नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

प्रवासी नेपाली केन्द्रका केन्द्रीय सचिवसहित विभिन्न पार्टी परित्याग गरि ११ जना नेकपामा प्रवेश

नेकपा दाङद्वारा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीद्वारा सहिद सप्ताहको अवसरमा सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको छ । शनिबार दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर १२० सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरूलाई अभिनन्दन गरिएको हो ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले जनयुद्ध र एकीकृत जनक्रान्तिका महान् सहिदहरूका सपना एकीकृत जनक्रान्तिमार्फत पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । नेता शितलले उत्पीडित वर्गको मुक्ति नै सहिदहरूको सपना भएकाले उत्पीडित वर्गको मुक्ति नेपालमा वैज्ञानिक समाजवाद स्थापना भएकाले वैज्ञानिक समाजवाद स्थापनाका लागि आफूहरू एकीकृत जनक्रान्ति कार्यदिशा लिएर अघि बढेको बताए । ‘जनयुद्धको लक्ष्य राजतन्त्रको अन्त्य, संसदीय व्यवस्थाको खारेजी र जनवादी राज्यसत्ता स्थापना गर्नु थियो तर, नेतृत्वमा आएको बैचारिक बिचलन र भारतीय साम्राज्यवाद र अमेरिकी उत्तर साम्राज्यवादसँग आत्मसमर्पण गर्दा अल्पत्र पारियो’ नेता शितलले भने ।

सहिद परिवारलाई भुलेर प्रचण्डको सती जान नसकेको बताउँदै नेता शितलले प्रचण्डको नेतृत्वबाट सहिदहरूका सपना पूरा हुने सम्भव नभएपछि बिद्रोह गरेको उद्घोष गरे । जनयुद्ध र एकीकृत जनक्रान्तिका महान् सहिदहरूका सपना साकार नपार्दासम्म यात्रा नरोक्ने शितलको भनाई थियो । शितलले प्रचण्ड अमेरिकी साम्राज्यवादका सच्चा मित्र भएको बताए । उनले भने, “राष्ट्रघाती एमसीसी संसदबाट अनुमोदन गराउने देउवा राष्ट्रघाती मात्रै नभएर जन अपराधी समेत हुन् । राष्ट्रघाती एमसीसी सम्झौताका पक्षमा उभिने प्रचण्ड माधव लगायत प्रतिपक्षमा उभिएको नाटक गरेर सत्तामा भएको भए एमसीसी पास गर्ने सोचाइँमा रहेका केपीहरू सबै राष्ट्रघाती हुन् ।” संसदबाट एमसीसी अनुमोदन गर्नेहरू गाउँ प्रवेश गर्न नपाइने शितलको उद्घोष थियो । एमसीसी पक्षधरहरूलाई मट्टीतेल खन्याएर आगो लगाएर जनताले गाउँगाउँबाट लखेट्नेसमेत शितलको जिकिर थियो ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य सुन्दरले हिजो जनयुद्धका नायक प्रचण्ड आज जोकर भएको बताए । नेता सुन्दरले काँग्रेससँग राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गरेर इतिहासमा गम्भीर राष्ट्रघात गरेको समेत बताए । नेतानेताहरूको बिदेशिको एजेन्ट बनेर काम गरिरहेको नेता सुन्दरको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले सहिदहरूको बलिदानीलाई उच्च सम्मानका साथ पूरा गर्न चाहेको बताए । सहिदको बलिदान आम सर्वहारा श्रमजीवी जनताको राज्यसत्ता स्थापनाका लागि हो । सहिदको सपना पूरा गर्ने अधुरो क्रान्ति पूरा गर्न प्रतिबद्ध छौँ । प्रचण्डहरू दलाली चाकरी गर्दै संशोधनवादमा पतन भएपछि बिद्रोह गरेका हौँ ।, नेता प्रदिपले भने । अगाडि उनले भने, “हामी जिबित छौँ, महान् सहिदहरूका सपना पूरा गरिछाड्छौँ ।” नेता प्रदिपले व्यक्ति र पार्टी चुन्ने संसदीय चुनावमा भाग नलिने बरू व्यवस्था जनमतसङ्ग्रहको निर्वाचन हुनुपर्ने आफूहरूको माग रहेको स्पष्ट पारे ।

अभिनन्दन कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती, सहिद परिवारका तर्फबाट सीता, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका दाङ जिल्ला संयोजक रेखाले मन्तव्य राखेका थिए ।

नेकपाका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुन्दर, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती, नेकपा बबई गाउँपालिका इन्चार्ज प्रतिरोध, राष्ट्रिय कर्मचारी महासङ्घका केन्द्रीय सदस्य नरबहादुर रोका, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य जिबनी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य सञ्जय, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका दाङ जिल्ला संयोजक रेखा रोका, जनपत्रकार सङ्गठन नेपाल दाङ जिल्ला अध्यक्ष हेमन्त, गणतान्त्रिक खेलकुद महासङ्घका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष बिबेक, सहिद परिवारका तर्फबाट सीता, एकीकृत जनक्रान्तिका सहिद महानकी पत्नी एवम् मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य मालती राणा, नेकपा दाङ जिल्ला कमिटीका सदस्यहरू पोषण, शिव, बिजय, खड्कबहादुर, रोदन, कमला रोका, भरत, शुदर्शन, इश्वरीको आतिथ्य रहेको थियो ।

नेकपा दाङ जिल्ला सदस्य बिजयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अध्यक्षता नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाशले गरेका थिए भने सञ्चालन नेकपा दाङ जिल्ला सदस्य राजकुमार क्षेत्रीले गरेका थिए ।

प्रवासी नेपाली केन्द्रका केन्द्रीय सचिवसहित विभिन्न पार्टी परित्याग गरि ११ जना नेकपामा प्रवेश

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट प्रवासी नेपाली केन्द्रका केन्द्रीय सचिव सुशील महरसहित बिभिन्न राजनीतिक पार्टी परित्याग गरि ११ जनाले नेकपामा प्रवेश गरेका छन् ।

शनिबार तुलसीपुरमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमालेका समर्थक तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लक्ष्मीपुर निवासी मधुकर न्यौपाने, नेपाली काँग्रेस समर्थक तुलसीपुर-१५ निवासी रामकुमार चौधरी, तुलसीपुर-१५ निवासी कमला दनुवार, तुलसीपुर-१५ निवासी माया ऐरि, तुलसीपुर-१ निवासी रुपलाल बिक, नेपाली काँग्रेस समर्थक तुलसीपुर-२ निवासी ताराबहादुर चौधरी, नेपाली काँग्रेस समर्थक तुलसीपुर-२ निवासी टेकबहादुर चौधरी, नेकपा एमाले समर्थक तुलसीपुर-५ निवासी घनश्याम योगि र नेकपा (माओवादी केन्द्र) तुलसीपुर नगर कमिटी सदस्य तुलसीपुर-५ निवासी सेतिराम बिक रहेका छन् । पार्टी प्रबेशीहरूलाई नेकपाका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितल, पार्टी जिल्ला सेक्रेटरी प्रदिपले लगायतले अबिर आवरण लगाएर पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :