातान्त्रिक व्यवस्थापनद्वारा शोषणको अन्त्य गरिन्छ’ भनेका थिए । इमाइलले ‘समाजवाद श्रमिकको यस्तो सङ्गठन हो जसको उद्देश्य पुँजीवादी सम्पत्तिमा परिवर्तन गर्नका लागि राजनीतिक सत्ता प्राप्त गर्दछ’ भनेका थिए । विद्वान्हरूले व्यक्तिलाई भन्दा समाजलाई प्राथमिकता, व्यक्तिलाई समाजको अङ्ग, पुँजीवादको अन्त्य, आर्थिक खुला प्रतियोगिता एवम् मनोमानीपूर्ण उत्पादनको अन्त्य, उत्पादनका सबै साधनमाथि समाजको अधिकार, राष्ट्रियकरण, सामाजीकरण, मानवीय अवस्थाको समानताको समर्थन, व्यक्तिगत लाभको ठाउँमा सामाजिक सेवा, राज्यको कामको समर्थन, उत्पादनका साधनको सामाजीकरण, विकास रणनीतिमा केन्द्रीय नियन्त्रण, श्रमको सामाजिक चरित्र, उत्पादन सम्बन्धमा समानता, न्यायपूर्ण वितरण र व्यवस्थापनलाई समाजवादको मूल सिद्धान्त बताएका छन् ।

वैज्ञानिक समाजवाद– साम्यवाद राज्यव्यवस्था र मानवसभ्यता सम्बन्धमा उन्नाईसौँ शताब्दीमा मार्क्स र फ्रेडरिक एङ्गेल्सको अभूतपूर्व खोज हो । जर्मनीमा जन्मिनुभएका कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले उन्नाईसौँ शताब्दीको मध्यतिर पुँजीवादी सभ्यताको केन्द्र युरोपबाट यो सिद्धान्तको खोज गर्नुभएको थियो । त्यतिबेला समाजमा पुँजीवादको उदयले सर्वहारा वर्गको तीव्र विकास भयो । पुँजीवादी राज्यभित्र सर्वहारा वर्ग र पुँजीपति वर्गबीच सङ्घर्ष तीव्र भयो । पुँजीपति वर्गले अमानवीय तरिकाले मजदुर वर्गमाथि शोषण–उत्पीडन लादिरहेको थियो । सर्वहारा वर्गले पुँजीवादी शोषण–उत्पीडनको जुवाबाट मुक्ति पाउन विद्रोहको ज्वाला दन्काउन थाल्यो । त्यसै पृष्ठभूमिमा एकातिर केही विचारकहरूले काल्पनिक समाजवाद, अराजकतावादी समाजवाद र प्रतिक्रियावादी समाजवादको परिकल्पना गरिरहेका थिए । अर्कोतिर नयाँ वर्ग अन्तर्विरोध, वर्गसङ्घर्ष र वैज्ञानिक विश्वदृष्टिकोणको आवश्यकताबोध एवम् जिम्मेवारीबोधसहित कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४३ देखि वैज्ञानिक साम्यवादी सिद्धान्तको अनुसन्धानको प्रारम्भ गर्नुभयो । कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स सन् १८४८ मा वैज्ञानिक समाजवादी– साम्यवादी व्यवस्था, सुसंगत विश्वदृष्टिकोण ‘कम्युनिस्ट घोषणापत्र’ को संश्लेषण एवम् प्रक्षेपण गर्न सफल हुनुभयो । त्यसले अभूतपूर्व मानवसभ्यता वैज्ञानिक समाजवाद– साम्यवादको वैज्ञानिक विश्वदृष्टिकोण आधिकारिक एवम् व्यवस्थित रूपमा स्थापित भयो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले समाजका तीन सङ्घटक अङ्ग– दर्शन, अर्थशास्त्र र समाजवादको नयाँ र वैज्ञानिक अध्ययन, अनुसन्धान र समाधान दिँदै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको अवधारणा प्रस्तुत गरेर त्यसमा क्रान्ति गर्नुभयो ।

वैज्ञानिक समाजवाद– साम्यवाद मानवजातिलाई वर्गविहीन, जातिविहीन, राष्ट्रविहीन, धर्मविहीन, न्याय, मुक्ति, समानता, शान्ति, समृद्धि र वैज्ञानिक दुनियाँमा पुर्याउने मानवसभ्यता हो । वैज्ञानिक साम्यवादी विचारधारा अकाट्य विज्ञानका तथ्यहरूसहित उन्नाईसौँ शताब्दीमा संसार हल्लाउँदै उदय भएको थियो । पुँजीवादका मालिकहरूलाई स्तब्ध पार्दै वैज्ञानिक समाजवाद विजयी भएको थियो । माक्र्सको शिक्षाको ऐतिहासिक भवितव्य भन्ने लेखमा लेनिनले ‘सन् १८४४ मा मार्क्सले पहिलोपटक आफ्नो विचारधारा प्रस्तुत र सन् १८४८ मा मार्क्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रले पूर्ण एवम् क्रमबद्ध विचारधाराको प्रस्तुत गर्नुभएको थियो’ (लेनिन प्राभ्दा अङ्क ५०, मार्च १९१३, खण्ड २३, पृष्ठ १–४) मा उल्लेख गर्नुभएको थियो । मार्क्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्ग भन्ने लेखमा लेनिनले ‘मार्क्सवादी शिक्षाप्रति समस्त सभ्य संसारमा (नोकरशाही र उदारवादी) विज्ञानका तर्फबाट शत्रुता र घृणा दर्साइन्छ । यसैलाई एक प्रकारको अहितकर सम्प्रदायका रूपमा हेरिन्छ । वर्गसङ्घर्षमा आधारित समाजमा निष्पक्ष दर्शनको अस्तित्व हुँदैन, त्यो आशा राख्नु मूर्खतापूर्ण हुन जानेछ । जस्तो पुँजीको लाभांशमा कटौती गरेर उद्योगपतिको विरोधरहित उत्तरको आशा राख्नु । नोकरशाही र उदारवादी दर्शनले शोषणप्रथाको रक्षा गरेको हुन्छ भने मार्क्सवादले यस प्रथाका विरुद्ध कठोर सङ्घर्ष सुरु गरेको छ । मार्क्सको महानता नै यसमा छ– प्रगतिशील मानवतासमक्ष रहेका प्रश्नको सही उत्तर दिनुभएको छ । दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका महानतम् प्रतिभाहरूको शिक्षाको प्रत्यक्ष र सन्निकट क्रमका रूपमा उहाँको सिद्धान्तको प्रादुर्भाव भएको हो । यो सर्वशक्तिमान, सत्य, सम्पूर्ण र सुसंगत छ । यसले मानिसहरूलाई विचारधारा प्रदान गरेको छ । यो कुनै पनि अन्धविश्वास, प्रतिक्रियावाद र पुँजीवादी उत्पीडनको घोर विरोधी छ । यो विचारधारा– जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादका रूपमा उन्नाईसौँ शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो’ (लेनिन, प्रोस्वेसेनिए अङ्क ३, मार्च, १९१३, खण्ड २३, पृष्ठ ४०–४८) मा उल्लेख गर्नुभएको थियो । मानिसका असीमित इच्छा, आकाङ्क्षा र तज्जन्य आवश्यकताहरूको पूर्ति केवल समाज एवम् समाजवादमा मात्र सम्भव छैन । आजको युग बहुरूपी समाजवादको होइन, वैज्ञानिक समाजवाद– साम्यवादको युग हो । विश्वसाम्राज्यवाद र वैज्ञानिक समाजवाद दुई विपरीत एवम् प्रबल धारबीच लामो समयदेखि भीषण सङ्घर्ष चलिरहेको छ । बहुरूपी समाजवाद, विश्वसाम्राज्यवाद र पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य तथा वैज्ञानिक समाजवाद– साम्यवादको विजय अवश्यम्भाबी छ ।

३) बहुरूपी समाजवाद तथा समाजवादीहरू

महान् लेनिनले ‘राजनीतिमा शब्दको दुरुपयोग एकदम साधारण कुरा हो । बेलायती बुर्जुवा उदारवादका अनुयायी हारकोटले ‘अब हामी सबै समाजवादी बनेका छौँ’ बिस्मार्कका समर्थकहरूले र पोपलेओ तेह्रौँका मित्रहरूले अक्सर आफूलाई ‘समाजवादी’ भन्ने गर्थे ।’ (लेनिन, जुन– जुलाई १९०५, खण्ड ११, पृष्ठ १–१३१) भनेझैँ आजको दुनियाँमा सबैले समाजवाद र समाजवादीको भ्रम फैलाइरहेका छन् । समाजवादको नक्कली मुकुण्डो लगाउन विवश भइरहेका छन् । समाज विचारक ‘जोड’ ले ‘समाजवादको यो टोपी यति धेरैले यति धेरै किसिमले लाए अब त त्यसको मूल स्वरूप नै हराउन आँटिसकेको छ’ भनेका थिए । बहुरूपी समाजवादीहरूले आआफ्नो विचार एवम् दृष्टिकोणका आधारमा समाजवादको विश्लेषण गरेका थिए र छन् । युटोपियन समाजवादले संयुक्त सम्पत्ति, सबैका लागि अनिवार्य श्रम तथा उपजहरूको समान वितरणमा आधारित समाजसम्बन्धी सिद्धान्तको विकास विज्ञानपूर्वको चरणमा भएको थियो । यसले निजी स्वामित्वमा आधारित प्रणालीको आलोचना, आदर्श भाबी समाजको चित्रण र सार्वजनिक स्वामित्वको सिद्ध गर्दछ । फेबियन समाजवाद रोमन सेनापति फेबियस कुंक्टेटरले अघि सारेको ब्रिटेनको सुधारवादी धारा हो । यो वैज्ञानिक समाजवादका विरुद्ध छ । यसले धर्मको समर्थन र वर्गसङ्घर्षको विरोध गर्दछ । लेनिनले यसलाई अवसरवाद तथा उदारतावादी मजदुर नीतिको सर्वाधिक पूर्ण अभिव्यक्ति हो भन्नुभएको थियो । प्रजातान्त्रिक समाजवाद त्यसका विचारक आर.एच.टनी, राम्जे मेकडोनल्स, सिडनी, बे्रटिस, वेव, हेराल्ड लास्की, कमेल्ट एटली, एवन एफ., एम डर्विन, अमेरिकामा नर्मन थमस, भारतमा पण्डित जवाहरलाल तथा नेपालमा विश्वेश्वर कोइराला थिए । यो विचारधाराले सर्वाधिकार भनेर वैज्ञानिक समाजवादविरोधी, नैतिक प्राणीका रूपमा मानव, धर्म र नैतिकतामा जोड, वर्गसामञ्जस्य, स्वतन्त्रता, आर्थिक क्षेत्रको नियन्त्रण, सामाजीकरण, निजी सम्पत्तिमा सीमितता, लोककल्याणकारी राज्य, विकेन्द्रीकरण, सहअस्तित्वको सिद्धान्त र विश्व शान्तिको पक्षपोषण गर्दछ । यो वैज्ञानिक समाजवाद– साम्यवादविरोधी विचारधारा एवम् दर्शन हो, त्यो ठोस छैन, विरोधाभासपूर्ण छ । समतामूलक समाजको अवधारणा, पुँजीपति वर्गसँग साझेदारी नै यसको मूल उद्देश्य हो । युरो साम्यवादले साम्यवादलाई शान्तिपूर्ण तथा संसदीय व्यवस्थामा लागू गर्न सकिने गरी समाजवादको संशोधन गरेको छ । यसले बहुदलीय व्यवस्था, नागरिक तथा राजनीतिक स्वतन्त्रतामा बढी जोड दिन्छ । यो संसद्अन्तर्गत काम गर्ने कम्युनिस्टविरेधी सिद्धान्त हो । यसको प्रयोग सन् १९७५–७६ का बीचमा भएको थियो । आज यो विश्वव्यापी भइरहेको छ । यसको सैद्धान्तिक आधार नै शान्तिपूर्ण सहअस्तित्व हो । यसको मूल सिद्धान्तमा इटाली, फ्रान्स र स्पेनका मेडाडी शिखर सन् १९७७ ले नागरिक स्वतन्त्रताको सम्मान र बचाउ, सर्वहारा वर्गको अधिनायकत्वको त्याग, पुँजीवादी लोकतन्त्रको पक्षपोषण, प्रजातान्त्रिक शक्तिसँग मेल, शान्तिपूर्ण तरिकाले शक्ति आर्जनजस्ता विषयको पक्षपोषण गरेका थिए । राष्ट्रिय समाजवादको प्रादुर्भाव सन् १९३३ मा सत्तामा एडोल्फ हिटलर उदाएपछि ‘जोसँग शुद्ध जर्मन रगत छ, ती मात्र हाम्रा जनता हुन्’ भन्ने उद्घोष गर्दै विरोधीहरूमाथि कानुनी र फौजी नियन्त्रण गरेका थिए । उनको पार्टीको नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी थियो । यो अन्धराष्ट्रवादी दिवालियापन नै हो । १९ औँ शताब्दीको मध्यमा बेलायतमा इसाई समाजवादको जन्म भएको थियो । कुनै पनि व्यक्ति औद्योगिक सभ्यताले अनियन्त्रित प्रतियोगिताको नीति यसको विरोधी मानिन्थ्यो । यसले परस्पर भाइचारा, मेलमिलाप र धनीलाई समाजमा सफल मान्दैन । यसले श्रमको गौरव, सम्पत्तिको सामाजिक उत्तरदायित्व स्वीकार र राज्यको कानुनमा इसाई मतको सिद्धान्तको चर्चलाई अनुरोध गरेको थियो । बेलायतमा इसाई समाजवादी आन्दोलनका बेला चाल्र्स किग्सेल र फेडरिक डेनिस भन्ने पादरी थिए । गान्धी समाजवादले नैतिक दर्शन, राजनीतिलाई आध्यात्मीकरण, रामराज्यको अवधारणा, सामाजिक न्याय, अवसरको समानता, सबै परित्याग गर र आनन्द गर भन्ने थियो । उनले भूमिमाथिको निजी स्वामित्वलाई विरोध गरेका थिए । सच्चा समाजवाद १९ औँ शताब्दीको पाँचौँ दशकको मध्यतिर निम्नपुँजीवादी समाजवादका रूपमा यसको विकास भएको थियो । के. ग्रुन, हेस्स, एच. क्रिगे, ओ. ल्युनिङ र एच. प्युटम्यान यसका विचारक थिए । यो विचारधारा फ्रान्सेली र अङ्ग्रेज काल्पनिक समाजवादी, युवा हेगेलवादी र फायरबाखको नीतिशास्त्रको सारसङ्ग्रहवादी मिश्रण थियो । यसले सर्वहारा वर्ग, वर्गसङ्घर्ष र राजनीतिक क्रान्तिको विरोध गर्दछ । आदर्शवादी एवम् काल्पनिक समाजवादी सर थोमस मुर सैद्धान्तिक रूपले व्यक्तिवादका विरोधी र पहिलो समाजवादी चिन्तक थिए । सन् १४७८ बेलायतमा जन्मेका उनी ग्रिक साहित्य र दर्शनका विचारक थिए । उनले कल्पनालोक (युटोपिया) पुस्तकमा एक आदर्श समाजवादी राज्यको कल्पना गरेका थिए । उनको आनन्दको निवासस्थान अभिप्राय रहेको युटोपियाको उद्देश्य बेलायती औद्योगीकरण र कृत्रिम सहरिया आधुनिक सभ्यताले मानिसलाई वास्तविक जीवन र मानवतावादी बन्न प्रेरित गर्नु थियो । सेन्ट साइमन फ्रान्सका इसाई धर्मावलम्बी समाजवादी सन्त थिए । उनले समाजवादका साथै प्रत्यक्षवाद, अन्तर्राष्ट्रियवादजस्ता विचारको पूर्वाभास दिएका थिए । उनी आध्यात्मिक समाजवादी शान्ति र विश्वबन्धुत्वको भावना बोकेका व्यक्ति थिए । विवेक र विज्ञानको मेल खोज्ने साइमनले उद्योगहरूको सामाजीकरण, व्यक्तिगत स्वामित्वका ठाउँमा सार्वजनिक स्वामित्व, विनियोजित तरिकाबाट उत्पादन र सिँढीक्रमको प्रशासन ढाँचा, सम्पत्तिमाथि उत्तराधिकार प्रथाको अन्त्य जहाँ कामअनुसार मानिसलाई पुरस्कार तथा कसैले पनि अनार्जित लाभ पाउनु हुँदैन भन्ने विचार व्यक्त गरेका थिए । बेबुफ र केवेट दुवै फ्रान्सेली समाजवादी दार्शनिक तथा निरपेक्ष समानताका पक्षपाती र फ्रान्सेली क्रान्तिका सहयोद्धा थिए । बेबुफले मानवजीवनको उद्देश्य प्रसन्नता हो र त्यो समाजमा समानताले मात्र सम्भव हुन्छ भने । उनले समाजवादमा सबैलाई सबै वस्तुको समान उपभोगको नैसर्गिक अधिकार, उद्योगधन्दाहरूको राष्ट्रियकरण र सम्पत्तिमाथिको उत्तराधिकारको अन्त्य बताएका थिए । केवेटले युटोपियाको प्रभावमा इकारिया द्वीपमा समाजवादको आदर्श कम्युन स्थापना गरेका थिए । सम्पूर्ण द्वीपमा अनेकौँ सुन्दर सहर, फराकिला सडक, सुन्दर आलिसान भवनहरू, मनोरम वाटिका र अनेकौँ उद्योग व्यवसायहरूले सम्पन्न थिए । उनले समानता, स्वतन्त्रता र समृद्धिका लागि समाजवादी शिक्षाद्वारा प्रशिक्षित गर्नुपर्ने बताएका थिए । प्रुधोँले सम्पत्ति के हो ? भन्ने पुस्तकमा श्रम–समय सिद्धान्तको निरूपण गरेका थिए । उनको श्रमसिद्धान्त र मूल्यसिद्धान्त समाजवादी चिन्तनको आधार थियो । उनको विचार समानता आर्जित सम्पत्तिमा नभएर पुँजी, औजार र भूमि सम्पत्ति आर्जन गर्ने औजार (साधन) र अवसरमा समानता हुनुपर्छ भन्ने थियो । साधन समान भएपछि प्रत्येक व्यक्ति समान रूपले श्रम गर्नेछ र समान परिणाममा उत्पादन गर्नेछ । श्रम र प्रत्येक योग्यतालाई उसको कामका आधारमा पारिश्रमिक दिइनुपर्छ । उनको राज्यविहीन र वर्गविहीन आदर्श समाजमा कुनै राज्य र सरकार नहुने अराजकतावादी चिन्तन थियो । चाल्र्स फोरियर फ्रान्सका समाजवादी एवम् मानवतावादी चिन्तक थिए । उनी समकालीन राजनीतिक, आर्थिक, सामाजिक तथा नैतिक रूपको विकृतिका आलोचक थिए । उनी तत्कालीन औद्योगिक पुँजीवादी सामन्ती समाज र व्यापार प्रणालीका विरोधी समाजवादी थिए । विश्वको एकत्वको सिद्धान्त र उत्पादनको वितरण व्यवस्था उनका दुई मूलभूत समाजवादी तत्वका आधार थिए । त्यस्ता अन्तर्विरोधी गतिविधिको कारक तत्व उनी व्यक्तिगत सम्पत्ति र समुदायलाई मुख्य ठान्दथे । रावर्ट ओवेन बेलायती समाजवादका जन्मदाता थिए । उनले न्यु हार्मनी (नयाँ सामञ्जस्यपूर्ण) को अवधारणा विकास गरेका थिए । इटलीका तोम्माजो कम्पानेल्लाले मानवद्वारा मानवमाथि शोषण नहोस् भन्ने आफ्नो कल्पनाको भाबी समाज सूर्यनगर बताएका छन् । फ्रान्सेली कल्पनावादी जोन मेल्येले वर्गभेदमा आधारित समाजलाई क्रान्तिकारी ढङ्गले बदल्नुपर्नेमा जोड दिएका छन् । फ्रान्सेली ग्याब्रिएल माब्लीले वितरणको साम्यवादी सिद्धान्तको विकासमा योगदान गरेका थिए । फ्रान्सेली प्राक्ख बाब्योफले राष्ट्रिय कम्युन र समानतामा आधारित गणतन्त्रको अवधारणा दिएका थिए । रुसी अलेक्सान्द्र इभानोभिच गेर्चेनले पुँजीवादको विकासबाट समाजवादको अवधारणा दिएका थिए । रुसी निकोलाई गाभरिलोभिच चेर्निसेभ्स्कीले उत्पादनको एकीकृत सङ्घ, नयाँ समाजको विकासमा बृहत् उद्योग र विज्ञान तथा प्रविधिलाई प्रमुख स्थान दिएका थिए । हालसालै जेरेमी रिफ्किनले पुँजीवाद ढल्दैछ भन्ने घोषणा गरेका छन् । उनले परिवर्तित आर्थिक ढाँचा, वस्तुहरूको इन्टरनेट, बजार पुँजीवादबाट शून्य सीमान्त लागतमा आधारित सहयोगी समाजमा रूपान्तरण हुने परिकल्पना गरेका छन् । थमस पिकेटीले वर्गसङ्घर्ष होइन, विचारधारात्मक सङ्घर्षद्वारा आर्थिक समानतामा पुग्न सकिने गलत कुरा बताएका छन् । संशोधनवादी समाजवाद– अन्तर्राष्ट्रिय परिघटनाका रूपमा मार्क्सवाद र वैज्ञानिक समाजवादका विरुद्ध १९ औँ शताब्दीमा संशोधनवादको जन्म भएको थियो । त्यस बेला युरोपमा पुँजीवादको तीव्र विकास भइरहेको थियो । यो १९ औँ शताब्दीको अन्त्यमा अन्तर्राष्ट्रिय सामाजिक जनवादमा देखापरेको अवसरवादी धारा हो । एडुअर्ड बर्नस्टिन यसका जन्मदाता जर्मनका निम्न पुँजीवादी एवम् मजदुर आन्दोलनका सुधारवादी तथा अर्थवादी नेता थिए । लेनिनले ‘भूतपूर्व पुरातनपन्थी माक्र्सवादीको संज्ञा दिँदै बर्नस्टिनले– सबैभन्दा बढी हल्लीखल्ली मच्चायो, माक्र्सका विचारधाराहरूमा परिवर्तन र संशोधन गरी संशोधनवादलाई सबैभन्दा सुगठित गर्यो । क्रान्तिकारी मार्क्सवादको दार्शनिक, आर्थिक र राजनीतिक आधारभूत सिद्धान्तको संशोधन गर्यो । सामाजिक जनवादी पार्टीलाई सामाजिक संशोधनवादी पार्टीमा परिणत गर्यो’ (मार्क्सवाद र संशोधनवाद, लेनिन सेन्टपिटर्सबर्ग, प्रकाशक, ओ र एम केद्रोभ परिवार, खण्ड १७, पृष्ठ १५–२६) मा त्यसको धज्जी उडाउनुभएको थियो । यो संशोधनवादले ‘शान्तिपूर्ण सङ्घर्षद्वारा समाजवाद’, ‘शान्तिपूर्ण बाटोबाट राज्यमा सुधार’, ‘आन्दोलन सबै चीज हो, लक्ष्य केही होइन’ सबैभन्दा बढी हल्लीखल्ली मच्चाए पनि त्यसको पतन भयो । त्यसबेला फ्रान्स, जर्मनी, हल्यान्ड, ब्रिटेन र अस्ट्रियाका समाजवादीहरू संशोधनवादको प्रभावमा परेका थिए । लेनिनले संशोधनवाद र काउत्स्कीको सामाजिक अन्धराष्ट्रवादका विरुद्ध निर्मम सङ्घर्ष गर्नुभएको थियो । उक्त सङ्घर्षमा लेनिनलाई जर्मनीका रोजा लक्जेम्बर्ग, कार्ल लिब्नेख्त, फ्रान्सका वामपन्थीहरू र अमेरिकाका जोन रिडले साथ दिएका थिए । ख्रुस्चोभले ‘सबै जनताको राज्य, सबै जनताको पार्टी, शान्तिपूर्ण सङ्क्रमण, प्रतिस्पर्धा र सहअस्तित्वको’ सिद्धान्तद्वारा माक्र्सवाद र वैज्ञानिक समाजवादमाथि हमला गरेको थियो । सन् १९५० मा टिटोले ‘सहअस्तित्व र सहकारी राज्य’ सिद्धान्तद्वारा त्यसको निरन्तरता दिएको थियो । इतिहासमा सामाजिक फासिवादका रूपमा पतीत त्यो निम्न पुँजीवाद आज सामाजिक पुँजीवादमा पतन भएको छ । त्यसले पुँजीपति वर्गसँग मिलेर र संसदीय व्यवस्थाभित्रबाट समाजवाद निर्माण गर्ने पागलपूर्ण सबैभन्दा बढी हल्लीखल्ली मच्चाइरहेको छ । इतिहासका बर्नस्टिन, काउत्स्की, ख्रुस्चोभ, सिदेमान, नोस्के, मिलेराँ, टिटो, ब्राउडर, ब्रेजनेभ, मेन्सेभिक, गोर्बाचोभ, यल्तसिन, देङजस्ता संशोधनवादी डाँकाहरूको पतन भैसकेको छ । पुँजीवाद एवम् संसद्‌वादभित्र २१ औँ शताब्दीको समाजवादको दिवासपना देख्ने नवसंशोधनवादीको पागलपनको पनि पतन निश्चित हुनेछ । आज समुन्नत समाजवाद एवम् वैज्ञानिक मानवतावादका नेपाली भाष्यकार डा. बाबुराम भट्टराईले अर्थ–राजनीतिक विमर्शमा २१ औँ शताब्दीको काल चिन्तनका रूपमा मार्क्सवादलाई पुरातन एकलरेखीय द्वन्द्ववादको युग समाप्त भएको, नयाँ द्वन्द्ववादको युग ‘ननलिनियर डाइनामिक्स’ को प्रारम्भ भएको घोषणा गरेका छन् । प्रबोधनलाई वैचारिक धरोहर मान्दै प्रबोधनका तीन प्रवर्गका रूपमा ‘स्वतन्त्रता, समानता र भ्रातृत्वको समुच्चता नै वैज्ञानिक मानवतावाद हो’ भनेर उल्लेख गरेका छन् । उनले बहुलवाद, समावेशी तथा सहभागितामूलक लोकतन्त्रको वकालत गरेर न पुँजीवाद, न साम्यवाद सारतः उत्तरआधुनिकतावाद, नवउदारवाद एवम् पुँजीवादको पक्षपोषणकै रूपमा समुन्नत समाजवादको घोषणा गरेका छन् । समाजवादी र साम्यवादी साहित्यमा मार्क्स–एङ्गेल्सले प्रतिक्रियावादी समाजवादअन्तर्गत सामन्ती, निम्नपुँजीजीवी, जर्मन अथवा सच्चा समाजवाद, रूढिवादी अथवा पुँजीजीवी समाजवाद, आलोचनात्मक काल्पनिक समाजवाद र साम्यवादको चर्चा गर्नुभएको थियो । कार्ल मार्क्स–फ्रेडरिक एङ्गेल्सले त्यसका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुभएको थियो । वैज्ञानिक समाजवाद– साम्यवादको अपरिहार्यताको

स्पष्ट उल्लेख गर्नुभएको थियो । साम्यवादका सिद्धान्तहरूमा फ्रेडरिक एङ्गेल्सले तीनथरीका समाजवादीहरूको विश्लेषण गर्नुभएको थियो जसमा पहिलो, सामन्तवादी तथा रूढिगत समाजको पुनस्थापना जरुरी ठान्ने प्रतिक्रियावादी एवम् सर्वहारा वर्गका विरुद्ध पुँजीजीवीहरूसँग एकगठ हुने । दोस्रो, वर्तमान समाजका समर्थकहरू तथा त्यो समाजको पुनर्गठन चाहने । तेस्रो, प्रजातन्त्रवादी समाजवादी जो निम्न पुँजीजीवी वर्गका हुन्छन् । ‘श्रमका सम्पूर्ण साधनहरू उत्पादकलाई सुम्पिई उत्पीडनका विद्यमान अवस्थाहरूको उन्मूलन गरेर र उसरी शारीरिक रूपमा तन्दुरुस्त प्रत्येक व्यक्तिलाई आफ्नो जीविकाका लागि काम गर्न बाध्य गराएर हामी केवल वर्गीय शासन तथा वर्गीय उत्पीडनको आधारलाई नै समाप्त पार्न समर्थ हुन्छौँ तर यस्तो रूपान्तरण कार्यान्वित हुनुभन्दा पहिले सर्वहारा अधिनायकत्वको आवश्यकता पर्न आउँछ र त्यसको पहिलो सर्त नै सर्वहारा वर्गको सेना हो । मजदुर वर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ’ (कार्ल मार्क्स, पेरिस कम्युन, इन्टरनेसनलको सातौँ वर्षगाँठसम्बन्धी भाषण, सन् १८७१, सेप्टेम्बर २५, पृष्ठ ३३५) भनेर स्पष्ट उल्लेख गर्नुभएको थियो । बहुरूपी समाजवाद एवम् समाजवादीहरूका बारेमा लेनिनले ‘विभिन्न प्रकारका समाजवाद छन् । जुन मुलुकमा पुँजीवादी उत्पादन प्रणालीको प्रचलन छ, त्यहाँ पुँजीपति वर्गको ठाउँ लिन गइरहेको वर्गको विचारधारालाई अभिव्यक्त गर्ने समाजवाद छ र जुन वर्गहरूको ठाउँ पुँजीपतिले लिन गइरहेको छ, ती वर्गहरूको विचारधारालाई अभिव्यक्त गर्ने समाजवाद छ । उदाहरणार्थ सामन्ती समाजवाद पछिल्लो खालको समाजवाद हो’ (लेनिन, सङ्कलित रचना, भाग १७, पृष्ठ ५२) मा स्पष्ट गर्नुभएको थियो ।

४) विश्वसाम्राज्यवाद

साम्राज्यवाद, समाजवाद र उत्पीडित जातिहरूको मुक्ति सम्बन्धमा लेनिनले ‘साम्राज्यवाद पुँजीवादको विकासको उच्चतम् चरण हो । उन्नत राष्ट्रहरूमा पुँजीले राष्ट्रिय सीमा नाघिसकेको छ, प्रतियोगिताको स्थानमा एकाधिकारलाई स्थापित गरेको छ र समाजवादको स्थापनाका लागि समस्त वस्तुगत परिस्थितिहरू तयार गरेको छ । साम्राज्यवादले– व्यापक मात्रामा वर्गीय अन्तर्विरोधलाई तीव्र बनाएर, आमजनताको अवस्था खराब तुल्याउँदै सङ्घर्षतिर धकेल्नेछ । आर्थिक क्षेत्रमा– दुष्टहरूको स्थापना र महँगी राजनीतिक क्षेत्रमा– सैनिकवादको वृद्धि, युद्धहरू दोहोरिनु, प्रतिक्रियाको वृद्धि, राष्ट्रिय उत्पीडन र औपनिवेशिक लूटको सुदृढीकरण, व्यापकता आदिमा अभिव्यक्त हुन्छ । विजयी समाजवादले– पूर्ण प्रजातन्त्र स्थापना, जातिहरूबीच पूर्ण समानता, उत्पीडित जातिहरूलाई आत्मनिर्णयको अधिकार दिनुपर्छ, राजनीतिक विभाजनको अधिकार प्रदान गर्नुपर्छ, जनजातिहरूलाई स्वतन्त्र बनाउने र स्वतन्त्र सङ्घका आधारमा सम्बन्ध जोड्नेछन् । विभाजनको अधिकारबिना स्वतन्त्र सङ्घको नारा खोक्रो शब्दाडम्बर ठहरिन्छ’ (लेनिन, अक्टोबर, सन् १९१६ मा सोसल डेमोक्रेट, अङ्क १ मा प्रकाशित खण्ड २७, पृष्ठ २५२–२६६) साम्राज्यवाद र समाजवादबीचको भिन्नता स्पष्ट गर्नुभएको थियो । जतिसुकै वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, सैन्य विशेषताको विकास गरे तापनि विश्वसाम्राज्यवादको मृत्यु अनिवार्य छ । विश्वसाम्राज्यवादले आमश्रमिक जनतालाई भ्रमित तुल्याउन बन्दुकको नालमा प्रजातन्त्र, स्वतन्त्रता, शान्ति, स्थिरता र समृद्धिको मुकुन्डो लगाए पनि त्यो धुजाधुजा भएको छ । अति एकाधिकार, अतिक्रमण, निजत्व, असमानता, भिडन्त, युद्ध, विध्वंस, शोषण, दमन, विद्रोह, लुटखसोट, लुछाचुँडी, भागबन्डा, भ्रष्टाचार, तस्करी, व्यभिचार, विकृति एवम् विसङ्गतिमा अभिव्यक्त भइरहेको छ । त्यसले वैचारिक एवम् राजनीतिक रूपले अध्यात्मवाद एवम् आदर्शवाद तथा ईश्वरवादको प्रयोग मात्र होइन, विज्ञानको दुरुपयोग गरिरहेको छ । विश्वसाम्राज्यवादले वैज्ञानिक समाजवादको मुटु प्रत्यारोपण र विज्ञानको वैशाखीमा लूटको स्वर्ग बचाउन अतिक्रमण, अति सैन्यीकृत, अन्धराष्ट्रवादी, जातिवाद, धर्मवाद, नश्लवाद र विध्वंसकारी चरित्रद्वारा आफ्नो महासङ्कटहरूको मोचन गरिरहेको छ । विश्व भूमण्डलीकृत राज्यको दिवासपना देखिरहेको छ । आर्थिक रूपमा अति एकाधिकार एवम् केन्द्रीकरण, निगम पुँजीको नियन्त्रणद्वारा सीमित देश एवम् व्यक्तिहरूले विश्वभूमण्डलीकृत शोषण गरिरहेका छन् । सामाजिक र सांस्कृतिक रूपमा उपभोगवाद, उपयोगवाद र उत्तरआधुनिकतावादले मानवसमाजलाई विकृत, भ्रष्टीकरण र क्षतविक्षत मात्र होइन, विखण्डन, विध्वंस, व्यक्तिवादी र अमानवीय बनाइरहेको छ । विश्वसाम्राज्यवादले बेलगाम प्राविधिक तथा पर्यावरणीय सङ्कट पैदा गरिरहेको छ । विश्वसाम्राज्यवादले प्रजातन्त्र (लोकतन्त्र) र मानवधिकारको आवरणमा विश्व मानवजातिलाई भ्रमित गर्न खोजे पनि त्यसले पैदागरेका महासङ्कटहरू त्यसको अवश्यम्भाबी मृत्युमा बदलिनेछ ।

५) वैज्ञानिक समाजवाद– साम्यवाद

पेरिस कम्युन, महान् अक्टोबर क्रान्ति र चिनियाँ क्रान्ति, पूर्वीयुरोपका समाजवादी सत्ता, भियतनामी, कोरियन र क्युबाली क्रान्तिको विजय एवम् सफलताले विश्वका लुटेरा वर्गको स्वर्गमा ज्वालामुखी महाविष्फोटको अनुभव गराएको थियो । आज वैज्ञानिक समाजवाद सफलता, असफलता, शिक्षा, नयाँ विशेषता, अन्तरवस्तु र आधारहरूले मात्र होइन, विश्वसाम्राज्यवादी एवम् दलाल पुँजीवादी महासङ्कटको अपरिहार्य एवम् अद्वितीय समाधान बनिरहेको छ । वैज्ञानिक समाजवाद– साम्यवाद विश्वमा लोकप्रिय थियो र छ । वैचारिक विचलन, राजनीतिक, आर्थिक, सांस्कृतिक, आन्तरिक र संशोधनवादको सफलता एवम् पुँजीवादमा पतन, विश्वसाम्राज्यवादको घुसपैठ र घेराबन्दी तथा समाजवादी धारमा विभाजनको बाह्य कारणले वैज्ञानिक समाजवादी सत्ताको विघटन एवम् प्रतिक्रान्ति भयो । विश्वसाम्राज्यवाद र वैज्ञानिक समाजवादबीच विगत र वर्तमानमा भीषण प्रतिस्पर्धा एवम् सङ्घर्ष जारी छ । विश्वसाम्राज्यवादको पराजय र वैज्ञानिक समाजवादको विजय अपरिहार्य छ । यो वैज्ञानिक समाजवादको युग हो । यसमा नयाँ विशेषता एवम् विकास जरुरी छ । यो समाजवादी क्रान्तिको परिणामस्वरूप जन्मिने सामाजिक व्यवस्था हो । वैज्ञानिक समाजवादका अन्तर्वस्तु मानव समाजको विकास, वर्गसङ्घर्ष, सर्वहारावर्गीय अधिनायकत्व, राज्यसत्ता, क्रान्ति र क्रान्तिको नमुना हो । स्टालिनले ‘वैज्ञानिक आधारहरूमा आधारित रहेकाले सर्वहारा समाजवादलाई वैज्ञानिक समाजवाद पनि भनिन्छ’ भन्नुभएको थियो । यो साम्यवादी सामाजिक–आर्थिक संरचनाको पहिलो चरण पनि हो । वैज्ञानिक समाजवादले शोसक वर्गहरू तथा मानिसद्वारा मानिसको शोषणको अन्त्य, समाजमा मित्रताको भावनाले युक्त र पारस्परिक सहयोगको सम्बन्ध स्थापित गर्दछ । यसले हरेक प्रकारका समाजिक उत्पीडन, जातिहरूको असमानता, सहर र गाउँ, मानसिक तथा शारीरिक श्रमबीचको अन्तरर्विरोधहरूको समाधान गर्दछ । यसमा मजदुर, किसान र बुद्धिजीवी समुदायको मैत्रीपूर्ण सामाजिक समूहको निर्माण र तिनीहरूबीचको अन्तर निरन्तर अन्त्य गर्दछ । सामाजिक उत्पादनको विकासबाट जनताको बढ्दो भौतिक तथा सांस्कृतिक आवश्यकता बढीभन्दा बढी पूर्ति हुन्छ । सामाजिक जीवन व्यापक जनवादमा आधारित हुन्छ र श्रमजीवीहरूलाई सक्रिय रूपमा सामाजिक जीवनमा भाग लिनका लागि आकर्षित गरिन्छ । समाजवादी जनवादले श्रम, विश्राम, स्वास्थ्यरक्षा, वृद्धावस्थामा सुरक्षा, आवास, निःशुल्क शिक्षा, नागरिकहरूलाई समाज कानुन आदि सामाजिक अधिकार तथा प्रेस, सभा, सम्मेलन, जुलुस, भाषण, अन्तःस्करण, राजकीय तथा सामाजिक कार्यहरूको सञ्चालनमा सहभागिता र राजनीतिक स्वतन्त्रता सुनिश्चित गर्दछ । पुँजीवादी सम्पत्तिको अधिकरण, राष्ट्रियकरण, सहकारीकरण र सामूहिकीकरण तथा उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व र भौतिक वितरणमा ‘हरेकबाट उसको क्षमताअनुसार, हरेकलाई उसको श्रमअनुसार’ को सिद्धान्त कार्यान्वयन गरिन्छ । समाजवाद, मुक्ति, न्याय, समानता, शान्ति र समृद्धि अभिन्न छन् । यसले भौतिक तथा सांस्कृतिक विकास, श्रम सङ्गठनको स्वरूप, जीवनपद्धति, चिकित्सा तथा सांस्कृतिक सुविधाहरूमा क्रमशः विकास गर्दै साम्यवादको ढोका खोल्दछ । उत्पादनका साधनहरूमाथि सम्पूर्ण जनताको समान स्वामित्व, वर्गविभेदको अन्त्य, गाउँ र सहर, मानसिक तथा शारीरिक श्रमबीचको विभेदको अन्त्य, श्रम हरेकको जीवन्त आवश्यकता, भौतिक सम्पदाको वितरण आवश्यकताअनुसार, राज्य तथा सम्पूर्ण राजनीतिक र कानुनी उच्च संरचनाको लोप हुनेछ । मुक्त, सचेत श्रमजीवीहरूको सुसङ्गठित साम्यवादको जन्म हुनेछ । मार्क्स–एङ्गेल्सले काल्पनिक समाजवादको गहन विश्लेषण र वैज्ञानिक समाजवादको संश्लेषण गरेर सर्वप्रथम वर्गसङ्घर्षको सिद्धान्त, बलप्रयोगको अनिवार्यता, सर्वहारा वर्गको अधिनायकत्व, जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय समस्याहरूको वैज्ञानिक समाधान दिनुभयो । लेनिनले वर्गसङ्घर्षको सिद्धान्तलाई सर्वहारा वर्गको अधिनायकत्वमा विकास तथा प्रयोग, एउटै देशमा पनि समाजवाद आउने सिद्धान्तको आविष्कार तथा प्रयोग, जनवादी केन्द्रीयता र भूमिगत पार्टी, राज्यसत्ता र क्रान्तिको सिद्धान्तमा नयाँ विकास, सशस्त्र जनविद्रोहको कार्यदिशा र सैन्य विज्ञानमा विकास, सर्वहारा क्रान्तिमा कृषि क्रान्तिको समायोजन, उत्पीडित जातिहरूको आत्मनिर्णयको अधिकार, महिला मुक्तिको सवालमा नयाँ सिद्धान्तको विकास र सर्वहारा अन्तर्राष्ट्रियतावादको विकास गर्नुभयो । माओ त्सेतुङले नयाँ जनवादको विकास, जनताको जनवादी अधिनायकत्व, तीन जादुगरी हतियार (पार्टी, सेना र संयुक्त मोर्चा), दीर्घकालीन जनयुद्ध, जनदिशा, सैन्य रणनीति, कार्यनीति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विकास गरेर वैज्ञानिक समाजवादमा महत्वपूर्ण योगदान गर्नुभयो । लेनिनले ‘समाजवादको अर्थ वर्गहरूको उन्मूलन हो । वर्गहरूको उन्मूलन गर्नका लागि सर्वप्रथम भूमिपति र पुँजीपतिहरूको तख्ता पल्टाउनु आवश्यक छ…वर्गहरूको उन्मूलनका लागि, दोस्रो कुरा, कारखाना–मजदुर र किसानबीचको भिन्नतालाई खतम पार्नु आवश्यक छ…यो काम गर्नु अतुलनीय रूपले बढी गाह्रो छ र त्यसले आवश्यकीय रूपले लामो समय लिनेछ । वर्गको तख्ता पल्टाउँदैमा हल गर्न सकिने समस्या यो होइन । यसको समाधान सम्पूर्ण सामाजिक अर्थतन्त्रको साङ्गठनिक पुनर्निर्माणद्वारा, वैयक्तिक, असङ्गठित, सानो वस्तु–उत्पादनबाट विशाल मात्राको सामाजिक उत्पादनमा सङ्क्रमणद्वारा मात्र गर्न सकिन्छ’ (लेनिन, सङ्कलित रचना, भाग ३०, पृष्ठ ११२) भनी वर्गहरूको उन्मूलन, तख्ता पल्टाउनु, सम्पूर्ण सामाजिक अर्थतन्त्रको साङ्गठनिक पुनर्निर्माण र विशाल मात्राको सामाजिक उत्पादनको सङ्क्रमणमा जोड दिनुभएको थियो । हाम्रो कार्यक्रम लेखमा लेनिनले ‘यो सिद्धान्तलाई तपाईं आफ्नो पूरा जानकारीअनुसार सच्चा ठान्नुहुन्छ र यसमाथिको निराधार हमला र विकृतीकरणका प्रयत्नहरूबाट बचावट गर्नुको अर्थ के होइन भने तपाईं सबै प्रकारका आलोचनाहरूको विरोधी हुनुहुन्छ । हामी माक्र्सको सिद्धान्तलाई सम्पूर्ण र पवित्र ठान्दैनौँ । उल्टो, हामी विश्वस्त छौँ– मार्क्सवादले त्यस विज्ञानको मात्र जग हालेको छ जसलाई समाजवादीहरूले, उनीहरू जीवनमा पछि पर्न चाहँदैनन् भने सर्वतोमुखी विकास गर्नुपर्छ । सर्वहारा वर्गको वर्गसङ्घर्ष, आर्थिक सङ्घर्ष र राजनीतिक सङ्घर्षमा विभाजित हुन्छ जुन सङ्घर्षको अन्तिम लक्ष्य– सर्वहारा वर्गद्वारा राजनीतिक सत्तामाथि कब्जा र समाजवादी समाजको निर्माण हो’ (लेनिन, सन् १९२५ मा लेनिन ग्रन्थसङ्ग्रहको खण्ड ३ मा पहिलोपटक प्रकाशित । खण्ड ४, पृष्ठ १८२–१८६) भनेर मार्क्सवाद र वैज्ञानिक समाजवादको विकासमा जोड दिनुभएको थियो । उहाँले प्रयोग र विकास गर्नुभयो । वैज्ञानिक समाजवाद स्थापनाका लागि राजनीतिक रूपले विचार कार्यान्वयन, सत्ता सञ्चालनको पद्धति र प्रणालीमा समस्या देखियो । आर्थिक रूपले नागरिकको निजी जीवनप्रति असन्तुलित सम्बन्ध, निजी र सामूहिक पुँजीबीच अस्पष्टता, राजकीय र नोकरशाही पुँजीबीच भिन्नता गर्ने समस्या, नेतृत्वको आर्थिक जीवन अपारदर्शिता र समाजवादी पुँजीको प्रतिस्पर्धाप्रति दीर्घकालीन योजनाको अभाव देखियो । अन्तर्राष्ट्रिय नीति र सम्बन्ध र सांस्कृतिक नीतिमा पनि अभाव देखियो । आर्थिक रूपले पुँजी उत्पादनसम्बन्धी धारणा, निजी र सार्वजनिक पुँजीको सम्बन्ध, निजी पुँजीको स्वतन्त्रता, पारदर्शिता र प्रतिस्पर्धा । राजनीतिक रूपले सत्ताको सैद्धान्तिक विकास, जनप्रतिनिधिहरूको प्रत्यक्ष निर्वाचन, समानुपातिक, समावेशी सहभागिता र प्रत्याह्वानको सुनिश्चितता । जनसंस्कृति, व्यावसायिक र व्यावसायिक संस्कृतिको विकास । नेतृत्वको विकास, संस्थागत प्रणालीको विकासमा जोड दिइएको छ ।

वैज्ञानिक समाजवादका आधारहरू निम्नानुसार छन्– क) मार्क्स–एङ्गेल्सले अनुसन्धानबाट संश्लेषण गरेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र लेनिन र माओले विकास गर्नुभएको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण नै वैज्ञानिक समाजवादको सैद्धान्तिक एवम् दार्शनिक मूल आधार हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले प्रकृति र मानव समाजलाई प्राकृतिक र वर्ग, राज्यसत्ता र पार्टीलाई मानव निर्मित, गतिशील, परिवर्तनशील, बुझ्न र बदल्न सकिने मान्दछ । ख) राजनीतिक रूपमा मानव समाज उत्पादन सम्बन्धमा प्रवेश, श्रमद्वारा अतिरिक्त उत्पादन, असमान स्वामित्व एवम् वितरणले निजी सम्पत्तिको रक्षाको खातिर राज्यको उत्पत्ति भयो । राज्यलाई बुझ्न र बदल्न सक्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा वैज्ञानिक समाजवाद सबैभन्दा वैज्ञानिक, सबैभन्दा जनवादी, वर्गविरोधी एवम् समानतावादी, न्यायपूर्ण, मानवतावादी, शान्तिवादी र अन्तर्राष्ट्रियतावादी छ । पुँजीवादी र साम्यवादी समाजका बीचमा पहिलोबाट दोस्रोमा रूपान्तरणको अवधि रहन्छ । समाजवाद– साम्यवादको प्रथम अवस्था हो । वैज्ञानिक समाजवादी सत्ता वैज्ञानिक साम्यवादतर्फ अग्रसर हुन्छ । राज्यसत्तालाई पुँजीवादी वर्गको हातबाट श्रमिक जनताको हातमा पुर्याइदिन्छ । राज्यसत्ताको मालिक श्रमिक जनता, किसान, मजदुर, महिला, उत्पीडित जाति, जनजाति, बुद्धिजीवी–वैज्ञानिक, सेना र युवा हुनेछ । वैज्ञानिक समाजवादले जनउत्तरदायी, सामूहिक संस्थागत प्रणाली र व्यक्तिगत उत्तरदायित्वको सिद्धान्तलाई अनुसरण गर्दछ । वैज्ञानिक समाजवादमा राज्यको सार्वभौमिकता, स्वाधीनता र अखण्डताको अन्त्य हुन्छ । वैज्ञानिक समाजवादले राज्यमा निजी एवम् संस्थागत रूपले वाक्, प्रदर्शन, सभा, सम्मेलन, प्रेस स्वतन्त्रता पूर्ण रूपले प्रदान गर्दछ । मानवअधिकार एवम् कुनै पनि अधिकारहरूको प्रयोग निजी एवम् संस्थागत स्वतन्त्रता र समाजवादी दायित्वसँग जोडेर गरिन्छन् जसले देश र जनताको सामाजिक समृद्धिलाई प्रत्यक्ष सहयोग पुर्याउँछन् । वैज्ञानिक समाजवादले वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदायलाई सम्पूर्ण रूपले अधिकार सम्पन्न बनाउँछ । वैज्ञानिक समाजवादले सत्ता सञ्चालनमा पुँजीको हस्तक्षेप वा प्रभावको अन्त्य, जनतालाई प्रत्याह्वान गर्र्ने अधिकार प्रदान र जनताले विचार, नीति, योजनाका आधारमा वास्तविक लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ । ग) आर्थिक रूपमा वैज्ञानिक समाजवादले वैज्ञानिक उत्पादन सम्बन्ध, निजी स्वामित्वको अन्त्य, समान वितरण, शोषण र उत्पीडनको अन्त्य, प्रतिस्पर्धात्मक उत्पादन, आवश्यक निजी स्वतन्त्रताको सुनिश्चितता र समृद्धिको सुनिश्चितता गर्दछ । वैज्ञानिक समाजवादमा आर्थिक प्रणालीको नेतृत्व राज्यले गर्दछ । त्यसमा हरेक योजनाबद्ध आर्थिक कार्यमा आमजनताको सहभागिता हुन्छ । राज्यका हरेक संस्था, निकाय र कम्पनीहरू पूर्ण रूपले सक्रिय हुन्छन् । वैज्ञानिक समाजवादी अर्थप्रणाली मूल रूपले समाज र हरेक जनताको जीवनप्रति उत्तरदायी हुन्छ । वैज्ञानिक समाजवादमा मात्र सबै जनताका लागि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरञ्जन, यातायात, सूचना, भ्रमणको अधिकार पूर्ण रूपले सुनिश्चित हुन्छ । वैज्ञानिक समाजवादले कृषि उत्पादन र औद्योगिक उत्पादनलाई जोड दिन्छ । वैज्ञानिक एवम् प्राविधिक सुविधा सम्पन्न आधुनिक कृषि उत्पादनद्वारा आत्मनिर्भर र औद्योगिक उत्पादनद्वारा समृद्धिको नीति लागू गर्दछ । वैज्ञानिक समाजवादमा पुँजीवादी सम्पत्तिको अधिकरण, राष्ट्रियकरण, सहकारीकरण र सामूहिकीकरण तथा उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व र भौतिक वितरणमा ‘हरेकबाट उसको क्षमताअनुसार, हरेकलाई उसको श्रमअनुसार’ को सिद्धान्तको कार्यान्वयन गरिन्छ । समाजवाद, मुक्ति, न्याय, समानता, शान्ति र समृद्धि अभिन्न छन् । लेनिनले जोड दिनुभएको ‘जो गर्दैन काम उसले पाउँदैन माम’ वैज्ञानिक समाजवादी सिद्धान्तबाट महान् माक्र्सले भनेझैँ साम्यवादी समाजको उच्चतम् अवस्थामा समाजले आफ्नो झन्डामा लेख्न सक्छ– ‘प्रत्येकबाट उसको योग्यताअनुसार, प्रत्येकलाई उसको आवश्यकताअनुसार’ मा छलाङ हान्नेछ । घ) वैज्ञानिक समाजवादको सामाजिक आधार जनवादी र वैज्ञानिक हुन्छ । सामाजिक सुरक्षा, न्याय, शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, सूचना–सञ्चार, खेलकुद, यातायात, मनोरञ्जन आदि सबै पक्षहरू जनता, समाज र राज्यको हितअनुकूल व्यवस्थित हुन्छन् । सामाजिक जीवन व्यापक जनवादमा आधारित हुन्छ र श्रमजीवीहरूलाई सक्रिय रूपमा सामाजिक जीवनमा भाग लिनका लागि आकर्षित गरिन्छ । समाजवादी जनवादले श्रम, विश्राम, स्वास्थ्यरक्षा, वृद्धावस्थामा सुरक्षा, आवास, निःशुल्क शिक्षा, नागरिकहरूलाई समाज कानुन आदि सामाजिक अधिकार तथा प्रेस, सभा, सम्मेलन, जुलुस, भाषण, अन्तःस्करण, राजकीय तथा सामाजिक कार्यहरूको सञ्चालनमा सहभागिता र राजनीतिक स्वतन्त्रता सुनिश्चित गर्दछ । अमानवीय जात व्यवस्थाको उत्मूलन र राज्यको नेतृत्वमा वर्गविहीन, जातिविहीन, धर्मविहीन नयाँ एवम् समान मानव जातिको निर्माण हुन्छ । समाजमा सामाजिक संस्कार, संस्कृतिको संरक्षण गर्दै धार्मिक अन्धविश्वासलाई राज्यले उन्मूलन गर्दछ । आमजनतालाई वैज्ञानिक ज्ञानद्वारा प्रशिक्षित गर्दछ । ङ) वैज्ञानिक समाजवादको सांस्कृतिक आधार वैज्ञानिक, जनवादी, क्रान्तिकारी, समानतामूलक, सिर्जनात्मक र आदर्शोन्मुख रहेको छ । वैज्ञानिक समाजवादी राज्यले वैज्ञानिक जनसंस्कृतिको सिर्जना, विकास र संरक्षण गर्दछ । भौतिक तथा सांस्कृतिक विकास, श्रम सङ्गठनको स्वरूप, जीवनपद्धति, सांस्कृतिक सुविधाहरूमा क्रमशः विकास गर्दै साम्यवादको ढोका खोल्दछ । वैज्ञानिक समाजवादले विश्वमा न्याय, समानता, मानवता, स्वतन्त्रता, शान्ति एवम् समृद्धि कायम गर्दछ । साथै वैज्ञानिक समाजवादले विश्वको प्राकृतिक स्रोत–साधनको अध्ययन, अनुसन्धान, संरक्षण र परिचालन गरेर मानवजातिको उन्नति, समृद्धिका लागि प्रयोग गर्दछ । वैज्ञानिक समाजवादले स्वच्छ प्राकृतिक पर्यावरणलाई मानव जीवनको अभिन्न पक्ष बनाउँछ । यसले कृत्रिम तरिकाले वा मानव क्रियाकलापबाट हुने वातावरणीय प्रदूषणलाई रोकेर जीवनमैत्री बनाउँछ । पर्यावरणीय समस्या विश्वव्यापी समस्या हो । सबै राष्ट्र र मानवजातिले त्यसको संरक्षण र शुद्धताका पक्षमा उभिने कार्य गर्दछ ।

निष्कर्ष

वैज्ञानिक समाजवाद– साम्यवादमा मात्र न्याय, मुक्ति, समानता, शान्ति र समृद्धि सम्भव छ । इतिहासदेखि वर्तमानसम्म वैज्ञानिक समाजवाद– साम्यवाद नै सर्वशक्तिमान, सत्य, सम्पूर्ण र सुसंगत छ । विश्वमा वैज्ञानिक समाजवाद– साम्यवाद सर्वोत्कृष्ट अन्वेषण, समाज व्यवस्था र मानव सभ्यता हो भन्ने सिद्धान्त र व्यवहारमा पुष्टि भएको छ । काल्पनिक, युटोपियन, फेवियन, इसाई, सच्चा, प्रजातान्त्रिक समाजवाद, गान्धी समाजवाद, युरो साम्यवाद, राष्ट्रिय समाजवाद, २१ औँ शताब्दीको समाजवाद र संशोधनवादी समाजवादजस्ता बहुरूपी समाजवाद तथा समाजवादीहरूलाई वैज्ञानिक समाजवाद– साम्यवादले परास्त गरिसकेको छ । यो वैज्ञानिक समाजवादको युग हो । त्यसमा नयाँ विशेषता एवम् आधारहरूको विकास जरुरी छ । यो समाजवादी क्रान्तिको परिणामस्वरूप जन्मिने सामाजिक व्यवस्था हो ।

माओले ‘वर्गसङ्घर्ष उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोग शक्तिशाली समाजवादी मुलुकको निर्माण गर्नका लागि ती महान् क्रान्तिकारी आन्दोलनहरू हुन् । यी आन्दोलनहरू कम्युनिस्टहरू नोकरशाहीबाट मुक्त हुनेछन् । संशोधनवाद तथा कट्टरवादबाट सुरक्षित रहनेछन् र सधैँभरि अपराजेय रहनेछन् भन्ने कुराका ग्यारेन्टी हुन्’ माओ, शारीरिक श्रममा कार्यकर्ताहरूले भाग लिने विषयमा, जेकियाङ प्रान्तका सात सु–लिखितको टिप्पणी, ९ मे, १९६३, माओ, नौलो जनवादका विषयमा, जनवरी १९४०, प्रगतिशील प्रकाशन, माओका उद्धरण उक्तिहरू, २०५९ । भनेझैँ वैज्ञानिक समाजवादका अन्तर्वस्तु मानव समाजको विकास, वर्गसङ्घर्ष, सर्वहारा वर्गीय अधिनायकत्व, राज्यसत्ता र क्रान्तिको नमुना हो । विश्वसाम्राज्यवाद एवम् पुँजीवादको खरानीमा वैज्ञानिक समाजवाद जन्मनेछ । वैज्ञानिक समाजवादले शोसक वर्गहरू तथा मानिसद्वारा मानिसको शोषणको अन्त्य, समाजमा मित्रताको भावनाले युक्त र पारस्परिक सहयोगको सम्बन्ध स्थापित गर्नेछ । यसले हरेक प्रकारका सामाजिक उत्पीडन, जातिहरूको असमानता, सहर र गाउँ, मानसिक तथा शारीरिक श्रमबीचको अन्तरर्विरोधहरूको समाधान गर्नेछ । यसमा मजदुर, किसान र बुद्धिजीवी समुदायको मैत्रीपूर्ण सामाजिक समूहको निर्माण र तिनीहरूबीचको अन्तर निरन्तर अन्त्य गर्नेछ । सामाजिक उत्पादनको विकासबाट जनताको बढ्दो भौतिक तथा सांस्कृतिक आवश्यकता बढीभन्दा बढी पूर्ति गर्नेछ । सामाजिक जीवन व्यापक जनवादमा आधारित हुन्छ र श्रमजीवीहरूलाई सक्रिय रूपमा सामाजिक जीवनमा भाग लिनका लागि आकर्षित गर्नेछ । समाजवादी जनवादले श्रम, विश्राम, स्वास्थ्यरक्षा, वृद्धावस्थामा सुरक्षा, आवास, निःशुल्क शिक्षा, नागरिकहरूलाई समाज कानुन आदि सामाजिक अधिकार तथा प्रेस, सभा, सम्मेलन, जुलुस, भाषण, अन्तःस्करण, राजकीय तथा सामाजिक कार्यहरूको सञ्चालनमा सहभागिता र राजनीतिक स्वतन्त्रता सुनिश्चित गर्नेछ । पुँजीवादी सम्पत्तिको अधिकरण, राष्ट्रियकरण, सहकारीकरण र सामूहिकीकरण तथा उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व र भौतिक वितरणमा ‘हरेकबाट उसको क्षमताअनुसार, हरेकलाई उसको श्रमअनुसार’ को सिद्धान्त कार्यान्वयन गरिनेछ । समाजवाद, मुक्ति, न्याय, समानता, शान्ति र समृद्धि अभिन्न हुन्छ । त्यसले भौतिक तथा सांस्कृतिक विकास, श्रम सङ्गठनको स्वरूप, जीवनपद्धति, चिकित्सा तथा सांस्कृतिक सुविधाहरूमा क्रमशः विकास गर्दै साम्यवादको ढोका खोल्नेछ । मानव समाजले आफ्नो झन्डामा लेख्न सक्नेछ– ‘प्रत्येकबाट उसको योग्यताअनुसार, प्रत्येकलाई उसको आवश्यकताअनुसार’ उत्पादनका साधनहरूमाथि सम्पूर्ण जनताको समान स्वामित्व, वर्गविभेदको अन्त्य, गाउँ र सहर, मानसिक तथा शारीरिक श्रमबीच विभेदको अन्त्य, श्रम हरेकको जीवन्त आवश्यकता, भौतिक सम्पदाको वितरण आवश्यकतानुसार, राज्य तथा सम्पूर्ण राजनीतिक र कानुनी उच्च संरचनाको लोप हुनेछन् ।

नेपालमा सामन्तवादको अन्त्यपछि दलाल पुँजीवाद हावी भएको छ । दलाल पुँजीवादी संसदीय व्यवस्था गम्भीर अन्तरविरोधहरू र चरम सङ्कटबाट पराकाष्ठामा पुगेको छ । विज्ञानका वस्तुगत नियमअनुसार ब्रह्माण्डका सबै वस्तु जस्तै इतिहासका कालखण्डमा समाज व्यवस्थाको खास आयु हुन्छ । विश्वसाम्राज्यवादको अन्त्य र वैज्ञानिक समाजवाद– साम्यवादको जन्म हुनेछ । वैज्ञानिक समाजवाद– साम्यवाद नै सबै महासङ्कटको समाधान हो । आज नेपालका सबै संसद्वादीहरूले समाजवादको ब्यानर बोक्न विवश छन् । समाजवादको विज्ञापनमा दलाल पुँजीवादको खेती एवम् व्यापार गरिरहेका छन् । महान् लेनिनले ‘राजनीतिमा शब्दको दुरुपयोग एकदम साधारण कुरा हो । बेलायती बुर्जुवा उदारवादका अनुयायी हारकोटले ‘अब हामी सबै समाजवादी बनेका छौँ’ बिस्मार्कका समर्थकहरूले र पोपलेओ तेह्रौँका मित्रहरूले अक्सर आफूलाई ‘समाजवादी’ भन्ने गर्थे ।’ (लेनिन, जुन– जुलाई १९०५, खण्ड ११, पृष्ठ १–१३१) भने झैँ आजको दुनियाँमा सबैले समाजवाद र समाजवादीको भ्रम फैलाइरहेका छन् । समाज विचारक ‘जोड’ ले ‘समाजवादको यो टोपी यति धेरैले यति धेरै किसिमले लाए अब त त्यसको मूल स्वरूप नै हराउन आँटिसकेको छ’ भनेझैँ नेपालका राजनीतिक दलालहरु वैज्ञानिक समाजवादको बाटोमा अवरोध गर्न समाजवादको नक्कली मुकुन्डो लगाउन विवश भइरहेका छन् । यी तमाम प्रकारका नक्कली एवम् अवैज्ञानिक समाजवादका पुलिन्दा बेच्ने दलाल एवम् सामाजिक पुँजीवादीहरूलाई एङ्गेल्सले भनेझैँ ‘प्राचीन वस्तुहरूको सङ्ग्रहालयमा काठको चर्खा र कासको बन्चरोको बगलमा’ राखिदिनुपर्दछ । महान् माक्र्सले ‘वर्ग–समन्वय सम्भव हुँदो हो त राज्यको जन्म नै हुने थिएन । त्यो नयाँलाई गर्भमा धारण गर्ने प्रत्येक समाजको सुडेनी हो । बल प्रयोग नै यस्तो अस्त्र हो जसको मद्दतद्वारा सामाजिक प्रगतिले आफ्नो बाटो प्रशस्त पर्दछ र जड तथा मृत राजनीतिक रूपहरूलाई चकनाचुर पार्दछ’ भन्नुभएझैँ समाजवादी क्रान्तिद्वारा विश्व–साम्राज्यवादको नयाँ ठिमाहा दलाल पुँजीवाद र संसद्वादको अन्त्य र सर्वोत्कृष्ट समाज व्यवस्था र मानव सभ्यता वैज्ञानिक समाजवाद– साम्यवादको विजय अवश्यम्भाबी छ । बहुरूपी समाजवाद र समाजवादीहरू– मुर्दावाद ! वैज्ञानिक समाजवाद– साम्यवाद–जिन्दावाद !

५ फागुन, २०७८

सन्दर्भ सामग्रीहरू

१) विश्वदृष्टिकोणमा रूपान्तरण, सुदर्शन, असोज २०७६, रातो खबर प्रकाशन गृह प्रा.लि.
२) नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन (फागुन १–१० थबाङ) बाट पारित प्रतिवेदन, २०७३
३) पूर्णबहादुर सिंह, शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति (दोस्रो संस्करण, २०७३ जेठ, जनशिक्षा मासिक)
४) मनहरि तिमिल्सिना, समाजवादी क्रान्तिको कार्यदिशा, २०७८, मार्क्सवादी ज्ञान केन्द्र
५) परशुराम तामाङ, नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा, २०७८ भदौ, जागरण बुक हाउस
६) दार्शनिक र साङ्गठनिक सिद्धान्त (सङ्कलित दुई कृति) चाइना टेक्स्ट बुकको नेपाली रूपान्तरण, इन्द्रमोहन सिग्देल ‘वसन्त’, इच्छुक सांस्कृतिक प्रतिष्ठान
७) स्टालिनका छानिएका रचनाहरू, कृष्णदास श्रेष्ठ अनुवादक, पैरवी प्रकाशन २०६४
८) दर्शन विश्वकोश, अनुवादक रमेश सुनुवार र नारायण गिरी, नेपाल विज्ञान समाज २०७५
९) जेरेमी रिफ्किन, शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज, अनुवाद/सम्पादक, रमेश सुनुवार÷राजकुमार श्रेष्ठ, १ फागुन, २०७७
१०) मार्क्स–एङ्गेल्स, कम्युनिस्ट पार्टीको घोषणापत्र, प्रथम संस्करण (१९७९), अनुवादक, कृष्णप्रकाश श्रेष्ठ, अग्निपरीक्षा जनप्रकाशन प्रा.लि.
११) डीबी ढकाल, समाजवाद र नेपाल, मङ्सिर, २०७८, जागरण बुक हाउस
१२) मोहन भण्डारी, प्रजातान्त्रिक समाजवाद, भदौ, २०६७, ओरिएन्टल पब्लिकेसन
१३) डा.बाबुराम भट्टराई, अर्थ–राजनीतिक विमर्श, मङ्सिर २०७७, साङ्ग्रिला पुस्तक प्रा.लि.
१४) खगेन्द्र संग्रौला, अनुवादक, सत्ता र सत्य, भदौ, २०७७, बुकहिल पब्लिकेसन प्रा.लि.
१५) डा.गोपाल सिवाकोटी, विश्वका प्रमुख राजनीतिक विचारधारा, दोस्रो संस्करण, २०६१, पैरवी प्रकाशन । आदि ।

(नेकपा (बहुमत) का नेता पूर्णबहादुर सिंहको प्रकाशोन्मुख ‘वैज्ञानिक समाजवादका अधारहरू’ पुस्तकको अंश– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :