श्रमिक महिला दिवस

कविता

श्रमिक महिला दिवस
लेखक : अनिता गजमेर

वृद्ध, नाबालिका भन्न नपाएको मेरो देशमा
दलाल र भ्रष्टाचारले ओगटेको मेरो न्यायपालिकामा
खै, कसरी मनाऊँ म श्रमिक महिला दिवस यहाँ ?
एउटा पुरुषको यौन इच्छा मेटाउन
एउटी नाबालिकाको हत्या हुन्छ यहाँ
न्याय माग्न न्यायपालिकाको ढोका ढकढक्याउँदा पनि
न्याय नपाएको मेरो देशमा
खै कसरी मनाऊँ म नारी दिवस यहाँ ?
पल्लो घरकी दिदी रोइरहेकी छिन् अझै
दाइजोका नाममा आफ्नै परिवारले दिएको यातनाले
न्याय माग्न जान्छिन्, न्यायपालिकाको ढोका खुल्दैन
खै, कसरी मनाऊँ म श्रमिक महिला दिवस यहाँ ?

निर्मला पन्त, भागीरथी भट्ट हुँदै
सम्झना कामीसम्म आइपुग्दा
उनीहरूको आत्माले शान्ति नपाउँदानपाउँदै
न्यायपालिकाको ढोका ढकढक्याउँदा–ढकढक्याउँदै
विचलित भएका आमाहरूसँग खुसी साट्न नपाउँदै
खै, कसरी मनाऊँ म नारी दिवस यहाँ ?
समाजमा छैनन् कोही कतै
नारीजीवन यात्रामा पनि सहयात्री हुन् भन्नेहरू
आफ्नै खुसी साट्न रमाउनेहरूसँग
समय र नारी उस्ताउस्तै हुन् भन्ने बुझ्नेहरूसँग
खै, कसरी मनाऊँ म नारी दिवस यहाँ ?
एउटा सहयात्री नारीसँग अनेक सपना साट्नेहरूसँग
जिन्दगीलाई मोलमोलाइमा बेच्नेहरूसँग
खै, कसरी मनाऊँ म नारी दिवस यहाँ ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :