महासचिव विप्लव र प्रधानमन्त्री देउवाबीच सहमति कार्यान्वयनबारे छलफल

पार्टी बैठकअघि नै तीनबुँदे सहमति पूरा लागू गर : विप्लव, तुरुन्तै निर्णय गरी कार्यान्वयनमा जान्छौँ : देउवा

महासचिव विप्लव र प्रधानमन्त्री देउवाबीच सहमति कार्यान्वयनबारे छलफल

काठमाडौँ : पुरानो सत्तामा रहेको सङ्कट वार्ता, छलफल र सहमतिबाट समाधान गर्न तयार भएर नेकपासँग तीनबुँदे सहमति गरेको एक वर्ष पूरा भइसक्दा पनि सहमति कार्यान्वयन नगरेर राजनीतिक वातावरण असहज बनाएको आरोप खेपिरहेको सरकारले तुरुन्तै निर्णय गरेर कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएको छ । नेकपाका महासचिव विप्लव र चारदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भएको छलफलमा प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएको नेकपाको उच्च स्रोतले जनाएको छ ।

नेकपा महासचिव विप्लवले प्रधानमन्त्री देउवासँग पूर्ववर्ती सरकारसँग तीनबुँदे सहमति भएको एक वर्ष पुग्दा पनि जेलमा रहेका नेकपाका नेता–कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा खारेज गर्ने प्रक्रिया अघि नबढ्दा आवश्यक राजनीतिक वातावरण नबनेकाले तत्काल राजनीतिक बन्दीलाई रिहा गरी पार्टीका सम्पूर्ण नेता–कार्यकर्तमाथि लगाइएका झूट्टा मुद्दा खारेज गर्नुपर्ने स्मरण गराएका थिए । महासचिव विप्लवले निकट भविष्यमै बस्ने पार्टी केन्द्रीय समितिको बैठकअघि नै सहमति कार्यान्वयन गरिसक्न पनि प्रधानमन्त्री देउवालाई समयसीमा दिएको जानकारी स्रोतले दिएको छ ।

महासचिव विप्लवले प्रधानमन्त्रीलाई भनेका थिए, ‘सरकारले पार्टीसँग राख्नुपर्ने कुनै विषय छन् भने छलफलका हामी तत्पर छौँ तर राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकअघि नै हाम्रो पार्टीका नेता–कार्यकर्ता रिहा हुनुपर्छ र झूट्टा मुद्दा खारेज हुनुपर्छ ।’

सरकारका तर्फबाट प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा अब तुरुन्तै निर्णय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलका क्रममा नेकपाका तर्फबाट महासचिव विप्लवका साथै प्रवक्ता प्रकाण्ड सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र गृहसचिव टेकनारायण पाण्डेको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :