अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबल र हतियारले किन्न सक्दैन : नेता सबिन

अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबल र हतियारले किन्न सक्दैन : नेता सबिन

घोराही : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिनले अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबाल र हतियारले किन्न नसक्ने जिकिर गरेका छन् । शुक्रबार राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपासहित दाङमा क्रियाशील कम्युनिस्ट पार्टी र मोर्चाको आयोजनामा आयोजित संयुक्त बिरोध सभालाई सम्बोधन गर्दै नेता सबिनले उक्त कुरा बताएका हुन् ।

बिरोध सभाका प्रमुख वक्तासमेत रहेका नेता सबिनले अमेरिकी साम्राज्यवादले नेपाली स्वाभिमानमाथि नाङ्गो ढङ्गले हस्तक्षेप गरिरहेको बताए । उनले अमेरिकाले नेपालका केही दलालहरूलाई खरिद गरेर नेपाली जनतामाथि जबर्जस्त एमसीसी लाद्न खोजेको जिकिरसमेत गरे । उनले भने, “नेपाली जनताले सहयोग चाहिँदैन भन्दाभन्दै जबर्जस्त सहयोग गर्छु भन्ने, केही अमेरिकी डलर डकार्ने दलालहरूलाई रिझाएर एमसीसी पास गर्ने सपना देख्नु ठूलो भुल हुनेछ ।”

नेता सबिनले नेपाली काँग्रेसले पटकपटक नेपाली जनतालाई धोका दिएको, राष्ट्रघात गरेको बताउँदै एमसीसी जबर्जस्त पास गरे नेपाली काँग्रेस पार्टी इतिहासको कुनै पानामा सिमित रहने चेतावनीसमेत दिए । उनले एमसीसी हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएकाले सैन्य रणनीतिसँग जोडिएको सहयोगको नाममा देशलाई रणभूमि बनाउने परियोजना तत्काल खारेज हुनुपर्ने बताए । बिश्वमा महाशक्तिको रुपमा उदाउँदै गरेको चीनलाई घेर्ने, नेपालमा रहेका बहुमूल्य खनिज पदार्थको दोहन गर्ने रणनीतिसहित अमेरिकी साम्राज्यवादले एमसीसी परियोजनामार्फत नेपालमा घुस्न खोजेको नेता सबिनले स्पष्ट पारे ।

यस्तै बिरोध सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज समीरले देश इतिहासमै सर्वाधिक सङ्कटबाट गुज्रिरहेको बताए । उनले नेपालमा संसदीय व्यवस्था फेल भएपछि त्यसको फाइदा छोपेर अमेरिकी साम्राज्यवाद नेपाली भूमिमा जबर्जस्त पस्न खोजेको बताए । नेता समीरले एमसीसी सम्झौतामार्फत अमेरिकाले चीनलाई घेर र नेपालमा भएका खनिज पदार्थ युरेनियम लगायतका प्राकृतिक बहुमूल्य धातुहरू कब्जा गर्ने उद्देश्य लिएको समेत बताए । उनले अमेरिकासँग आफूहरू नडराउनेसमेत स्पष्ट पारे । समीरले भने, “हामी अमेरिकी साम्राज्यवादसँग डराउँदैनौँ बरू डर देउवा, बाबुराम र रामशरण महत जस्ता दलालहरूलाई लागेको छ ।” जनतासँग सेना, जनसत्ता र जनअदालत छैन भनेर शासकहरूले हेप्न खोजे जनताको बीचबाट फेरि सत्ता, सेना र अदालत बनाउन कुनै ठूलो विषय नभएको नेता समीरको भनाई थियो ।

बिरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य सुशील पोख्रेलले एमसीसी परियोजनाका विरुद्ध सिङ्गो देश जुरुक्क उठेको बताए । उनले इतिहासमा नेपाली काँग्रेसले कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सन्धि, महाकाली सन्धि लगायतका राष्ट्रघाती सन्धीको स्मरण गर्दै पुनः शेरबहादुर देउवाले बाइडेन र ट्रम्पलाई खुशी पार्न एमसीसी सम्झौतामार्फत देश लिलाम गर्न खोजेको बताए । नेता पोख्रेलले काँग्रेसभित्रका इमान्दार कार्यकर्ताहरूले नेतृत्वलाई सचेत बनाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे ।

बिरोध सभामा बोल्दै अर्का वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रीय समन्वय समितिका सदस्य शसिधर भण्डारीले अमेरिकी साम्राज्यवाद जुन देशमा पस्यो त्यो देशमा सर्वनास भएको जिकिर गरे । चीन महाशक्ति राष्ट्रको रुपमा उदय भएपछि सन् २००२ देखि एमसीसीमार्फत चीन घेर्न एमसीसी सम्झौता लिएर अमेरिकी साम्राज्यवाद नेपाल प्रवेश गर्न खोजेको उनको भनाई थियो । नेपालमा सैनिक अड्डा बनाएर प्राकृतिक स्रोत साधन दोहन गर्ने रणनीतिसमेत अमेरिकाको रहेको उनले बताए । नेता भण्डारीले भने, “नेपाल गरिब छ तर, इतिहासमा कहिलै गुलाम भएन, हामी एमसीसी सम्झौता विरुद्धको लडाइँ हार्नेछैनौँ बरू एमसीसी सम्झौता पक्षमा मतदान गर्ने सासंदलाई जनताले कालोमोसो दलेर सडकभरी घुमाउने छन् ।”

यस्तै कार्यक्रममा बोल्दै नेकपा (माले) का पोलिटब्युरो सदस्य माधव केसीले साम्राज्यवादका विरुद्ध आम नेपाली देशभक्त शक्तिहरू आमनेसामने भएर लड्नुपर्ने अवस्था आएको बताए । दलाल र राष्ट्रघातीले एमसीसी पास गरे राष्ट्र र राष्ट्रियताका लागि मर्न र मार्न तयार भएको उनको भनाई थियो ।

एमसीसी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहित नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र नेकपा (माले) दाङको संयुक्त आयोजनामा शुक्रबार घोराहीमा बिरोध प्रदर्शन सम्पन्न भएको हो । घोराहीको ट्राफिक चोकबाट सुरु भएको बिरोध प्रदर्शन बजारका विभिन्न चोकहरू परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । बिरोध सभाको सञ्चालन क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव भुकम्पले गरेका थिए ।

युवा सङ्गठन नेपाल दाङले बुझायो सिडियोलाई ज्ञापनपत्र

नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल दाङले जिल्ला प्रशासन कार्यालय दाङमार्फत मन्त्रीपरिषदको कार्यालय सिहदरवार काठमाडौँलाई ज्ञापनपत्र बुझाएको छ ।

आज शुक्रबार सङ्गठनका जिल्ला इन्चार्ज तथा संयोजक सहितको टोली प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र पेश गरेका हुन् । युवा सङ्गठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजकुमार परियार र सङ्गठनका जिल्ला संयोजक जीवनी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पास गर्ने बिषयले देश दुई ध्रुवमा बिभाजित हुनु दुःखद् भएको र देशभरबाट बहुसङ्ख्यक जनताले यो सम्झौता राष्ट्रघाती भएकाले खारेजीको आवाज उठाउँदा उठाउँदै पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात गर्न खोजिएको सङ्गठन ठहर रहेको उल्लेख गरिएको छ ।

एमसीसी सम्झौताविरुद्ध जनताको सडक आन्दोलनलाई दमन तथा धरपकड गर्ने क्रियाकलापका बिरोधमा निम्न मागहरू पेश गरिएको छ :

एमसीसी परियोजना खारेज गरियोस्, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि तथा महँगी नियन्त्रण गरियोस्, युवाहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गरियोस् र कालोबजारी नियन्त्रण गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :