राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच कम्युनिस्ट पार्टी र दुई मोर्चा निकट संयुक्त ट्रेड युनियन महासंघ मकवानपुरले राष्ट्रघाती एमसीसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्ध विरोध प्रदर्शन सहितको कोणसभा कार्यक्रम गरेको छ । कार्यक्रम सोमबार बिहान बागमती प्रदेशको राजधानी हेटौँडामा भएको हो । सीमा चोकबाट सुरु भएको र्याली बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमजीवी मजदुरहरूको सहभागिता रहेको थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा पश्चिम बागमती इन्चार्ज राजकुमार मगरले देशको जनशक्ति खाडी मुलुकमा पठाई बेचेर खाना पल्केका दलालहरूले आज नेपाल आमा र पुर्खाले आर्जेको गौरवपूर्ण इतिहास र राष्ट्रिय पहिचानलाई लिलाम गरी साम्राज्यवादको टाँगमुनि लम्पसार परी भिख मागिरहेको बताए । उनले यस्ता दलाल देशद्रोहीलाई बचाउनु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु जस्तै हुने भएकाले तिनलाई समयमै ठेगान लगाउन सबै तयार हुनुपर्ने बताए । राज्यले रोजगार, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्लान् भनेर हेर्दाहेर्दै कयौँ जनता भोकभोकै एउटा सिटामोल धरी खाना नपाएर अशिक्षित अवस्थामै मर्न बाध्य भएको उनले बताए । जसोतसो दश नङ्ग्रा खियाएर जीविका चलाउँदै गर्दा पनि आज सरकारमा बसेका लुटेराहरूले दिनप्रतिदिन महँगी र कालोबजारीको भारी नेपाली जनतामाथि थोपरिरहेको छ उनले भने । साथै यस्ता बेथिति र अत्याचारको अन्त्यका लागि फेरि एकचोटी विद्रोहको आवाजलाई बुलन्द पार्न आवश्यक भएकोले एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुँदै आजको आवश्यकतालाई परिपूर्ति गर्न उनले सबैमा हार्दिक अनुरोध पनि गरे ।

कार्यक्रममा नेपाल आमालाई बेचेर देश विकासको लागि पैसाको आशा गर्नुभन्दा सकिन्छ भने स्वदेशी पुँजीलाई नै परिचालन गर र रोजगारको ग्यारेन्टी गर यो देशको विकास गर्ने र यहाँ सुन फलाउने काम गर्न तयार छौँ तर, विदेशीको गुलाम हामी कदापी बन्दैनौँ भन्दै प्रदर्शनकारी उफ्रेका थिए । आवश्यक परे ढुङ्गा फुटाउने हथौडा टाउकोमा बजार्न पनि पछि नहट्ने उनीहरूको भनाई थियो ।

यसरी एमसीसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्ध बुद्ध चोकमा भएको कोणसभा कार्यक्रमको सञ्चालन स्वतन्त्र निर्माण श्रमिक संघ मकवानपुरका संयोजक सन्त राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :