एमालेसँग चुनावी तालमेलबारे छलफल भएको कुरा भ्रामक : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले प्रेस नोट जारी गर्दै सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच भएको छलफल चुनावका विषयमा नभएर अन्य राजनीतिक विषयमा भएको प्रस्ट पारेको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव असलले मङ्गलबार जारी गरेको प्रेस नोटमा नेकपा र एमालेका स्थानीय नेताबीच भएको छलफलका विषयमा सामाजिक सञ्जालमा भएको चर्चा–परिचर्चा र तर्क–वितर्क अनावश्यक रहेको उल्लेख छ ।

असलले प्रेस नोटमा भनेका छन्, ‘सुदूरपश्चिममा हाम्रो पार्टी र एमालेबीच भएको छलफलको विषयलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक चर्चा–परिचर्चा र तर्क–वितर्क भैरहेकोमा हाम्रो पार्टी कार्यालयको ध्यानाकर्षण भएको छ । उक्त छलफल कुनै चुनावी प्रयोजनलाई लिएर नभएको, बरु समसामयिक राजनीतिक विषयमा मात्र छलफल भएको कुरा सम्बन्धित कमरेडहरूमार्फत यथार्थ आएको छ । त्यसकारण उक्त विषयलाई लिएर अनावश्यक भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछौँ ।’

स्मरणीय छ, नेकपाको १२ औँ पूर्ण बैठकले नेकपाले पार्टीगत रूपमा चुनावमा भाग नलिने निर्णय गरिसकेको छ । बैठकले एमसीसीविरोधी, देशभक्त शक्तिहरूलाई स्वतन्त्र रूपमा सघाउन भने सकिने भए पनि पार्टी नै दर्ता गरेर चुनावको प्रयोग वा उपयोग नगर्ने निर्णय गरिसकेको अवस्थामा नेकपाकै एक केन्द्रीय सदस्यले एमालेसँग चुनावी तालमेलका लागि भएको छलफल सकारात्मक भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि पार्टीले यसप्रकारको प्रेस नोट जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :