एमसीसीविरुद्ध जनता आक्रोशित, संसद्वादीहरूलाई बचाउन वीरेन्द्रनगरमा कर्फ्यु

एमसीसीविरुद्ध जनता आक्रोशित, संसद्वादीहरूलाई बचाउन वीरेन्द्रनगरमा कर्फ्यु

सुर्खेत : संसद्‌वादी दलहरले षड्यन्त्र र बलपूर्वक संसद्‌बाट राष्ट्रघाती एमसीसी पारित गरेपछि जनता त्यसका विरुद्ध स्वतस्फूर्त सडकमा उत्रिएका छन् । सोमबार नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा नेपाल बन्दका क्रममा जनता आक्रोशित बनेर संसद्‌वादी दलविरुद्ध कारबाहीमा उत्रिने अवस्था उत्पन्न भएपछि सरकारले संसद्‌वादी दलहरूलाई जोगाउन भोलि मङ्गलबार साँझसम्मका लागि कर्फ्यु लगाएको सुर्खेतबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रहरीले भने एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ । स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मङ्गलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले एमसीसीविरोधी आन्दोलनमा प्रदर्शन नरोकिएको र एमसीसी पारित गर्ने संसद्‌वादी दलहरूको कार्यालयमा समेत तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको सञ्चारमाध्यमलाई बताएका छन् । वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यु लगाइएको हो । वीरेन्द्रनगरको सडकमा एमसीसीविरुद्ध प्रदर्शन गरेका आन्दोलनकारीविरुद्ध प्रहरीले तीन दर्जनभन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :