महासचिव विप्लवले भेटे झलनाथ खनाल र भीम रावललाई

राष्ट्रवादी कम्युनिस्ट शक्तिलाई धु्रवीकृत गर्दै लैजाने सहमति

महासचिव विप्लवले भेटे झलनाथ खनाल र भीम रावललाई

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपा एमालेका नेता भीम रावललाई बेग्लाबेग्लै भेट गरी राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रवादी शक्तिहरूको विशेष जिम्मेवारी र भूमिकाबारे गहन छलफल गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालय स्रोतका अनुसार शुक्रबार दिउँसो नेपाल कम्युनिस्ट पार्टीका महाससिचव विप्लव र प्रवक्ता प्रकाण्डले नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल र नेकपा एमालेका नेता भीम रावललाई उनीहरूकै निवासमा छुट्टाछुट्टै भेटेका हुन् । भेटका क्रममा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राष्ट्रवादी शक्तिहरूको विशेष जिम्मेवारी र भूमिकाबारे गहन छलफल भएको थियो । राष्ट्रिय स्वाधीनताको रक्षा र राष्ट्रवादी शक्तिबीच ध्रुवीकरणका विषयमा नेताहरू खनाल र रावलको बुझाइ समान रहेको पाइएको नेकपाले जनाएको छ ।

दुवै भेटमा दुवै नेताहरूसँग परिस्थितिअनुसार निरन्तर छलफल अघि बढाउने सहमति भएको बताइएको छ । राष्ट्रवादी कम्युनिस्ट शक्तिलाई धु्रवीकृत गर्दै लैजानेबारे पनि छलफलमा साझा धारणा तय भएको नेकपाले जनाएको छ ।

जप्रेललाई भेट्न महासचिव न्युरोमा

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नवलपरासीका नेता, जनयुद्धमा जनमुक्ति सेनामा रही महत्वपूर्ण भूमिका निर्वाह गरेका शिवराज जप्रेल ‘शक्ति’ लाई भेट्न महासचिव विप्लव आजै रचना अर्थ न्युरो हस्पिटल पाटनमा पुगेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

विगत केही दिनदेखि प्यारालाइसिस भएर उपचार गराइरहेका जप्रेललाई भेट्न महासचिव विप्लव, पार्टी केन्द्रीय सदस्य असललगायत नेता अस्पताल पुगेका थिए । महासचिव विप्लवले बिरामीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेको र शीघ्र स्वास्थ्यलाभका कामना गरेको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :