संयुक्त जवस/मोर्चाको बैठक सम्पन्न, एमसीसीविरुद्ध भण्डाफोर तथा सडक सङ्घर्ष गर्ने

संयुक्त जवस/मोर्चाको बैठक सम्पन्न, एमसीसीविरुद्ध भण्डाफोर तथा सडक सङ्घर्ष गर्ने

घोराही : नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गीय संगठन/मोर्चाहरुको संयुक्त बैठक बिहीबार घोराहीमा सम्पन्न भएको छ । सात संगठनको सम्पन्न संयुक्त बैठकले एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तर्क्रिया र सडक संघर्ष गर्ने जस्ता थुप्रै निर्णयहरु गरेको हो।

युवा संगठन नेपाल दाङ, अखिल (क्रान्तिकारी) दाङ, अनेमसंघ क्रान्तिकारी दाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ, श्रमिक समुदाय मोर्चा नेपाल दाङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ र राष्ट्रिय थारु मुक्ति मोर्चा दाङको संयुक्त रुपमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेका हुन्।

संयुक्त बैठकले सबै जबस/मोर्चाहरुले जिल्ला स्तरमा संगठनात्मक र राजनैतिक अभियान सञ्चालन गर्ने, अन्तरक्रिया छलफल र कोणसभा गर्ने, सदस्यता ब्यापक वितरण गर्ने, जिल्ला सम्मेलन गर्ने, पालिका स्तरीय भेलाहरु गर्ने, वडा कमिटी, टोल इकाई कमिटी गठन गर्ने, एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तरक्रिया र सडक संघर्ष गर्ने, भष्ट्राचारी, महँगी एवम् सामाजिक विभेदको विरुद्ध संघर्ष गर्ने, उत्पादनमूलक कार्य गर्ने, युवा, मजदुर, विद्यार्थी, महिला, थारु, किसान, श्रमिक समुदायको हक अधिकार र यो भित्रको विकृति, विसंगतिविरुद्ध संघर्ष गर्ने निर्णयहरु गरेको हो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीपले नयाँ मोडेल अनुसार पार्टी अगाडि बढेको बढाएको बताए। उनले पार्टीको छौठौँ पूर्ण बैठकका निर्णयहरुको बारेमा ब्रिफिङ गर्दै एमसीसीको विरुद्धमा कडा संघर्ष गर्नुपर्नेमा जोड दिए ।

बैठकको प्रमुख अथिति समेत रहेका पार्टीका सेक्रेटरी प्रदीपले एमसीसी परियोजना आफैँमा राष्ट्रघाती भएको हुँदा त्यसको विरुद्ध उच्च तयारीको अबस्थामा बस्नुपर्ने र पार्टीको सडक संघर्षका कारणले गर्दा अहिले सत्ता पनि पक्ष र विपक्षमा उभिरहेको हुँदा सो परियोनाको बिरोधमा सडकमा व्यापक तथा शक्तिशाली बिरोध प्रदर्शन गर्नुपर्ने अवस्था आएको उद्घोष गरेका थिए।

पार्टीले दाङमा बन्दको समयमा संघर्ष र रचनात्मक काम गरेको उल्लेख गर्दै घोराहीमा सडक सरसफाई तथा जेब्रा क्रसिङमा पेन्टिङ गरेको र तुलसीपुरमा पनि शिक्षक संगठनले सरसफाई गरेर देशभरी नयाँ मोडेलको सन्देश दिएको उनको भनाई थियो ।

पार्टीको विधि र पद्धति अनुशासन भन्दा बाहिर रहेर काम गरियो भने अन्ततः भुइमा पछारिने भएको हुँदा पार्टीको विधि र पद्धतिमा रहेर काम गर्नुपर्ने र अहिले पार्टीले लिएको जनमतसंग्रहको कार्यनीतिको नारालाई अभियानमार्फत जनता समक्ष पुर्याउनुपर्ने र सो अभियान परिणाममुखी हुनुपर्ने उनले जिकिर गरे ।

संगठन निर्माण नै पहिलो जोड भएकाले फागुन अन्तिमसम्म सबै जबस/मोर्चाले पालिकाको भेला गर्ने र चैतमा जिल्ला सम्मेलन गर्ने तथा अब पालिका स्तरमा पनि पालन तथा उत्पादनलाई सबै जवस/मोर्चा संगठनले जोड दिनुपर्ने नेता प्रदिपको उद्घोष थियो।

नेपाल कम्युनिस्ट पार्टी घोराही उप-महानगरका इन्चार्ज निर्मलले जनवर्गीय संगठन र पार्टीको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । उनले दाङलाई अझैँ क्रान्तिकारीमय बनाउनका लागि आफ्नो तन र मनले अगाडि बढ्नुपर्ने भएकोले अहिलेको समय र परिस्थितिलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक योगीले झण्डै एक दशकको परिस्थितिमा पार्टी कस्तो भइरहेको भन्ने कुरा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

पार्टीको कार्यदिशा, रणनीति, लक्ष्य, उद्देश्य र कार्यक्रमहरु राम्रा भएको हुँदा अहिले देश र नेपाली जनताले हामीलाई हेरिरहेको परिप्रेक्षमा पार्टी तथा संगठनका जिम्मेवारी गहन भएर पूरा गर्नुपर्नेमा विशेष जोड दिए ।

जनवर्गीय संगठन पार्टीको एउटा अभिन्न अंग भएको हुँदा संगठनका नीति, विधि र पद्धति अनुसार काम गर्नुपर्ने समेत उनले प्रष्ट पारे । नेपाली जनता र नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा नभएको यो राष्ट्रघाती एमसीसी परियोजनाको बिरोधमा हामीले जस्तोसुकै संघर्ष र चुनौतीको सामना गर्दै प्रतिरोध गर्नुपर्ने उनको भनाई छ। साथै हरेक संगठनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि उनले उल्लेख गरे।

अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेशका इन्चार्ज दीपक विष्टले राजनीतिक र संगठनात्मक अभियान दुबै महत्वपूर्ण भएको बताए । उनले कुनैपनि संघर्षका लागि संगठनको आवश्यकता पर्ने भएकोले संगठन निर्माणमा विशेष जोड दिनुपर्ने प्रष्ट पारे। सबै जबसहरुले समाजको नेतृत्व गर्न सक्ने क्षमता, आत्मविश्वास र जिम्मेवारीबोध गर्ने कुरामा मात्र होइन, व्यबहारमा पनि कान्तिकारिता देखाउनुपर्ने उनको भनाई छ।

जबसका जेष्ठ सदस्य एवम् अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष संजयको अध्यक्षता एवम् नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदीपको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा पार्टीका गाउँपालिका इञ्चार्जहरु, जबस/मोर्चाहरुको पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

बैठकको सञ्चालन नेकपा शान्तिनगर गाउँपालिका इन्चार्ज मनोजले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :