तीन लाल बस्तीको नयाँ सन्देश

तीन लाल बस्तीको नयाँ सन्देश

नियात्रा

‘पुरानोको ध्वंस र नयाँको निर्माण’ महान् जनयुद्धको उद्देश्य हो । जनयुद्धले पुरानो रूढिवादी एवम् परम्परागत संस्कृतिको विस्थापन मात्र गरेन, नयाँ संस्कृतिको बीजरोपण एवम् स्थापना पनि गरेको छ । सामाजिक रूपान्तरण र प्रबुद्ध समाज निर्माणको आधारशिला पनि जनयुद्धले निर्माण गरेको छ ।

लेखक : पूर्णबहादुर सिंह

हरेक नयाँ ठाउँले हरेक मानिसलाई नयाँनयाँ अनुभव एवम् अनुभूति दिलाउँछ । नेपालको प्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन र दसबर्से जनयुद्धमा एक फरक पहिचान, योगदान र भूमिका बोकेको रामेछाप जिल्ला मेरा लागि एकपटक पुग्नैपर्ने ठाउँमध्येको एक हो । गत वर्ष विविध कारणले जान सकिएन । फलस्वरूप हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले मेरो अनुपस्थितिकै बीचमा प्रथम विद्यार्थी सहिद गङ्गालालको जन्मस्थल भँगेरीमा मेरो ‘शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति’ पुस्तकको प्रथम लोकार्पण गराएको थियो । यो वर्ष जसरी पनि पुग्ने चाहना थियो र पुगियो ।

रामेछाप यात्राको फरक एवम् नयाँ नाम– ‘सिर्जनानगर सिर्जनायात्रा २०७२’ थियो । यो यात्राका पहलकर्ता एवम् आयोजक आदरणीय कमरेड अशोक सुवेदीलाई म अन्तस्करणदेखि नै आभारसहित धन्यवाद व्यक्त गर्दछु र यो यात्राका जीवन्त अनुभूतिहरूलाई शब्दद्वारा अभिव्यक्त गर्दै सङ्क्षेपमा साट्न पनि चाहन्छु ।

०७२ साल चैत २४ गते ऐतिहासिक दिनमा नै हाम्रो यात्राको प्रारम्भ भयो । पञ्चायती निरङ्कुश शासनको तख्ता पल्टाउने जनआन्दोलनले एउटा उत्कर्ष ०४६ साल चैत २४ गतेका दिन लिएको थियो । काठमाडौँको कोटेश्वरमा हाम्रो यात्राको पहिलो सम्पर्क स्थान थियो । पुष्प भाइलाई बाइकमा पुर्याउन अनुरोध गरेपछि एकै वचनमा मलाई कोटेश्वर– जडीबुटीसम्म पुर्याइदिए । त्यसपछि कमरेड अशोक सुवेदीको सम्पर्कमा पुगियो । ४०–४५ जना विभिन्न विधाका स्रष्टाहरूको साथमा नेपाली महिला आन्दोलनकी अग्रज आदरणीय दिदी शान्ता श्रेष्ठ र इतिहासविद् आदरणीय प्रा.डा. सुरेन्द्र केसीको पनि उत्साहजनक सहभागिता एवम् सहयात्राले हाम्रो यात्रामा अझै उत्साह थपियो । ४–५ घन्टाको समय र लामो दूरी पार गरेपछि हामी बेलुका ४–५ बजे रामेछापको भँगेरी पुग्यौँ । रिजर्भ गाडी विभिन्न व्यक्तित्वहरूको सहभागिता, बातचित र नयाँ एवम् ऐतिहासिक स्थानतर्फको यात्रा भएकाले लामो दूरीको बाटो र समय बितेको पत्तै नपाई हामी आकस्मिक रूपले भँगेरी पुगेको अनुभूति भयो ।

निरङ्कुश जहानिया राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र (जनतन्त्र) स्थापना गर्न सङ्घर्षको बीजरोपण एवम् आफ्नो जीवनको कुर्बानी गर्ने प्रथम विद्यार्थी सहिद तथा प्रजातन्त्रका प्रणेता गङ्गालाल श्रेष्ठ र सामन्तवाद तथा साम्राज्यवादको शोषण–उत्पीडनबाट नेपाल र नेपाली जनतालाई मुक्ति दिलाउने नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव कमरेड पुष्पलालको जन्मभूमि भँगेरीमा पहिलोपटक पुग्न पाउँदा गौरवानुभूतिको सीमा रहेन ।

गङ्गालाल र पुष्पलाल (दाजुभाइ) को प्रतिमा राखिएको ठाउँ (जन्मस्थान) मा हाम्रो यात्राको पहिलो कार्यक्रम सम्पन्न भयो । कमरेड अशोकले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, शान्ता श्रेष्ठ र मैले यात्रा, पुष्पलाल–गङ्गालाल–कृष्णलाल (तीन लाल) का बारेमा छोटो मन्तव्य राख्यौँ । अन्य सबै सहभागी र यात्रुले परिचयसहित अनुभूतिपरक प्रतिक्रिया राख्नुभयो । उक्त स्थानको इतिवृत्तान्त सविस्तार बुझ्ने हामी सबैको चाहना समयको पाबन्दीले दिएन । त्यसको सारांश कमरेड अशोकले बताउनुभएको थियो । त्यसलाई नै पहिलो आधार मानेर भविष्यमा यस ऐतिहासिक ठाउँको अध्ययन एवम् अनुसन्धान गर्ने जिम्मेवारी भविष्यलाई नै दिँदै एउटै शिलामा हित–जून साहित्य प्रतिष्ठानको अगुवाइ र लगानीमा अढाइ वर्षअघि मूर्तिकार नरेन्द्र भण्डारीद्वारा तयार पारिएको प्रतिमाको स्थापन एवम् माल्यार्पण गरी हामी कवि हितप्रसाद उपाध्याय र ममतामयी जूनमाया सुवेदीको जन्म/कर्मघर सिर्जनानगरतर्फ प्रस्थान गर्यौँ ।

मुलुकका साझा विभूति, जनतन्त्र र कम्युनिस्ट आन्दोलनका अग्रजहरूको त्यो जन्मभूमिप्रतिको उपेक्षाले नेपालको राजनीतिमा जहरका रूपमा मौलाएको गलत संस्कार र इतिहास एवम् अग्रजहरूप्रतिको त्यो बेवास्ताले मेरो मानसपटलमा ‘इतिहासले कसैलाई सिक्न कर गर्दैन तर इतिहासबाट सिक्न नचाहनेहरू पछि पर्छन्’ भन्ने कुरा निकै गहिरो गरी बाटाभरि घुमिरह्यो । प्राडा सुरेन्द्र केसीको ‘गुरुलाई नमान्नेहरू गलत हुन्’ भन्ने कुराले मलाई पोल्यो । शान्ता दिदीले गङ्गालाल र पुष्पलालको जीवन, परिवार र सङ्घर्षको छोटो अनुभूति बताउनुभएको थियो । त्यो मेरा लागि प्रेरणाको पाठशाला पनि बनिरहनेछ । त्यो भूमिलाई त एउटा महत्वपूर्ण पर्यटकीय स्थल तथा अध्ययन केन्द्र बनाइनुपर्ने हो । मेरो मनमा आक्रोश पनि पैदा भयो– कसैले इतिहासबाट सिक्न चाहँदैन र इतिहासप्रति गौरव गर्नुको सट्टा पश्चाताप गर्छ भने आत्महत्या गरेर मरे हुन्छ ।

भँगेरीबाट झमक्क साँझमा ओरालो लागेका थियौँ, राति करिब ९ः३० बजे हामी सिर्जनानगर पुग्यौँ । ठूलो टिमलाई मेसमा खानाको व्यवस्थापन गरेर कमरेड अशोकका दिदी–बहिनी मीरा र इन्दिराले गरेको प्रतीक्षा, टिमको सामूहिक खानपिन र सामूहिक बसाइले मलाई जनयुद्धकाल र आधारइलाकामा गठित जनकम्युनमा पुगेको अनुभूतिलाई पुनर्ताजगी गरायो ।

२५ गते बिहानको चिया–नास्तापछि क. अशोकले दिनभरिको कार्यक्रमको तालिका सुनाउनुभयो । त्यसपछि हामी ‘सिर्जनानगर सिर्जनायात्रा २०७२’ को ब्यानरसहित सिर्जनानगर खाँदबारीको सिरानमा स्थानीय जनसमुदायले निर्माण गरेको एउटा मन्दिरको अवलोकन गरी खाँदबारीतर्फ फर्मेसनबद्ध प्रस्थान गर्यौँ । खाँदबारी पुगेपछि विगत लामो समयदेखि स्थानीय सामन्तहरूले किसानहरूलाई कसरी कति धेरै सास्ती दिएका रहेछन् र पाँच सय वर्षअघि किसानको सामूहिक श्रमबाट निर्मित उक्त भूमिलाई कसरी हडपेका रहेछन् भन्ने कुराको अध्ययन गर्ने र बुझ्ने अवसर पनि प्राप्त भयो ।

बिहानको खानापछि औपचारिक कार्यक्रमको सुरुआत हितप्रसाद उपाध्याय जूनमाया सुवेदी स्मति हलमा भयो । साहित्यकार एवम् कवि बुबा हितप्रसाद उपाध्याय र ममतामयी आमा जूनमाया सुवेदीको सालिक र विद्रोही किसानहरूको स्मृतिमा निर्मित ५० फिट अग्लो स्तम्भको अनावरण आदरणीय दिदी शान्ता श्रेष्ठले सयौँ जनता र हामी अभियन्ताहरूको गडगडाहट तालीको बीचमा गर्नुभयो । यात्राको बीचमा असारे भाकामा श्यामबहादुर भावुकद्वारा लिखित काव्यका हरफ र सामूहिक रूपमा अभिव्यक्त स्वरलहरीले हाम्रो यात्रालाई अझै सङ्गीतमय तथा साहित्यमय साबित गरेको थियो ।

सभाहलको औपचारिक कार्यक्रममा मन्तव्य, पुस्तक लोकार्पण, सम्मानपत्र वितरण, नगद पुरस्कार वितरण, अतिथि कविता वाचन, गीत गायन, कविता प्रतियोगिता र चित्रकला कार्यशाला तथा प्रदर्शनी पनि सम्पन्न भयो । धनसम्पत्ति नभएको गरिबको नाम धनबहादुर भएजस्तो नभएर सिर्जनानगर साँच्चिकैको सिर्जनानगर पो रहेछ । रूढिवादी, परम्परागत र पुरानो–जीर्ण–रूढ संस्कृतिलाई सबक दिएर नयाँ संस्कृतिको उद्गमस्थल अनि साहित्य क्षेत्रमा बहुप्रतिभाशाली स्रष्टाहरूको केन्द्रीय भूमिजस्तो पो रहेछ सिर्जनानगर । समग्र कार्यक्रम, सशक्त रूपमा सहभागी बालकवि–कवयित्रीबीचको कडा प्रतिस्पर्धा र १४ जना युवा कवि र कवयित्रीबीचको प्रतियोगिता, आमालगायत गीत र कविताहरूको जोडदार प्रस्तुतिले म विश्वस्त भएँ– सिर्जनाको खानीको अर्को नाम नै सिर्जनानगर रहेछ । मानव सभ्यताको प्राचीन उद्गमस्थल सिन्धुघाँटी, नीलघाँटी र ग्रिस भनेर किताबमा पढ्न पाइन्थ्यो तर सिर्जनाको उद्गमस्थल, सिर्जनानगर भनेर लेख्दा र बुझ्दा अत्युक्ति नहोला भन्ने मेरो ठहर छ ।

जनयुद्धको थालनीका बेला बेथान (तीफदि) को र त्यसपछि दोरम्बाको वीरता एवम् बलिदान रामेछापको फरक परिचय हो । पुरानो संस्कार र संस्कृतिको तिलाञ्जली दिएर नयाँ संस्कार र संस्कृतिको पक्षपोषणको येनान पनि हो रामेछापको सिर्जनानगर । कथा, कविता र साहित्यमा मात्र होइन, सामाजिक रूपान्तरणको अभियानमा निरन्तर सङ्घर्षको यात्रामा अगुवाइ गरिरहेको छ सिर्जनानगरले । संसारमा एकपटक मात्र प्राप्त हुने आमाबुबाप्रतिको वास्तविक दायित्व : सेवा, सम्मान एवम् श्रद्धाका दृष्टिले क. अशोक सुवेदी मेरो पनि प्रेरणाको धरोहर हुनुहुन्छ । कम्युनिस्ट, त्याग, बलिदान र समर्पणको खोक्रो ढ्वाङ फुक्ने नक्कली ‘बाबाजी’ हरूका लागि सिर्जनानगर समाजवादको नमुना र सबक बनेर खडा भइरहेको छ । जहाँ पुरानो रीतिरिवाज, चालचलन, धर्मसंस्कारको विकल्प नयाँले लिइरहेको छ । आमा–बुबाका लागि असल छोराछोरीको अपेक्षा सार्वभौम सत्य हो । तर सुपुत्र एवम् असल सन्तानको नमुना क. अशोक सुवेदीलाई मान्न सकिन्छ । सामाजिक सद्भाव मात्र होइन, पारिवारिक सहिष्णुता र सद्भावको एउटा ज्वलन्त उदाहरण सासू–ससुराको साँचो सेवा गर्ने बुहारी (उमा सुवेदी) को सम्मान त्यस दिनको कार्यक्रमको धेरै आयाममध्ये एक नयाँ आयाम थियो । सालिक र स्मारकहरूमा त्यसका निर्माता श्रमजीवी श्रमिकहरूको नाम अङ्कित गर्ने, कलाकार, स्रष्टा, संस्कृतिकर्मी र श्रमिकहरूलाई सम्मान गर्ने संस्कृति पनि नयाँ, प्रगतिशील, समाजवादी र अनुकरणीय जनसंस्कृति हो, त्यसको आरम्भ सिर्जनानगरबाट भएको छ ।

हाम्रो यात्राको तेस्रो दिन चैत २६ गते हितप्रसाद उपाध्याय र अशोक सुवेदीको जन्मघर र जूनमायाको कर्मघर नयाँघरको कार्यक्रममा अखिल नेपाल ललितकला सङ्घका अध्यक्ष क. अग्निराज पौडेलअराप र म छुट्यौँ । तर पनि ‘लालबस्ती’ चलचित्र, सिर्जनानगर सिर्जनायात्रा २०७२ वृत्तचित्र आमा श्रव्यदृश्य गीति एल्बमका धेरै अभिनयकर्तामध्ये हामी पनि भयौँ । यी सबै पलहरू स्मरणीय रहे ।

खानपिनपछिको कार्यतालिका तीन लाल (गङ्गालाल–पुष्पलाल–कृष्णलाल) को तामाकोसीकिनार आकासेमा रहेको सालिक हेर्ने र आजाद जन्मस्थल खुर्कोट हुँदै काठमाडौँ फर्किने थियो । चिनियाँ जनवादी क्रान्ति, भारतीय स्वतन्त्रता सङ्ग्राम र रुसी अक्टोबर क्रान्तिपछि ‘यात्री’ कविताद्वारा भौतिकवादको पक्षपोषण गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा स्थापित देवकोटाचोकबाट हामी तीन लालको सालिक हाटेचौरतर्फ अघि बढ्यौँ । गङ्गालाल र पुष्पलालका बारेमा त पहिले नै केही उल्लेख गरेँ । राणा शासनविरुद्धको सङ्घर्षलाई ‘मकैको खेती’ द्वारा ऊर्जा थप्ने सुब्बा कृष्णलाल अधिकारी रामेछाप मात्र होइन, हामी सबै नेपालीका लागि उत्तिकै सम्मानित स्रष्टा सहिद हुनुहुन्छ ।

प्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट, आन्दोलन, माओवादी आन्दोलन र सांस्कृतिक आन्दोलनको जीवन्त अध्ययनका दृष्टिले मात्र होइन, बाबा–आमा र सच्चा सन्तानबीचको सुमधुर सम्बन्ध बुझ्ने अवसर पनि यसपटकको रामेछाप सिर्जनानगरको तीनदिने यात्राबाट प्राप्त भयो । तसर्थ ‘२१ औँ शताब्दीका श्रवणकुमार’ र त्रिलाल (तीन लाल) बस्तीको यात्राले हामी सबैलाई नयाँ शिक्षा एवम् सन्देश दिइरहेको छ । सिर्जनानगर र रामेछापबाट सिकौँ ।

२० वैशाख, २०७३ (सिंहको प्रकाशोन्मुख ‘वैज्ञानिक समाजवादका आधारहरू’ पुस्तकबाट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :