६ कम्युनिष्ट पार्टी र दुई मोर्चा निकटका युवाहरुद्वारा काठमाडौँमा खुकुरीसहित प्रदर्शन

६ कम्युनिष्ट पार्टी र दुई मोर्चा निकटका युवाहरुद्वारा काठमाडौँमा खुकुरीसहित प्रदर्शन

काठमाडौँ: एमसीसी सम्झौता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी लगायत ६ राजनीतिक पार्टी र दुई मोर्चा निकटका युवा संगठनहरुले संयुक्त रुपमा आज काठमाडौँमा खुकुरीसहित प्रदर्शन गरेका छन् ।
काठमाडौँको माइतीघरदेखि सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालका महासचिव विदुशीले एमसीसी सम्झौता नेपालमा कुनै पनि हालतमा लागु हुन नदिने बताइन् । कयौँ देशमा एमसीसी लागु नभई फर्किएको इतिहास रहेको भन्दै नेपालमा पनि लागु हुनै नदिई खारेज गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । विकासको नाममा सहयोगको नाममा नेपालीहरुमाथि थोपरिन लागेको दासत्व कुनै पनि हालतमा स्वीकार्य नहुने पनि उनले ठोकुवा गरिन् । राष्ट्रिय स्वाधिनताका लागि आफूहरु मर्न तयार रहेको तर राष्ट्रघाती एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट लखेटेरै छाड्ने अठोट व्यक्त गरिन् । त्यसैगरी कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग नेपालका नेता उत्तम थापा, अखिल नेपाल युवक संघका प्रतिनिधि कृष्णराज पाण्डे, पिपुल्स फोर्स नेपालका अध्यक्ष दिपक थापा, वैज्ञानिक समाजवादी युवा लिग नेपालका संयोजक छलाङ, वाइसिएल समाजवादी नेपालका प्रतिनिधि कपिल सिजापति लगायतले सम्बोधन गर्दै नेपालको स्वाधिनता र स्वाभिमानका लागि युवाहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बरु एमसीसी लागु हुनै नदिने बताएका थिए ।
कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका सचिवालय सदस्य सुमनले गरेका थिए ।
प्रदर्शनमा सहभागी सबै युवाहरुले सांगेतिक खुकुरी देखाउदै राष्ट्रघाती दलालहरू हासियार, लेले जनता खुकुरी ले एमसीसी पास गर्ने दलाललाई छप्काइदे, कोरोनाको हैजा राष्ट्रघाती एमसीसी पास गर्नेलाई लैजा, शेरे चाेर देश छाेड, शेरे तेरो पाराले दुःख पाए साराले, राष्ट्रघाती एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :