अमेरिकी साम्राज्यवादका दलालहरूलाई एउटै चिहानमा गाड्छौँ : शितल

अमेरिकी साम्राज्यवादका दलालहरूलाई एउटै चिहानमा गाड्छौँ : शितल

दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले अमेरिकी साम्राज्यवादका दलाललाई एउटै चिहानमा गाड्ने चेतावनी दिएका छन्। राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध नेकपा दाङसहित जिल्लामा कृयासिल कम्युनिस्ट पार्टी र मोर्चाको संयुक्त आयोजनामा आयोजित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताएका हुन् ।

नेता शितलले राष्ट्रघाती एमसीसी सम्झौता जबर्जस्त पास गरेपनि लागू हुन नदिने जिकिरसमेत गरे । उनले भने, ‘नेपाली जनताको स्वाभिमानका विरुद्ध राष्ट्रिय हित विरुद्ध रहेको एमसीसी संसदबाट पास गरेपनि लागू हुन दिन्नौ, बिद्रोह गर्छौं र अमेरिकी साम्राज्यवादका दलालहरूलाई एउटै चिहानमा गाड्छौ।’ नेता शितलले सिंगो देश एमसीसीका विरुद्धमा हुँदाहुँदै पनि संसदवादी दलालहरू दिनरात एमसीसी जसरी पनि पास गर्ने दुस्साहस गरेको भन्दै नेपाली जनताको भावना विपरीत जबर्जस्त पास गरिए आन्दोलनको आधिबेरी सिर्जना गर्ने उद्घोष गरे । उनले अमेरिकी राजदुतले नेपाली जनताको भावना विपरीत सार्वभौम मुलुकप्रति गरेको टिप्पणीको घोर निन्दा एवम् भत्सर्नासमेत गरे ।

शितलले बाहिर सहयोग देखाएर भित्र सैन्य रणनीति जोडेर नेपाललाई रणमैदान बनाउने अमेरिकी सपना साकार नहुने जिकिर गरे । युरेनियम जस्ता बहुमूल्य धातु कब्जा गर्ने, चीनलाई पछार्न नेपाली भू-भागको प्रयोग गर्ने अमेरिकी रणनीति कुनैपनि हालतमा सफल हुन नदिने उनको उद्घोष थियो। नेता शितलले राष्ट्र जोगाउने राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँ आफ्नो पार्टीले सचेततापूर्वक कमान्ड गर्ने समेत बताए ।

जिल्ला प्रशासन घेराउ कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य शिशिर, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेकपा (माले) दाङका सचिव नेत्रप्रसाद पाण्डेले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा वक्ताहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेज नहुँदासम्म आन्दोलन नरोकिने बताए ।

एमसीसीविरुद्ध आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र नेकपा (माले)  को संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको हो।

प्रशासन कार्यालय घेराउ अघि घोराहीको ट्राफिक चोक हुँदै प्रशासन कार्यालयसम्म आन्दोलनकारीले एमसीसी सम्झौता खारेजीको नारावाजीसहित प्रदर्शन गरेका थिए।

कार्यक्रमको सञ्चालन नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज दिपकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :