राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभा

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभा

तुलसीपुर : राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध दाङका विभिन्न ठाउँमा कोणसभाहरू सम्पन्न भएका छन् । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहित संयुक्त ८ दलिय मोर्चाद्वारा घोषणा गरिएका चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आज दाङ लगायत देशव्यापी कोणसभा कार्यक्रमहरूको आयोजना गरिएको नेकपा दाङका सेक्रेटरी प्रदिपले जानकारी दिए ।

दाङमा विप्लव नेतृत्वको नेकपासहित नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसीविरुद्ध बिरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको हो । जिल्ला अन्तर्गतका मुख्य शहरहरू घोराही, लमही, भालुबाङ, राजपुर, गढवा, तुलसीपुरको बिजौरी, हापुरे, रगैचा लगायतका थुप्रै ठाउहरूमा कोणसभामार्फत एमसीसी खारेजीका लागि प्रदर्शन गरिएको संयुक्त दलहरूले जनाएका छन् ।

तुलसीपुरको बिजौरीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य समिरले नेपाली जनताको हातबाट सेना हतियार खोसेर दलाल सत्ताले फेरि जनतालाई युद्धको निम्तो दिन खोजेको बताए । उनले जनयुद्धका कमान्डरहरूले नेपाली जनताको आफ्नै सेना जनमुक्ति सेना र हतियार खोसेर बन्दुकको बलद्वारा राष्ट्रघाती एमसीसी लाद्न खोजे जनताले पुनः सेना र हतियार निर्माण गर्न कुनै ठूलो कुरा नभएको बताए । उनले भने, “राष्ट्र र राष्ट्रिय स्वाधीनताको लागि नाफाको जिन्दगीलाई बलिदान दिन्छौँ तर, कुनैपनि हालतमा एमसीसी पास हुन दिन्नौँ ।” नेता समिरले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा नेपाली स्वाभिमानी नागरिकहरूमाथि दलाल सत्ताको ठाडो आदेशले प्रहरीको बन्दुकले जबर्जस्त गरेको दमनको घोर निन्दा एवम् भत्र्सनासमेत गरे ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै नेकपा (मशाल) का प्रवक्ता भरत भण्डारीले एक हजार वर्षसम्म दक्षिण एसियामा आफ्नो प्रभाव र नियन्त्रण कायम गर्न अमेरिकी साम्राज्यवादले एमसीसी सम्झौतामार्फत आफ्नो रणनीति लाद्न खोजेको जिकिर गरे । नेता भण्डारीले अमेरिकीलाई एसिया क्षेत्रबाट चुनौती रहेकाले एमसीसीमार्फत सैन्य रणनीति घुसाएर केही अर्व सहयोगको नाममा नेपाल प्रवेश गर्न खोजेको बताए । उनले अमेरिकी साम्राज्यवादले नेपालमाथि गरेको नाङ्गो हस्तक्षेपको समेत बिरोध गरे ।

कोणसभालाई सम्बोधन गर्दै सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्तीले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध बलिदान गर्ने तर, कुनै पनि हालतमा देश बेच्न नदिने उद्घोष गरे । उनले एमसीसीमार्फत चीनमाथि आक्रमण गर्ने र नेपाललाई रणमैदान बनाउँने अमेरिकी साम्राज्यवादको सपना पूरा हुन नदिने जिकिरसमेत गरे । नेपालको कानुन भन्दा माथि हुने, बहुमूल्य खनिज पदार्थहरूको दोहन गर्ने अमेरिकी रणनीति नेपाली जनताले प्रष्ट बुझेकाले कुनैपनि हालतमा एमसीसी पास हुन नदिने बताए ।

कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य इश्वरी पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :