नेकपाका महासचिव विप्लवद्वारा एमसीसी टेबुल भएको घटनाप्रति गम्भीर विरोध

एमसीसी खारेज नभएसम्म सचेत बन्न र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी हुन विशेष आग्रह

नेकपाका महासचिव विप्लवद्वारा एमसीसी टेबुल भएको घटनाप्रति गम्भीर विरोध

काठमाडौँ : नेकपाका महासचिव विप्लवले राजनीतिक पार्टी र देशभक्त नागरिकको व्यापक विरोध हुँदाहुँदै पनि पाँचदलीय गठबन्धन सरकारले संसद्‌मा एमसीसी टेबुल गरेको र आन्दोलनकारी शक्तिमाथि क्रूर दमन गरेको घटनाको घोर विरोध र भत्र्सना गर्दै एमसीसी खारेज नभएसम्म विशेष रूपले सचेत बन्न र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी हुन विशेष आग्रह गरेका छन् ।

आइतबार साँझ वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘आज २०७८ फागुन ८ गते गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीको निर्णयअनुसार संसद्‌मा राष्ट्रघाती सम्झौता एमसीसी पेस गरेका छन् । अत्यधिक राजनीतिक पार्टी, देशभक्त शक्ति एवम् नागरिकहरू, बुद्धिजीवी, युवा र विद्यार्थीहरूको कडा आपत्ति, विरोध र सङ्घर्षका बाबजुद राष्ट्रघाती सम्झौता पास गर्नका लागि संसद्‌मा पेस गर्ने घातक कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । देशको सार्वभौमिकता एवम् स्वाधीनताप्रति सचेत एवम् समर्पित साह्रा नागरिकहरूले उक्त राष्ट्रघाती एवम् दलालीगिरी कार्यको विरोध गर्दा आज बानेश्वर क्षेत्रमा जसरी फासिस्ट प्रकारले रबरका गोली, अश्रुग्याँस, पानीको फोहोरा र लाठीचार्ज गरेर क्रूर दमन गरिएको छ त्यसको पनि कडा रूपले विरोध गर्दछ । राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा निर्भीकतापूर्वक होमिने सबै नागरिकप्रति धन्यवाद एवम् आभार व्यक्त गर्दछौँ । साथै प्रतिरोध सङ्घर्ष गर्दा दमनमा परी घाइते हुनुभएका सबै जागरुक नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘एमसीसी राष्ट्रघाती छ भन्ने निष्कर्ष एवम् आफ्नै नेता, कार्यकर्ता र सांसदहरूको विरोधका विपरीत गएर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले जसरी संसद्मा पेस गर्ने सहमति दिए, यसको हामी कडा रूपमा विरोध गर्दछौँ । साथै ती पार्टीका नेतृत्वमा रहेको अकर्मण्यता, दोहोरो चरित्र एवम् अवसरवादप्रति पार्टीका नेता–कार्यकर्ता सचेत नहुुने हो भने सरकार र कुर्सीस्वार्थकै लागि पास गर्ने अवस्थासम्म पुग्नसक्ने खतरा देखिएको छ । त्यसो गरियो भने देशलाई अकल्पनीय क्षति पुर्याउनेछ नै, पार्टीहरूको अवस्था पनि के हुन्छ भन्न सकिनेछैन । तसर्थ यो गम्भीर अवस्थामा देशका सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी शक्ति एवम् नागरिकहरू एमसीसी खारेज नभएसम्म विशेष रूपले सचेत एवम् जागरुक बन्न र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा जोडदार रूपले सहभागी बन्न विशेष आग्रह गर्दछौँ ।’ एमसीसी संसद्‌मा पेस र दमनको विरोध वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :