नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपा दाङद्वारा जिल्लाभरि मसाल जुलुस प्रदर्शन

नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपा दाङद्वारा जिल्लाभरि मसाल जुलुस प्रदर्शन

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा भोलि बुधबार शक्तिशाली र जुझारु नेपाल बन्द आह्वानको पुर्वसन्ध्यामा दाङमा जिल्लाभरी मसाल जुलुस प्रदर्शन गरेको छ । नेकपा दाङसहित संयुक्त आन्दोलनरत दलको आयोजनामा जिल्ला अन्तर्गतका विभिन्न पालिकाका मुख्य शहर केन्द्रित चोकहरूमा मसाल जुलुससहित कोणसभा सम्पन्न गरेको जनाइएको छ ।

यस्तै भोलीको नेपाल बन्दको पुर्वसन्ध्यामा तुलसीपुरमा भव्य मसाल जुलुस प्रदर्शन गरेको जनाइएको छ । तुलसीपुरको सल्यान रोड, बिरेन्द्र चोक हुँदै मसाल जुलुस जेसिज चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज समिर, नेकपा दाङका कार्यालय सदस्य एवम् तुलसीपुर उप–महानगर कमिटी इन्चार्ज बिकाश, युवा सङ्गठन नेपालका केन्द्रीय सचिव तिलकले गरे ।

सम्बोधनका क्रममा नेताहरूले राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा पास गर्न नदिने उद्घोष गरेका थिए । नेताहरूले राष्ट्रिय स्वाधीनतामाथि आँच आउने कुनै पनि सन्धिसम्झौता नेपाली जनतालाई स्वीकार्य नहुने बताएका थिए भने भोलीको बन्द राष्ट्रिय स्वाधीनताको रक्षाका लागि उठाइएको कदम भएकाले बन्दलाई सबैले साथ सहयोग र समर्थनका लागि अपिलसमेत गरेका हुन् ।

कोणसभाको सहजीकरण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले गरेका थिए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउँ कमिटीले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास गर्ने षड्यन्त्रका विरुद्ध भोलि फागुन ४ गते घोषणा गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा मसाल जुलुससँगै कोणसभा सम्पन्न गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा राजपुरका इन्चार्ज उज्वलले वर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने प्रयास गरेर नेपालको राष्ट्रिय स्वाधीनतामाथि निर्मम प्रहार र दुस्साहस गरेकाले प्रत्येक नेपालीले यसको विरोध गनुपर्ने बताउँदै नेपालको सबिधान र आफ्ना नागरिक भन्दा एमसीसी माथि हुन नसक्ने स्पष्ट पारे । उनले एमसीसी सम्झौता नेपालको कानुन भन्दा माथि र चीनलाई घेर्ने सैन्य रणनीति भएकाले खारेजीको मागसमेत गरे । नेकपा राजपुर गाउँ कमिटीले राजपुरको भैसाहवा चोक र बेलामा गरि दुई ठाउँमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

यस्तै घोराहीमा नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा भव्य मसाल जुलुस सहित कोणसभा कार्यक्रम सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन नेपाल कम्युनिस्ट पार्टी घोराही उप–महानर इञ्चार्ज निर्मल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दिपक विष्ट, नेकपा (क्रान्तिकारी माओवादी) का प्रतिनिधि रामजी चौधरी, नेकपा माले दाङ जिल्ला सचिव नेत्रप्रसाद पाण्डेले गरेका थिए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा जिल्लाका बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दङ्गिशरण गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा पनि मसाल जुलुस प्रदर्शनसहित कोणसभा सम्पन्न भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :