नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

नाङ्लो ठटाएर हात्ती तर्साउने दुःस्वप्न

नेकपा नेताको गिरफ्तारी र पक्राउ पुर्जी !

प्रतिक्रियावादीहरू नसकिउन्जेल सच्चिँदैनन् भनेर महान् माओले उसै भन्नुभएको होइन । हतियारको बलमा टिकेको प्रतिक्रियावादी (विशेषतः हालको संसद्वादी–पुँजीवादी शक्ति) लाई बलले नै परास्त गर्न सकिन्छ भनेर नै संसारमा उत्पीडित वर्गले वर्गसङ्घर्ष जारी राखेको छ । नेपालमा पनि निरन्तर विभिन्न स्वरूप र प्रकृतिको वर्गसङ्घर्ष जारी छ । सत्तासङ्कट शान्तिपूर्ण वार्ता र छलफलद्वारा समाधान गर्ने प्रतिबद्धताका साथ गतवर्ष फागुन २१ गते तत्कालीन केपी वली सरकार र नेकपाका बीचमा भएको ३ बुँदे सहमति कार्यान्वयन नभइरहेको सन्दर्भमा संसद्‌वादी दलहरूको गठबन्धन देउवा सरकारले नेकपाका नेता तीर्थ राईको घरमा दुईवटा पक्राउ पुर्जी टाँसेको छ भने नेकपाका अर्का नेता पुष्प कोइरालालाई गिरफ्तार गरेको छ । एकातिर नेकपासँग पूर्ववर्ती सरकारले गरेको तीनबुँदे सहमति लागू गर्छु पनि भन्ने र अर्कातिर नेकपाका नेताहरूलाई गिरफ्तार गर्दै पक्राउ पुर्जी जारी गर्ने प्रचण्ड–देउवा–नेपाल–भट्टराई गठबन्धन सरकारको यो हर्कत घोर निन्दनीय, प्रतिगामी र विध्वंसात्मक कदम हो । यस किसिमको हर्कत बन्द गरी आत्मालोचनासहित गिरफ्तार नेतालाई रिहा नगरिए र पक्राउ पुर्जी फिर्ता नलिइए स्थिति यति सामान्य रहनेछैन । यो कुरा प्रतिक्रियावादी सत्ताले बुझ्दा हुन्छ ।

देउवा सरकारले तीर्थ राईको घरमा पक्राउ पुर्जी टाँसेकै समयमा पुष्प कोइरालालाई गिरफ्तार गरेको छ । सरकारले नेकपाका नेताहरूको घरमा पक्राउ पुुर्जी टाँस्ने र गिरफ्तार गर्ने काम कुनै अप्रिय दुर्योग मात्र होइन, कपिलवस्तुमा नेकपा केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकले संसद्‌वादी सत्ताले गराएको स्थानीय चुनावमा भाग नलिने निर्णय गरेको जानकारी सार्वजनिक भएकै बेलामा सुनयोजित रूपले गरेको छ । बैठकमा जानुअघि नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसँग प्रक्रिया पूरा गरी छिट्टै नै आस्थाका राजनीतिक बन्दी रिहा गर्ने र नेकपाका नेता–कार्यकर्तामाथि लगाइएका झूट्टा मुद्दा खारेज गर्ने वाचा गरेको देउवा नेतृत्वको गठबन्धन सरकारले बन्दी रिहा गर्नु र झूट्टा मुद्दा खारेज गर्नु त कता हो कता, उल्टै नेताहरूको घरमा विभिन्न झूट्टा मुद्दा लगाएर र पुराना, सुल्झिसकेका मुद्दा उल्ट्याएर पक्राउ पुर्जी टाँस्ने र गिरफ्तार गर्ने निन्दनीय हर्कत गरेको छ । नेकपाको बैठकले एकमतले पार्टी दर्ता गराएर चुनावमा नजाने निर्णय गर्नासाथ गठबन्धन सरकारले नेकपामाथि धरपकड बढाएको छ । झन् राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गर्ने पार्टीका विरुद्ध स्वतन्त्र रूपमा चुनावमा भाग लिएका देशभक्त उम्मेदवारहरूलाई सघाउन सक्ने निर्णय आउनासाथ नेकपामाथि धरपकड बढाउनुको औचित्य के हो ? यसको उद्देश्य प्रस्टै छ– हिजो देशको राजस्वमारा एनसेल र भ्रष्टहरूविरुद्ध सङ्घर्ष गर्दा नेकपामाथि प्रतिबन्ध लगाइएको थियो । आज चुनावमा नजाने र एमसीसीविरोधी देशभक्तहरूलाई सघाउनसक्ने निर्णय आउनासाथ सरकार नेकपासँग आत्तिएको छ र उसलाई धम्क्याउन, गलाउन, तर्साउन र प्रतिक्रियावादी दलाल व्यवस्था र सत्तासामुन्ने निरीह बनाउन दबाब दिइरहेको छ । क्रान्तिकारी शक्तिलाई जिक्याइरहेको छ । नेपालीमा एउटा उखान छ– लातको भूत, बातले मान्दैन । देउवा नेतृत्वको दलाल संसद्‌वादी गठबन्धन सरकारले यति बेला फेरि नेपालको एक मात्र क्रान्तिकारी शक्ति नेकपासँग जोरी खोज्न लागेको छ ।

नेकपाको बैठकले गरेको निर्णयमा भनिएको थियो, ‘सिद्धान्ततः मात्र होइन, व्यवहारतः पनि संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको हित रक्षा गर्ने प्रतिक्रियावादी व्यवस्था हो । यो व्यवस्था रहेसम्म श्रमिक जनता र राष्ट्रले मुक्ति र स्वाधीनता प्राप्त गर्न सम्भव छैन । बरु अनेकौँ राष्ट्रघात र जनघातका घटनाहरू भोग्न अनिवार्य छ । संसदीय व्यवस्थाभित्र आफ्नो शक्तिको सुदृढीकरण गर्न साथै जनतालाई संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामा घुमाउन हरेक चार या पाँच वर्षमा चुनावको आयोजना गरिन्छ । अर्थात् पुँजीपति वर्गले चुनावलाई संसदीय व्यवस्थाको रक्षा गर्ने रणनीतिमा प्रयोग गर्दै आएको छ । यो व्यवस्थाभित्र जुनसुकै रूप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणालीहरू हुन् । यसर्थ चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात् वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव भएन र छैन ।’ बैठकको यो निर्णय सार्वजनिक भएपछि दलाल संसद्‌वादी व्यवस्थाका सञ्चालक र मतियारहरू नेकपालाई कसै गरी पनि यो व्यवस्थामा आत्मसमर्पण गराउन र चुनावमा भाग लिन लगाउन सकिँदैन भन्नेमा प्रस्ट भएका छन् र नेकपाका नेता–कार्यकर्तामाथि मुद्दा लगाउने, उल्ट्याउने, गिरफ्तार गर्ने र पक्राउ पुर्जी जारी गरी मनोबल गिराउने दमनको भाषा प्रयोग गर्न थालेका छन् । प्रतिक्रियावादीहरूले के कुराचाहिँ बुझिराख्दा राम्रो हुन्छ भने विश्व–सर्वहारावर्गका महान् नेता कमरेड स्टालिनले भनेझैँ कम्युनिस्टहरू विशेष धातुले बनेका मानिसहरू हुन् अर्थात् कम्युनिस्टहरू इस्पातले बनेका हुन् । यी बरु भाँसिन्छन् तर दोब्रिँदैनन् ।

नेपाल कम्युनिस्ट पार्टी धेरै लामो इतिहास बोकेको क्रान्तिकारी कम्युनिस्ट शक्ति हो । यो २००६ सालमा कमरेड पुष्पलालले स्थापना गरेको क्रान्तिकारी पार्टीको उत्तराधिकारी हो । यो निरन्तर क्रान्तिबाट वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना नगर्दासम्म सुस्ताउने, बिक्ने, भाग्ने वा लोभिने शक्ति होइन । महासचिव कमरेड विप्लवले बारम्बार भन्ने गरेका छन्– केही मन्त्री पद, केही करोड रुपैयाँ, केही धनसम्पत्तिका लागि सिद्धान्त बेचेर दलाल पुँजीवादी दलदलमा नाक रगड्ने पार्टी होइन यो । यो नेपालका सम्पूर्ण वर्गसङ्घर्षको भट्टीमा खारिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । त्यसैले यो पार्टीले दलाल पुँजीवादी सत्ताले गराउने चुनावमा भाग नलिने निर्णय गरेको छ । निरन्तर क्रान्ति अघि बढाउने र एकीकृत जनक्रान्ति सफल पारेर वैज्ञानिक समाजवाद स्थपना गर्ने उद्घोष गरेर अघि बढिरहेको नेकपामाथि प्रतिबन्ध लगाउने समयमा मात्र होइन, हिजो जनयुद्ध आरम्भ गर्ने समयमा पनि प्रतिक्रियावादी शासकवर्ग र तिनका मतियारहरूले क्रान्तिकारीहरूलाई दमन गरेरै सिध्याउने दुःस्वप्न देखेका थिए तर कालान्तरमा उनीहरू आफैँ क्रूर तानाशाह र खलपात्रका रूपमा इतिहासमा सीमित भए । अहिले तिनका उत्तराधिकारीहरू राष्ट्रघात–जनघात गर्दै दलाल संसदीय व्यवस्थाको तालाचाबी लिएर सत्तामा विराजमान छन् र आमूल परिवर्तनका पक्षमा, व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर क्रान्तिमार्गमा लम्किरहेका राता सिपाहीहरूमाथि दमन गरेर क्रान्तिको भ्रूण नै समाप्त पार्ने अर्को दुःस्वप्न देखिरहेका छन् । उनीहरूको यो दुःस्वप्नलाई दिवासपनामा उल्ट्याइदिने शक्ति क्रान्तिकारीहरूसँग छ किनकि नेपाल कम्युनिस्ट पार्टी मालेमावादी शक्ति हो र यो महान् जनयुद्धको असली उत्तराधिकारी पनि हो । त्यसैले क्रान्तिकारी शक्ति अर्थात् क्रान्तिको आगोसँग नजिस्क । क्रान्तिकारी वैचारिक हतियार नचलाऊ । यो दलाल वर्गका शासकहरूलाई पूर्वचेतावनी मात्र हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :