लडौँ, अघि बढौँ

कविता

लडौँ, अघि बढौँ

मेरो देश दुखिरहेको छ
सरकारको देशभक्ति हरायो
एमसीसीको गुलियो विषले
सबै नेतालाई दलाल बनायो ।

लोकतन्त्र भनेर नगाउने पाखण्डीहरू
समाजवाद र हँसिया–हथौडा झन्डा समाउने डाँकाहरू
घूस र कमिसनखोरी चोरहरूको शासन
दलालहरूको क्लब भयो संसद् भवन ।

इतिहासमा कसैसँग नहारेको मेरो देश
आजसम्म कसैले नजितेको मेरो देश
स्वाभिमानी देशभक्तहरूको बलिदानले
जोगाएको मेरो स्वतन्त्रताको
वीर पुर्खाहरूले रखबारी गरेको
मेरो स्वाधीनताको सगरमाथाविरुद्ध
खबरदार संसद्‌वादी दलालहरू !!
एमसीसीको आँखाबाट हेर्यौ भने
सत्ता–स्वार्थका लागि
संसद्‌वादका पक्षमा तमसुक गर्यौ भने
विदेशीको स्वार्थ बोक्ने भरौटे भएर
यो देशको अस्मिता मेट्टाउने दुस्साहस गर्यौ भने
सोचिराख तिम्रै चिहानमा
वीर नेपालीहरूले आफ्नो
विजयको झन्डा फहराउनेछन् ।

हेल्लो गठबन्धन सरकार !
शेबदे ! एमसीसी तिम्री आमा हो ?
प्रचण्ड ! एमसीसी तिम्रो ससुराली हो ?
बाबुराम ! तिम्रो पनि ससुराली हो ?
माकुने ! तिम्रो बाउ हो ?
उपेन्द्र यादव ! एमसीसी तिम्रो काका हो ?
महन्थ ! एमसीसी तिम्रो मामा हो ?

लेन्डुप दोर्जे बनेर आउने दलालहरू !
होसियार ! खबरदार ! तिम्रो अन्त्यपछि
जिन्दगीले फेरि ‘मिस्ड कल’ गर्नेछैन ।

एक झुल्को बिहानीको आशामा
बाँचेका बूढाबूढीहरूको
एकबारको जुनीमा समृद्ध जीवनको सपनामा
पर्खेका युवकयुवतीहरूको
आधारभूत आवश्यकताको कहरमा
पसिना बगाइरहेका श्रमिकहरूको
परिवारको सानो खुसीका लागि बाध्य भएर
बिदेसिएका लाखौँलाख युवकयुवतीहरूको
हजारौँ सहिद, बेपत्ता योद्धा र घाइतेको
परिवर्तनको सुन्दर सपना हत्या गर्ने र
देशलाई आत्महत्याको बाटोमा लग्ने
दुस्साहस मात्र गर्यौ भने पनि
खबरदार !!
बादशाहहरूको टाउको काटेर
जनताले फुटबल खेलेको इतिहास
त्यो दिन फेरि अवश्य आउनेछ ।
नयाँ मुक्त बिहानी छाउनेछ ।

दलालहरूले मेरो देशलाई द्वन्द्वमा धकेलेपछि
जित र हारको लडाइँ सुरु भएको छ
देश नै रणमैदानमा बदलिएपछि
हरेक सडक देशभक्ति क्रान्तिकारीहरूको किल्ला बनेको छ ।

नेपाल आमाको पीडाको भक्कानोभन्दा
लाठी, बुट, अश्रूग्याँस र गोलीको बेपरबाह
साम्राज्यवादी र दलाललाई एकसाथ धुलो चटाउन
देशभक्त, क्रान्तिकारी, युवा–विद्यार्थीहरू
फौजमा बदलिएका छन् ।

आऊ देशभक्त युवाहरू
आफ्नो रणमोर्चा समाल्न
दलालहरूको अन्त्य गर
तिम्रै हातमा देशको भविष्य छ ।

फूल फुलिरहन्छन्
झुसिल्कीरा क्रमशः पुतली बनिरहन्छन्
ए ! एमसिसीका कठपुतलीहरू
तिम्रो राष्ट्रघातको दागलाई
‘निरमा सरफ’ ले धोए पनि जाँदैन ।
रणमैदानका युवा विद्यार्थीहरू तिम्रा मलामी हुन् ।

वासिङ्टनको दुनियाँ लुट्ने एमसीसी
तिम्रो खुनी स्वार्थ नेपालीलाई चाहिँदैन ।
शान्तिपूर्ण विरोध प्रदर्शनलाई
हिंसा देख्ने अमेरिकी राजदूतको कूटनीति स्वीकार्य छैन ।

मेरो प्यारो देश, शक्तिराष्ट्रहरूको
युद्ध र स्वार्थको अखाडा कदापि बन्न सक्दैन
मेरो प्यारो देशको, स्वाधीनता र स्वतन्त्रतालाई
देशभक्त नेपालीले आँच आउने दिनेछैनन् ।

सम्पूर्ण क्रान्तिकारी, देशभक्त, राष्ट्रवादी एक हौँ ।
राष्ट्रिय मुक्ति लडाइँलाई विजयमा पुर्याऊँ
दलाल संसदीय व्यवस्था खारेज गरौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :