नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ षड्यन्त्रपूर्वक गिरफ्तार

तत्काल रिहा नगरिए देशव्यापी आन्दोलन : सुदर्शन

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ षड्यन्त्रपूर्वक गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई प्रहरीले आज बिहानै दाङको भालुबाङबाट षड्यन्त्रपूर्वक गिरफ्तार गरेको छ । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयका तर्फबाट नेता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई बिनासर्त तत्काल रिहा नगरिए देशव्यापी सङ्घर्ष हुने र त्यसको जबाफदेही सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् । नेता सुदर्शनले जारी गरेको विज्ञप्तिमा संयोजक कञ्चनलाई नियोजित रूपमा षड्यन्त्रपूर्वक गिरफ्तार गरिएको उल्लेख छ ।

नेता सुदर्शनद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

प्रेस विज्ञप्ति
नेकपा (बहुमत) का संयोजक क. कञ्चनलाई तत्काल रिहा गर

आज बिहान ४ः०० बजे नेपाली शोषित—उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक क. कञ्चनलाई दाङ जिल्लाको भालुबाङमा नेपाल प्रहरीले गिरफ्तार गरी नियन्त्रणमा लिएको घटनाले हाम्रो पार्टी केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । क. कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ । यही वैशाख २१ देखि २३ सम्म चितवनमा सम्पन्न विशेष राष्ट्रिय भेलाबाट नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बनेको कुरा सर्वविदितै छ । त्यसले आफ्नो स्पष्ट कार्यक्रम, कार्यदिशा र कार्यनीति पारित गरेको छ । यसले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने र स्थानीय निर्वाचन सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने तथा देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सकिने नीति लिएको छ । बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको कुरा सार्वजनिक भएको छ । हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौँ । त्यसकारण राज्यसत्तासँग नेकपा (बहुमत) का संयोजक कञ्चनको शीघ्र रिहाइका लागि माग गर्दछौँ । उहाँलाई तुरुन्त रिहा गरिएन भने देशव्यापी रूपमा हुने सङ्घर्षको जिम्मेवार हामी हुनेछैनौँ । विज्ञप्ति….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :