कैलालीमा एमसीसी सम्झौताविरुद्ध संयुक्त युवा सङ्गठनको प्रदर्शन

कैलालीमा एमसीसी सम्झौताविरुद्ध संयुक्त युवा सङ्गठनको प्रदर्शन

धनगढी: राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध ६ राजनीतिक दलनिकट युवा सङ्गठनले शनिबार कैलालीको धनगढीमा संयुक्त रूपमा प्रदर्शन गरेका छन् । कैलाली र कञ्चनपुरबाट संयुक्त रूपमा सहभागी प्रदर्शनकारीले एमसीसी सम्झौता देश र जनताको हितमा नरहेकाले उक्त सम्झौतालाई यथाशीघ्र खारेज गर्न माग गर्दै नाराजुलुससहित विरोध जनाएका छन् ।
विरोध कार्यक्रममा सम्बेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले एमसीसी सम्झौता सामान्य अनुदानको विषय नभई अमेरिकी राजनीतिक प्रभाव बढाउने षड्यन्त्रसहित सैन्य रणनीतिलाई आर्थिक सहयोगका रूपमा नेपाल भित्रिएकाले यो नेपालका लागि घातक रहेको बताए । एमसीसीका कारण नेपालको सार्वभौमसत्ता, संस्कृति, राष्ट्रियता र राष्ट्रिय अस्मिता सङ्कटमा परेको भन्दै उनले देशका हरेक नागरिकहरूले राष्ट्रघाती कदमबाट देशलाई बचाउन एक हुनुपर्नेमा जोड दिएका थिए ।
उनले भने, ‘संसद्वादी दलालहरूले गर्ने राष्ट्रहितविपरीतका एजेन्डाहरूलाई दीर्घकालीन निकास दिनका लागि यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नु अनिवार्य छ । एमसीसी र यस्ता राष्ट्रघाती सम्झौताविरुद्ध सम्पूर्ण देशभक्त, न्यायप्रेमी जनसमुदाय एक ठाउँमा उभिएर आन्दोलनमा उत्रनु जरुरी छ ।’
कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेशले युवाहरूलाई राष्ट्रघातका विरुद्ध सडकमा आउन अपिल गर्दै राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको लडाइँमा आवश्यक परे बलिदानको कोटा चुक्ता गर्न युवा सङ्गठन नेपाल तयार रहेको बताए । संयुक्त सङ्गठनका तर्फबाट सहभागी अन्य वक्ताहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेज हुनुपर्नेमा जोड दिएका थिए ।
विरोध प्रदर्शनमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन– देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दावाद, संयुक्त आन्दोलन जिन्दावादलगायत नारा लगाइएको थियो । युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भुवन कुँवरले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :